माओवादीले नै किन गुमायो ‘माओवाद’ प्रतिको आत्मविश्वास ?

नाममा कम्युनिष्ट राखेर त्यो शिद्धान्तसँग नजिक रहेकालाई जोडिरहने तथा ‘माओवाद’ र चुनाव चिन्ह हटाएर शास्त्रीय कम्युनिष्ट नभएको सन्देश पनि दिने पार्टीको रणनीति देखिन्छ ।

माओवादीले नै किन गुमायो ‘माओवाद’ प्रतिको आत्मविश्वास ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले पार्टीको नाम र सिद्धान्तबाट ‘माओवाद’ हटाउने निर्णय गरेको छ । हालै सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय लिएको र केन्द्रीय कमिटी बैठकबाट यसलाई अन्तिम रुप दिने सम्भावना छ ।

स्थायी कमिटी बैठकको प्रस्तावमा भनिएको छ–‘पार्टीको आन्तरिक जीवन र राजनीतिक क्षेत्रमा उत्पन्न समस्या, चुनौतीको सामना र अवसरको उपयोग गर्ने एउटा अवसर फेरि आएको छ। हामीले पार्टीको समग्र वैचारिक, राजनीतिक तथा सांस्कृतिक पक्षमा थप अभिरुचिका साथ काम गर्नु छ । संरचनागत, विधि र पद्धति, नाम र चिन्हलगायतका बिषयमा आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भूराजनीतिक व्यवस्था एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टीको निर्माणमा लाग्नु पर्दछ ।’

प्रस्तावको यो खण्डबाट प्रष्ट हुन्छ कि माओवादी केन्द्रले आफ्नो नाम फेर्दै छ । तर कोष्ठकभित्र भएको ‘माओवाद’ मात्र, मूल नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ भने कायमै रहनेछ ।

नाम फेर्नु पर्ने तीन कारणः

स्थायी कमिटी बैठकको यो प्रस्तावमै पार्टीको नाम फेर्न पर्ने तीन वटा कारण उल्लेख भएका छन् ।

एक– आजको जनमनोविज्ञानलाई सम्बोधन गर्न : अर्थात् माओवादी यो निष्कर्षमा पुगेको देखिन्छ कि अबको युगमा जनताले ‘माओवाद’ मन पराउँदैनन् । मूलतः समाजको तीन वटा तप्काले ‘माओवाद’ मन नपराएको निष्कर्ष प्रतिवेदनमा घुमाउरो गरी राखिएको छ । ती हुन– युवा, शहरिया र मध्यम वर्गीय बौद्धिक मतदाता ।

प्रस्तावमा भनिएको छ– पार्टीले ‘शहरिया मध्यम वर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको कुरा पुृष्टि भएको छ ।’

दुई– भूराजनीतिक व्यवस्थालाई सम्वोधन गर्न । यसको प्रष्ट ब्याख्या छैन । तथापि बुझ्न् सकिने कुरा के हो भने समकालिन विश्व परिस्थितिमा ‘माओवाद’ स्वीकार्य हुँदैन भन्ने कुरा पार्टीले गहिरो गरी अनुभूति गरेको हुनु पर्दछ ।

उत्तरी छिमेकी देश चीनमा अहिले पनि माओ विचारधारामा आधारित एकदलीय कम्युनिष्ट व्यवस्था कायमै छ । यद्यपी चीन अहिले माओको नीतिमा चलेको छैन, तर माओले सन् १९५९ मा स्थापित गरेको क्रान्ति र सत्ताको निरन्तरता भने छ । चीनले माओवाद मन नपराउने कुरा हुँदैन ।

त्यसो भए प्रस्तावको यो वाक्य दक्षिण छिमेकी देश भारत र अमेरिका लगायतका पश्चिमा देशको बुझाईमा लक्षित छ भन्न सकिन्छ । पार्टीको नाम र सिद्धान्तमा ‘माओवाद’ भएको कारणले भारत र पश्चिमा देशसँगको सम्बन्ध सहज बनाउन अप्ठ्यारो परेको हुनु पर्दछ ।

तेस्रो– राजनीतिक प्रतिस्पर्धालाई समेत ध्यान दिने कुरा गरिएको छ । यसको अर्थ– कांग्रेस र एमालेसँगको वैचारिक प्रतिस्पर्धामा ‘माओवाद’ असहज र प्रतिरक्षात्मक भएको निष्कर्षमा पार्टी पुगेको हुनु पर्दछ । माओवादीका प्रतिस्पर्धी यी दुवै दलले आफूलाई ‘माओवाद’ विरोधी मान्दछन् ।

‘माओवाद’ भन्ने वित्तिकै चीन, उत्तरकोरिया वा क्युवाको जस्तो एकदलीय शासन प्रणालीको झल्को आउँने हुँदा लोकतान्त्रिक प्रतिस्पर्धामा खरो उत्रिन कठिन हुने बुझाई बनेको हुनु पर्दछ ।

चुनावचिन्हप्रतिको अविश्वास किन ?

