कोभिडले खस्कियो स्कुले विद्यार्थीको सिकाइ, पुस्ता नै कमजोर हुने जोखिम
महामारीका कारण लामो समय भौतिक कक्षा नहुँदा प्राथमिकदेखि माध्यमिक तहसम्म पढ्ने विद्यार्थीको सिकाइ खस्किएको त छ नै एउटा पुस्ता नै कमजोर हुने डर पलाएको छ।
मदन स्मारक मावि, पाटनको विद्यार्थीविहिन सुनसान कक्षाकोठा। तस्वीरः भागिरथी पण्डित
काठमाडौं। विद्यालय पठाउन थालेको दुई महीनामै छोरा रियान्सले अक्षर चिन्न र पढ्न थालेपछि काठमाडौं सरस्वती नगरकी रेखा भण्डारी खुशी थिइन्। प्ले ग्रुपमा खेल्दै सिकाएका अक्षर छोराले चाँडै सिक्ने गरेको भन्दै शिक्षकले तारिफ गर्दा उनी फुरुङ्ग हुन्थिन्। तर अचेल रेखाको त्यो खुशी हराएको छ।
दुई वर्षदेखि रियान्स प्ले गु्रपबाट माथिल्लो कक्षामा चढ्न सकेका छैनन्। उमेर अनुसार उनलाई नर्सरीमा पढाउने बेला भइसकेको छ। तर पढेको याद नहुने भएपछि विद्यालयले उनलाई कक्षा चढाउन मानेको छैन।
‘किड्स कसमस इंग्लिस प्रि स्कुल एण्ड डे केयर’मा प्ले ग्रुपमा भर्ना हुँदा रियान्स चार वर्षका थिए। अहिले उनी ६ वर्षका भए। तर माथिल्लो कक्षामा जान सकेका छैनन्। कोभिड महामारीका कारण लामो समय विद्यालय बन्द भएपछि पढाएको बिर्सने समस्या देखिएको आमा रेखा सुनाउँछिन्।
“छोराले चित्र हेर्दै अल्फाबेट चिन्ने, लेख्ने भइसकेको थियो, तर भर्ना गरेको दुई महिनामा नै कोरोना आयो, स्कुल बन्द भयो,” उनी भन्छिन्, “सानो भएकाले अनलाइन कक्षा पनि चलेन। मैले घरमा बस्दा पढाउन खोजेँ, तर मान्दै मानेन। लामो समय नपढ्दा उसले त सबै बिर्सिन थाल्यो।”
शुरुमा छोराले नपढेको देख्दा रेखा चिन्तित भएकी थिइनन्। सोचेकी थिइन्, भौतिक कक्षा शुरु भएपछि रियान्सले पहिले झैँ पढ्न थाल्नेछन्। तर सोचेजस्तो भएन। कक्षा शुरु भएपछि रियान्सले त पढाएको पनि छिनमै बिर्सन थाले।
विद्यालयका शिक्षकले ‘छोराले वर्णमाला पढ्न लेख्नै बिर्सिसकेछ घरमा पढाउनु भएन’ भनेर रेखालाई हप्काउँछन्। तर घरमा पढाउन खोज्दा रुने, युट्युबमा अंग्रेजी र नेपाली अक्षर सिकाउने भिडिओ निकालेर दियो भने कार्टुन लगाउने गरेको रेखा सुनाउँछिन्।
“कक्षा एक/दुईका राम्रो पढ्ने विद्यार्थीले पनि अंग्रेजी र नेपाली वर्णमाला बिर्सेका थिए। नर्सरी/युकेजीका धेरैजसो विद्यार्थीलाई हात समातेर नै लेख्न सिकाउनु पर्यो।” – अप्सरा सापकोटा, शिक्षिका
“स्कुल लाग्दा नेपाली र अंग्रेजी वर्णमाला हेरेर चिन्ने, बुझ्ने भएको थियो। अहिले फेरी अक्षरहरू बीच झुक्किन थालेको छ,” रेखा भन्छिन्, “सम्पत्ति जोड्न नसके पनि छोरालाई राम्रोसँग पढाउने धोको थियो। सबै चकनाचुर हुने हो कि भन्ने डरले दिनरात सताउँछ।”
रियान्सले जस्तै मेलम्चीका १० वर्षीय युनिश दुलालमा पनि पढेको बिर्सने समस्या देखिएको छ। मेलम्चीको प्रगति इंग्लिस स्कुलको कक्षा एकमा पढ्ने युनिशको पढाइ मध्यम खालको थियो। तर कोभिडको कारण लामो समय विद्यालयबाट टाढा भएपछि उनको पढाइमा पनि असर पुगेको आमा कोपिला सुनाउँछिन्।
