धनगढी। पश्चिम तराईका जिल्लामा बाहुल्यता रहेको आदिवासी जनजाती थारू समुदायमा माघीको चहलपहल सुरु हुन थालेको छ । माघी पर्व आउन एक दिन मात्रै बाँकी रहँदा थारू गाउँमा माघीको चहलपहल बढ्न थालेको हो । थारू समुदायको सबैभन्दा ठूलो पर्व ‘माघ’, अर्थात् माघी भोलिदेखि सुरु हुन्छ ।
मान्छेहरू पर्वको लागि कुटानी, पिसानीका साथै आवश्यक सामान जोहो गर्नमा व्यस्त भएका छन् । दाउरा सङ्कलनदेखि लिएर मेलापात गर्ने काम पनि भइरहेका छन् । विस्तारै माघीको चहलपहल हुन थालेको छ । माघीमा नभई नहुने ‘ढिक्री’ चामलको पिठोबाट बनाइने गरिन्छ । त्यसैले, पर्व आउनुभन्दा एक-डेढ हप्ता अगाडिदेखि नै कुटानी पिसानीको काम हुने गरेको सो समुदायका व्यक्ति बताउँछन् ।

धनगढी उपमहानगरपालिका–५ हसनपुरका सुनिता चौधरीले भनिन् । ‘मैले आफू तरकारी बिक्री गरेर माघीको लागि अरुकोबाट तरुल र सखरखण्डको समेत जोहो गरिसकेँ । ’आफूले धनगढी हाट बजारमा तरकारी बिक्री गरेर माघीको लागि आवश्यक सामान खरिद गरिरहेको उनको भनाइ छ । ‘वर्षदिनपछि फर्केर आएको ठूलो पर्व धूमधामसँग मनाउनका लागि तयारी भइरहेको छ’, चौधरीले भनिन् । माघी थारू समुदायको सबैभन्दा ठूलो पर्व मात्रै होइन, नयाँ वर्ष पनि हो ।
माघिको केही दिन मात्रै रहदाँ कैलाली सहितका अन्य जिल्लाका थारू समुदाय यतिबेला तयारीमा व्यस्त देखिन्छन् । थारू समुदायका घर–घरमा कोही पनि यति बेला फुर्सदिला छैनन् । पुसको अन्तिम दिनबाट सुरु हुने माघीको तयारीमा उनीहरू व्यस्त देखिन्छन् । कैलालीको धनगढी उपमहानगरपालिका १७ की सोमती चौधरी पनि चामल कुटानी, पिसानीको काम सकेर बाँकी चामल फट्किँदै छन् । ‘माघीमा धेरै परिकार बनाउछौं तयारी पनि बढी गर्नुपर्छ उनले भनिन्, अब तयारी पनि गरेर सकिनै लाग्यो ।,’

अहिले जङ्गलबाट सालको पात टिपेर ल्याउने, दुनाटपरी बनाउने, कुटानी, पिसानी गर्नेलगायतका कार्यमा सबै व्यस्त छन् । माघी तीन दिनसम्म माघी पर्व मनाउने गरिन्छ । माघीमा विशेष गरेर सबैको घरमा चामलबाट बनाइएको ढिक्री र बंगुरको मासु खाने गरिन्छ । त्यति मात्रै नभएर यस दिन सबैको घर–घरमा ढिक्री, बंगुरको मासु, विभिन्न परिकारका तरकारी, चामलबाट बनाइने विभिन्न परिकारका रोटीलगायत विभिन्न खानेुकुरा पाक्ने गर्दछ ।
माघी थारू समुदायको नयाँ वर्ष पनि हो । थारू समुदायको नयाँ सम्वत् माघ १ गतेबाट सुरु हुने गर्दछ । माघ महिना मानै थारू गाउँको नेतृत्व गर्नका लागि भलमन्सा चयन गर्ने गरिन्छ । कतिपय ठाउँमा माघीमा नाचगान पनि हुने गर्छ ।

माघ १ गते बिहानै नदी, दह, तलाउमा नुहाइधुवाइ र पूजापाठ गरेर ठूलाबडा, घरको पुर्खाबाट आशीर्वाद लिने चलन रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का पूर्व वडाअध्यक्ष लक्ष्मी चौधरी बताए । ‘यो पर्वमा एक अर्कामा खुसी साट्दै नाचगान र मेलाको आयोजना गरी मनाइने गरिन्छ, उनले भने माघी पर्व मनाउनका घर बाहिर रहेकाहरू पनि घर फर्कने गर्छन् ।,’ खानेकुराको परिकारहरू बनाएर आफन्तहरूलाई बोलाउने खाने चलन छ ।

माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा
कैलालीका १३ वटा स्थानीय तहमध्ये थारू समुदायको बहुल्यता भएका स्थानीय तहले ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेका छन् । कैलालीको भजनी, जानकी र कैलाली गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका रूपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गाउँपालिकाले जनाएको छ ।

थारू समुदायको बाहुल्यता भएको र उनीहरूले यही पर्वलाई नयाँ वर्षको रूपमा मनाउने हुँदा शुक्रबार पुस ३० गते, शनिबार माघ १ र २ गते आइतबार बिदा दिने निर्णय गरिएको गाउँपालिकाका सूचना अधिकारी यगम कलले बताए ।
‘यो गाउँपालिकामा थारू बाहुल्यता रहेको छ,’ उनले भने, ‘थारू समुदायले माघीसँगै १ माघदेखि नयाँ वर्षका रुपमा मनाउने हुँदा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।’ उनका अनुसार ३० पुस देखि २ माघसम्म सार्वजनिक बिदा दिइएको छ । कैलारी गाउँपालिकाले गत वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिएको थियो ।

Facebook Comment
Comment