काठमाडौं। कांग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले देशमा उत्पादनमूलक उद्योग खोल्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका हुन् ।
उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे। उनले निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने बताए । नेता पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रूपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्ने बताए । मत प्राप्त गरे पनि अब आम नागरिकको मन जित्न जरुरी रहेको पौडेलको भनाइ छ ।
‘हामीले जित्यौँ, दिग्विजय भयो भन्ने होइन, हामीलाई एउटा अवसर प्राप्त भएको छ । हामीले ५ वर्ष भित्र पूरा गरेर देखाउनेछौँ । यो असाध्यै चुनोतीपूर्ण छ । हामीले मत प्राप्त गर्यौं अब मन जित्न जरुरी छ । जिताइयो अब यसले मात्रै सबैथोक गर्छ भनेर नछोडिदिनुहोला तपाईहरूको नै साथ चाहिन्छ । हामीले भनेका कुरा पूरा गर्न जरुरी छ । हाम्रा प्रतिबद्धतामा हामी अडिग छौँ । राजनीतिक बेथितिको अन्त्य गर्नेछौँ । स्थानीय समस्या समाधान गर्नेछौँ । कुरा भन्दा पनि हामीले गरेका कुरा पूरा गर्नेकुरामा हामी लाग्नेछौँ । उत्पादनमुलक उद्योगहरू खोल्न जरुरी छ । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी छ । आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी छ । त्यसोभए रोजगारीको अवसर सिर्जना हुनसक्छ,’ उनले भने ।
नेता पौडेलले अबको ५ वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाता पूरा गर्ने प्रतिबद्धता जनाए ।
Facebook Comment
Comment