“लकडाउन हुने बित्तिकै मेलम्चीबाट आरुखर्क गाउँ गइयो, स्कुल नखुलेसम्म गाउँमै बसियो,” उनी भन्छिन्, “पहिले–पहिले आफैले लेखेका कुरा पढेर सुना भन्दा कनिकुस्ति पढ्छ, कति वाक्यहरू उच्चारण गर्नै जान्दैन। लामो समय नपढेर होला बच्चाले कखरा नै भन्न बिर्सेछ।”
अहिले त छोरोले पढ्न छोडेर खेल्नमा मात्रै ध्यान दिने कोपिलाको गुनासो छ। उनका अनुसार युनिश स्कुल पनि जानै मान्दैनन्।
“१० वर्षको भइसक्यो भर्खर एक कक्षामा पुग्यो, कहिले १० पास गर्ला यसले ?,” उनको दुखेसो छ, “कक्षामा सबैभन्दा ठुलो उमेरको नै मेरो छोरो हो। पछि बीचैमा पढाइ पो छाड्छ कि भन्ने पीर लाग्छ। यस्तै यस्तै कुरा सम्झिँदा मलाई त अत्यास लागेर आउँछ।”
शिक्षिका अप्सरा सापकोटाका अनुसार युनिश अचेल विद्यालय नै जान चाहँदैनन्। प्रायः गयल भइरहन्छन्। विद्यालय गएको दिन पनि मन लगाएर पढ्दैनन्। टोलाइरहन्छन्, झोक्राइरहन्छन्।
यो समस्या युनिशमा मात्र नभई अरूमा पनि देखिएको शिक्षिका सापकोटा बताउँछिन्। भन्छिन्, “कक्षा एक/दुईका राम्रो पढ्ने विद्यार्थीले पनि अंग्रेजी र नेपाली वर्णमाला बिर्सेका थिए। नर्सरी/युकेजीका धेरैजसो विद्यार्थीलाई हात समातेर नै लेख्न सिकाउनु पर्यो।”
लकडाउन थपिँदै गएपछि सिकाइलाई निरन्तरता दिन प्रगती इङलिस स्कुलले साना कक्षाका विद्यार्थीलाई होमर्वक सिट बाँड्ने र माथिल्लो कक्षाका विद्यार्थीलाई केन्द्र तोकेर पढाएको थियो। केन्द्र तोकेर पढाउँदा सबै विद्यार्थी स्कुलको सम्पर्कमा नआएको र तुलनात्मक रूपमा स्कुलको सम्पर्कबाट बाहिर रहेकाले विद्यार्थीको पढाइमा असर पुगेको उनी बताउँछिन्।
विद्यार्थी पर्खिरहेको दरबार हाइस्कुल काठमाडौंको प्ले ग्रुप कक्षाकोठा।
काठमाडौं बुढानीलकण्ठ डाँडागाउँस्थित श्री बालविकास समाज आधारभुत विद्यालयमा पढाउने शिक्षिका उमा लामाको पनि उस्तै अनुभव छ। महामारीको समयमा परिवारसँग इन्टरनेटको अधिकांश विद्यार्थी अनलाइन माध्यमबाट पढ्न नसकेको उनले बताइन्। उनीहरू विद्यालय खुलेपछि मात्रै कक्षामा उपस्थित भएको र महिनौंपछि आएकाले अक्षर नै नचिनेको उनले सुनाइन्। केही महिना पढाएपछि उनीहरूलाई कक्षा चढाइएको उनले बताइन्।
“हामीले बच्चालाई दोहोर्याएर पढायौँ, पढ्दै गएपछि विद्यार्थीले पढाएको कुरा सम्झिन थाले। दुई, तीन महिना पढाएर बच्चालाई माथिल्लो कक्षामा पढाइयो,” लामाले भनिन्, “सबै पढाएर बुझाएर माथि कक्षामा चढाएको भए पो राम्रो हुन्थ्यो, बच्चाले केही बुझेको छैन। माथिल्लो कक्षाको बेस (आधार) नै तल्लो कक्षा हो, तर बेस नै राम्रो नभएपछि माथि के राम्रो होला र ? यसरी चढाइएका विद्यार्थीको सिकाइ कस्तो होला, अनुमान गर्नुस् त !”
