चितवनको धानमा रोग,  लगानी पनि नउठ्ने चिन्तामा किसान

जिल्लामा कतिपय स्थानमा धानमा दाना नलाग्ने समस्यासमेत देखिएको छ ।

नेपालभ्युज

चितवनको धानमा रोग,  लगानी पनि नउठ्ने चिन्तामा किसान
फाइल तश्वीर

चितवन। धानमा विभिन्न किसिमको रोग देखिए पछि चितवनका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञानकेन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरकी रोसनी ढकाल  धानमा लागेको रोगको बारेमा जानकारी लिन ज्ञानकेन्द्रमा नमुना लिएर पुगेकी थिइन् ।

समयमा युरिया र पोटास मलको कमी भएका कारण उनको धानमा पहेंले रोग लागेको देखियो । उनले भनिन्, “औषधि गर्दागर्दै धान मर्ने हो की भन्ने चिन्ता छ ?” समयमा मल नपाउँदा धानमा समस्या देखिएको भन्दै ढकालले भनिन,  “धान लगाउँदा रु २० हजार खर्च आयो । अब रोगले गर्दा लगानी बराबरको धान उत्पादन हुन्छ की हुँदैन भन्नेमा शङ्का छ ।”

भरतपुर महानगरपालिका–१४ शिवनगरका किसान दिलबहादुर थापाले एक बिघामा लगाएको धान एक रातमा किराले सखाप पारेको बताए । बिहान उठ्दा धान किराले काटिसकेको उनले गुनासो गरे । धान पसाउने समयमा विभिन्न किराका कारण समस्या देखिएको भन्दै उहाँले भने, “समस्या समाधान हुनु पर्‍यो । नत्र हामी किसान मर्कामा पर्छौं ।”

किसानको बारीमा अहिलेको धानमा शित व्लाइट (पातको फेद डडुवा), नेक व्लाष्ट (घाँटी मरुवा), ह्वाइट फ्लाइ(सेतो झिङ्गा), युरिया र पोटासको कमीका कारण पहेँलो हुने समस्या र धानमा दाना नलाग्ने समस्या देखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । ज्ञान केन्द्रकी अधिकृत सुरुची त्रिपाठीका अनुसार अहिले ज्ञान केन्द्रमा दैनिक १० हाराहारी किसान समस्या लिएर आउने गरेका छन् । उनका अनुसार जिल्लाका सातै पालिकामा यो समस्या देखिएको छ ।

धानखेती गरिएको २२ हजार नौ सय ७७ हेक्टर क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा रोगको समस्या देखिएको केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनमगरले जानकारी दिए । मगरका अनुसार धेरैजस्तो स्थानमा पोटास मलको कमीका कारण समस्या आएको छ ।

शित व्लाष्ट रोग मौसमका कारण जमिनमा हावा खेल्न नपाउँदा ढुसी लागेर हुने गर्दछ । नेक व्लाष्ट रोग मौसम अनुकूल भएर बीउमा हुने रोगको सङ्क्रमण भएको उनले बताए । सेतो झिङ्गा जिल्लामा बढी सङ्ख्यामा सावित्री धानमा देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो समस्या कृषकको धानमा विगत एक महिनादेखि देखिन थालेको हो । जिल्लामा कतिपय स्थानमा धानमा दाना नलाग्ने समस्यासमेत देखिएको छ । के कारणले दाना नलागेको भन्ने विषयमा अध्ययन सुरु गरिएको कार्यालयले जनाएको छ । प्राविधिकको सल्लाहबमोजिम औषधिको प्रयोग गर्न कार्यालयले सुझाव दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved