जनकपुरधाम। संसारकै लामो धार्मिक पदयात्राको रूपमा चिनिएको मिथिलाञ्चल क्षेत्रको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ।
मिथिला नगरी जनकपुरधामको सेरोफेरोमा दुई साता लगाएर घुमिने माध्यमिकी परिक्रमाका सहभागीहरू धर्मयात्रीहरू आज बिहानैदेखि अन्तरगृह परिक्रममा गरी घर फर्किएका हुन्।
धनुषाको कचुरीस्थित मिथिला विहारी मठबाट बाजा–गाजासाथ निस्केको धार्मिक यात्राका सहभागीहरू १ सय ३३ किलोमिटरको पैदल यात्रा तय गरेर शुक्रबार बिहान जनकपुरधाम नगरको अन्तरगृह परिक्रमा गरी यस धार्मिक यात्राको समापन गरेका छन्।
परिक्रमा यात्रीहरू नेपालमा १ सय ५ तथा भारतका २८ गरी कुल १ सय ३३ किलोमीटरको पैदल यात्राको दूरी तय गरेका छन्।प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना गरिएका चार शिवालय कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर महादेवलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ।
कचुरीबाट शुरु भएको यो यात्रा जनकपुर, कलानेश्वर, फुलहर, मठिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल, कलना हुँदै पुनः जनकपुरधाम फर्किने गर्छन्। जनकपुर क्षेत्रमा परिक्रमा यात्रीहरूले अन्तर गृह परिक्रमा सम्पन्न गरेको भोली पल्ट फागु पर्व मनाउने परम्परा रहेको छ। सोहि अनुसार तराईका प्रायजसो जिल्ला आज होली मनाइने भएपनि जनकपुर क्षेत्र भोली होली मनाइने भएको छ।
यसरी तराई मधेसमा तीन दिन होली हुने गर्दछ। तिथि र परिक्रमाका कारण जनकपुर क्षेत्रमा लगातार तीन दिन होली पर्व हुने गर्दछ। मधेशका पर्वते समुदायले बिहीबार पूर्णिमाका दिन ‘होली’ मनाएका छन् भने मधेश प्रदेशका मूल मधेशीले पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन् र मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने परम्परा भएको हुँदा शनिबार होली मनाउने तयारीमा छ।
छोड्दो पूर्णिमा तिथिमा पर्वते समुदायले र मधेशी समुदायले उदाउँदो पूर्णिमा अर्थात् चैत कृष्ण प्रतिपदाका तिथिमा होली मनाउने परम्परा भए पनि जनकपुर क्षेत्रमा अन्तर गृह परिक्रमाको भोलिपल्ट पर्व मनाइने गरिन्छ। यसअनुसार जनकपुरमा भोली शनिबार पनि होली खेलिने भएको छ।

Facebook Comment
Comment