५० वर्षीय नारायण (नाम परिवर्तन) बुढानिलकण्ठको एक सरकारी विद्यालयमा नेपाली विषय पढाउँछन्। कोभिड–१९ को कारण उनले पढाउने विद्यालय पनि प्रभावित हुन पुग्यो। लामो समय पढाइ अवरुद्ध भयो। मध्यम र निम्न आय भएका परिवारका छोराछोरी उनका विद्यार्थी हुन्। सरकारले वैकल्पिक शिक्षण विधिका रूपमा शुरु गरेको अनलाइन माध्यममा उनका थुप्रै विद्यार्थी समेटिन सकेनन्। जसकारण लामो समय उनका विद्यार्थी विद्यालय र शिक्षाको पहुँचबाट बाहिर रहे।
नजिकका विद्यार्थीलाई विद्यालयमै ल्याउने प्रयास गर्दा पनि सयमा पाँच/छ जनामात्रै उपस्थितत भएको उनले जानकारी दिए। झण्डै नौ महिनापछि विद्यालय खुले पनि कक्षामा उपस्थित विद्यार्थीको स्तर नै खस्किएको उनले सुनाए।
“कतिले त अक्षर नै चिन्न छाडे। कक्षा पाँच भन्दा तल्लो कक्षाका धेरै विद्यार्थीले पढाएको बिर्सिरहेका थिए,” उनी भन्छन्, “विद्यालय फर्किएका कक्षा पाँच भन्दा माथिकाको पनि अवस्था असामान्य थियो। पढाइमा ध्यान नदिने, बिर्सिने लगायत थुप्रै समस्या देखियो।”
कोभिड पछि विद्यालय खुलेपछि त्यस्ता विद्यार्थीलाई पढाएर फेरि पुरानै अवस्थामा ल्याउने प्रयास गरिरहेका थिए। तर कोभिडको पछिल्लो लहरले फेरि विद्यालय बन्द गरिदिएपछि उनी फेरि चिन्तित बनेका छन्।
खस्किँदो सिकाइ
काठमाडौंको कपनस्थित भृकुटी चोकका १६ वर्षीय दिवस बञ्जराको असारमा कक्षा आठको वार्षिक परीक्षाको रिजल्ट आयो। दुई वर्षअघिसम्म रिजल्ट आउने दिन उनी फुरुङ पर्थे। रिजल्ट लिन खुशी हुँदै विद्यालय जान्थे। हत्त न पत्त रिजल्ट ल्याएर आमा देवकीलाई देखाउँदै नानाथरी पुरस्कार माग्थे। प्रायः उनी ‘ए प्लस’ ल्याउने गर्थे। तर अचेल उनको रिजल्ट खस्किएर ‘बी प्लस’ आउन थालेको छ।
पुष्पलाल मेमोरियल उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत दिवसलाई अचेल पढ्नै मन लाग्दैन रे। दिवस भन्छन्, “पढे पो राम्रो मार्क्स आउँछ, अनलाइनमा पढ्न मनै लाग्दैन। कक्षामा जोडिएर गेम खेलेर बस्छु। नपढेसी परीक्षामा लेख्नै आएन। त्यहिभएर रिजल्टमा कम मार्क्स आयो।”
उनका अरू साथी पनि अनलाइन कक्षामा जोडिएर गेम खेलेर बस्ने गरेको उनी सुनाउँछन्। “मेरो मात्रै होइन, साथीको पनि कम मार्क्स आएको छ”, उनले भने।
दिवसको पढाइ देखेर आमा देवकी बञ्जरा पनि दुखी छन्।
“भौतिक कक्षा हुँदा पढ्नुपर्छ भन्ने मानसिकता हुन्थ्यो। विद्यार्थीमा अनुशासन हुन्थ्यो, तर अहिले विद्यार्थीको त्यो व्यवहारमा परिवर्तन भएको छ।” – सरोज दुलाल, शिक्षक
“अनलाइन गेम खेलेर पढाई ध्वस्त भएको भन्दै गाली गर्छु भनेकी थिएँ तर कोठामा झोंक्राएर बसको देखेर केही भन्न सकिनँ”, उनले भनिन्, “कम मार्क्स आए पनि छोरो कक्षा आठबाट नौमा पुग्यो भनेर चित्त बुझाएर बसेँ।”
बालाजुका जीवन (नाम परिवर्तन) पनि १५ वर्षीय छोराको पढाइ पनि खस्किएको सुनाउँछन्। उनका छोरा कबिर (नाम परिवर्तन) स्वयम्भुको एक निजी विद्यालयमा कक्षा १० मा पढ्छन्।
कोभिड–१९ को कारण भएको लकडाउनको एक महिनापछि कबिरको विद्यालयले अनलाइनमार्फत पढाउन थालेको थियो। त्यसैले पढाइ छुटेन तैपनि पढाइ खस्किएको नारायण बताउँछन्।
“कक्षामा उसको र्याङ्क हेर्दा खासै परिवर्तन भएको पाइँदैन, पहिले पनि कक्षामा टप टेन भित्रै पथ्र्यो, अहिले पनि टप टेनमै छ तर उसले पाउने ग्रेड हेर्दा साह्रै खस्किएको छ,” नारायण भन्छन्, “कोभिड अगाडि उसले ‘ए प्लस’ ग्रेड ल्याउँथ्यो, अहिले ‘बी ग्रेड’ पनि मुश्किलले आउन थालेको छ।”
कबिर मात्रै होइन उनको कक्षामा पढ्ने हरेक विद्यार्थीको अवस्था उस्तै रहेको नारायण बताउँछन्। भन्छन्, “अहिले बी प्लस माथि ग्रेड आउने विद्यार्थी नै छैन त्यो विद्यालयमा। अभिभावकको मिटिङमा शिक्षकले पनि गुनासो गर्छन्।”
कबिरले अनलाइन कक्षाको शुरुवाती दिनमा ध्यान दिएर पढे पनि पछि खेलमा ध्यान दिन थालेको नारायणको गुनासो छ।
“अनलाइनमा सरले पढाइ रहेका हुन्थे, यता छोराले कक्षालाई म्युट गरेर पछि फ्रि फायर लगायत अरू के के गेम खेलिरहेको हुन्थ्यो”, नारायण सुनाउँछन, “न खेल न छोरा भन्दा रिसाउँछ, झर्किन्छ। विद्यालय खोलेर पढाए मात्रै यो समस्या समाधान होला, नत्र त अनलाइन पढाउन्जेलसम्म यो समस्याको समाधान होलाजस्तो लाग्दैन।”
“दोस्रो र तेस्रो लहरमा पनि उही समस्या दोहोरिनु बदमासी हो। त्यो भनेको जानीजानी एउटा पुस्तालाई फेल गराएको हो।” -प्रा.डा. विद्यानाथ कोइराला, शिक्षाविद्
सिन्धुपाल्चोकको पाल्चोकस्थित जय बागेश्वरी माविका शिक्षक शिव खड्काका अनुसार कोभिडपछि स्कुल खोल्दा विद्यार्थीले पहिला पढेका पाठ नै बिर्सेको थिए।
उनी सुनाउँछन्, “ठुला कक्षाका विद्यार्थीलाई पहिला पढाएको पाठबारे सोध्दा विद्यार्थीहरू अकमक्क परे।”
अहिले विद्यार्थीलाई लेख्न धेरै समय लाग्ने, नबुझिने शब्द लेख्ने, के लेखेको भन्दा उत्तर नदिने, पहिला पढाएको पाठमा के थियो भनेर सोध्दा आनाकानी गर्ने गरेको उनले बताए।
कोभिडको पहिलो लहरका कारण लकडाउन भएपछि उनको विद्यालयले विद्यार्थीको कोर्स नै सकाउन पाएको थिएन। सरकारले भने बमोजिम कोर्स छोट्याएर पढाइएको थियो। एउटा शैक्षिक सत्रमा तीनओटा परीक्षा लिनुपर्नेमा वार्षिक परीक्षामात्रै लिएर कक्षा चढाइएको थियो।
“यसले गर्दा विद्यार्थीमा नपढे पनि पास भइन्छ भन्ने धारणा विकसित भएको छ”, शिक्षक खड्काको टिप्पणी छ।
कक्षा नौ र १० का विद्यार्थीको सिकाइ निरन्तर गर्न अनलाइन कक्षा सुचारु राखे पनि विद्यार्थीको सहभागीता घटेकाले कोर्स नै अगाडि बढान नसकेको गुनासो उनको छ। भन्छन्, “कक्षा १० मा ३३ जना विद्यार्थीमध्ये १० जना पनि मुस्किलले सहभागी हुन्छन्। त्यसैले कोर्ष अघि बढाएका छैनौँ।”
पहिलो लकडाउनको समयमा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको टेलिभिजनमार्फत कक्षा लिँदै एक विद्यार्थी। तस्वीरः गोपेन राई
भक्तपुरको यालाछेँस्थित शारदा माविका शिक्षक सरोज दुलालको पनि भौतिक कक्षा नहुँदा विद्यार्थीमा पढ्ने रुची नै कम भएको अनुभव छ। कोभिड महामारी शुरु भएपछि शारदा माविले अनलाइन कक्षा शुरु गरेको थियो। तर भौतिक कक्षामा जस्तो उपलब्धी नभएको उनी बताउँछन्।
“भौतिक कक्षा हुँदा पढ्नुपर्छ भन्ने मानसिकता हुन्थ्यो। विद्यार्थीमा अनुशासन हुन्थ्यो, तर अहिले विद्यार्थीको त्यो व्यवहारमा परिवर्तन भएको छ,” उनी भन्छन्, “पढ्नुपर्ने मानसिकता नै बच्चाहरूमा कम भइरहेको छ। त्यसै पास भइन्छ भन्ने मानसिकता विकसित भइरहेको छ।”
नियमित पढ्ने र मेहनत गर्ने विद्यार्थीमध्ये कतिपयले पढाइ नै छाडेको र फेल हुनेको संख्या बढिरहेको उनी बताउँछन्। भन्छन्, “कक्षाको समयमा विद्यार्थीहरू युट्युवमा भिडिओ हेर्दै बस्न थालेको गुनासो परिवारले गर्छन्। विद्यालयमै बोलाएर पढाएका विद्यार्थी पनि के गरिरहेका छन् भनेर हेर्न जाँदा युट्युब खोलेर बस्ने, गेम खेलिरहेका भेट्यौँ। पढाइप्रति विद्यार्थी एकाग्र भइरहेका छैनन्। जसले विद्यार्थीको सिकाइलाई असर गरिरहेको छ।”
अनलाइन माध्यमबाट पढाउने विधीको पनि विकल्प खोज्नुपर्ने अवस्था आएको उनको ठम्याई छ।
“भौतिक कक्षाको सट्टा वैकल्पिक भनेर अनलाइन पढाइ शुरु गर्यौँ, तर यसले समस्या थपिएको छ, अब समस्या पहिचान गरेर कसरी समाधान गर्ने भन्नेमा सोच्नुपर्छ”, दुवालको टिप्पणी छ।
पुस्ता नै असफल हुने डर
सिकाइ र पढाईप्रतिको अभिरुची खस्किँदा एउटा पुस्ता नै असफल हुने डर रहेको शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको टिप्पणी छ। शिक्षाको स्तर जानाजान खस्काएको उनको आरोप छ।
“वैकल्पिक माध्यमको पहुँचमा विद्यार्थी छैनन् भनेर पुग्दैन, त्यसको विकल्प खोज्नुपर्छ।” -केदारभक्त माथेमा
“पहिलोपटक कोभिड हुँदा हामीलाई थाहा थिएन। एक हप्ता, १५ दिनसम्म अन्यौल हुँदा कसैलाई दोष दिने ठाउँ थिएन तर हामीले कोभिडको पहिलो लहरमा नै सबै सिकिसकेका थियौं”, प्रा.डा. कोइरालाको टिप्पणी छ, “दोस्रो र तेस्रो लहरमा पनि उही समस्या दोहोरिनु बदमासी हो। त्यो भनेको जानीजानी एउटा पुस्तालाई फेल गराएको हो।”
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा भने वैकल्पिक माध्यमलाई कसरी प्रभावकारी बनाउन् भन्नेबारे सरोकारवाला निकायको ध्यान नजाँदा यो समस्या आएको आरोप लगाउँछन्।
“वैकल्पिक माध्यमको पहुँचमा विद्यार्थी छैनन् भनेर पुग्दैन, त्यसको विकल्प खोज्नुपर्छ”, माथेमा भन्छन्, “स्कुलमा मात्र पढ्ने र पढाउने विचार थोत्रो भइसकेको छ। अब पढ्ने, पढाउने काम जहाँ पनि हुनसक्छ। त्यो शिक्षाबारे चिन्तन र अभ्यास गर्ने व्यक्तिको खाँचो छ।”
प्रा. डा. कोइराला पनि शिक्षकले अभिभावकलाई र अभिभावकले शिक्षालाई दोष दिने भन्दा पनि समाधानको बाटो खोज्नुपर्नेमा जोड दिन्छन्। राजनीतिक नेताहरूले जानाजान शिक्षाको स्तरमा ध्यान नदिएको उनको आरोप छ।
“शिक्षामा सुधार आए विद्यार्थीको घरबार बन्छ, देश विदेश जान्छन्, बुझ्न आफ्नो पक्षमा ल्याउन सकिँदैन भनेर पनि कसैले चासो देखाएको छैनन्”, प्रा.डा. कोइराला भन्छन्।
Facebook Comment
Comment