नाम र सिद्धान्तबाट ‘माओवाद’ हटाउन चाहेको कारण बुझिने कुरा हो तर एउटा कम्युनिष्ट पार्टीले आफ्नो वैचारिक विरासत र मौलिकतासँग जोडिएको चुनावचिन्ह ‘हसियाँहथौडा’ नै किन हटाउन चाहेको होला ? यसबाट प्रष्ट हुन्छ कि स्वयं ‘कम्युनिष्ट’ कै भविष्यप्रति पार्टीमा आशंका उत्पन्न भएको हुनु पर्दछ ।

कुनै समय थियो–‘हँसिया हथौडा’ चुनाव चिन्ह प्राप्त गर्नका लागि कम्युनिष्ट समूहबीच उछिनपाछिन हुन्थ्यो । त्यो दौड २०४८ सालको चुनावमा तत्कालिन संयुक्त जनमोर्चाले जितेर यो चुनाव चिन्ह माओवादीले कायमै राख्दै आएको थियो । पहिलोपटक यो चिन्हबाट ९ जना सांसद बनेका थिए ।

हँसिया हथौडा कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय चिन्ह हो । संसारभरिकै कम्युनिष्ट पार्टीको झण्डामा प्राय: हसियाहथौडा हुन्छ । पार्टी झण्डा र चुनाव चिन्ह एउटै भए प्रचार गर्न झनै सजिलो हुन्छ । एमालेको चुनाव चिन्ह ‘सूर्य’ भए पनि झण्डामा हँसिया हथौडा नै छ । तर पार्टी ‘हँसिया हथौडा’ चुनावचिन्हबाट समेत पछि हड्ने अवस्थामा पुगेको छ ।

‘कम्युनिष्ट’ नछोड्नुको कारणः

यदि हँसिया हथौडा समेत हटाउने हो भने मार्गदर्शक सिद्धान्तमा मार्क्सवाद –लेनिनवाद किन कायम राख्ने र पार्टीको नाममा चाहिँ कम्युनिष्ट नै किन राख्ने ? भन्ने प्रश्न अवश्य उठ्छ । यसलाई भने स्थायी कमिटी बैठकले रणनीतिक अर्थमा लिएको बुझिएको छ ।

यसबारे एक माओवादी नेता भन्छन–‘खासमा पार्टीको नामबाट कम्युनिष्ट शब्द नै हटाएर समाजवादी पार्टी बनाउनु पर्छ भन्ने बहस पनि थियो तर, त्यसो गर्दा एमालेलगायत अरु आफूलाई कम्युनिष्ट नै भनिरहेका समूहतर्फ जनमत जान सक्ने देखियो । अरुले पनि कम्युनिष्ट छोड्यो भनेर हल्ला गर्ने भए । एमालेले चुनावचिन्ह सूर्य राखेर लोकतान्त्रिक कम्युनिष्ट पार्टीको छवि बनायो । हामीले पनि त्यही बाटो रोज्ने हो अब । पार्टीको नाममा कम्युनिष्ट नै राख्ने तर चुनाव चिन्ह हँसिया हथौडाको साटो सबै खाले मतदातालाई सहज हुने अर्को कुनै रोज्ने, जसले लोकतान्त्रिक कम्युनिष्ट पार्टीको छवि र सन्देश दिओस ।’

डा.भट्टराईको दबाबः

माओवादी केन्द्र पार्टीको नाम र चुनावचिन्ह नै फेर्ने निष्कर्षमा पुग्नुमा डा. बाबुराम भट्टराईको समूहसँग एकता गर्नु पर्ने बाध्यतासमेत रहेको बताइन्छ । डा. बाबुराम भट्टराईको नेतृत्वमा नेपाल समाजवादी पार्टी नामको भिन्नै दल अहिले पनि छँदैछ । माओवादी र त्यस पार्टीबीच निकट भबिष्यमा एकता गर्ने योजना छ । यो एकतालाई सहज बनाउन समेत माओवादीले पार्टीको नाम, सिद्धान्त र चुनावचिन्ह फेर्न लागको हो ।

त्यसो त डा. भट्टराईले पार्टीको नामबाट ‘कम्युनिष्ट’ शब्द नै हटाउनु पर्नेमा जोड दिएका थिए तर, त्यसो गर्दा ‘कम्युनिष्ट’ भइरहन चाहनेहरु विशेषतः पूर्व एकता केन्द्र समूह निस्किएर एमालेमा जाने जोखिम देखिएपछि अहिलेलाई ‘कम्युनिष्ट’ शब्द नहटाउने निष्कर्षमा पुगेको बताइन्छ ।

के थियो माओवाद ?

माओवाद चिनियाँ कम्युनिष्ट नेता माओ च तुङका विचार संश्लेषण गरेर बनाएको एक सिद्धान्त हो । माओका योगदानलाई ‘माओवाद’ भन्ने कि ‘माओविचारधारा’ मात्र मान्ने भन्ने विचार सन् १९७० को दशकमा विश्वभरिका कम्युनिष्ट पार्टीमा चलेको थियो । स्वयं चिनियाँ कम्युनिष्ट पार्टीले ‘माओवाद’ नभनेर ‘माओविचारधारा’ मात्र मानेको थियो ।

पेरुको कम्युनिष्ट पार्टी (साइनिङपाथ) र यसका नेता गोञ्जालो ‘माओवाद’ शब्द प्रयोग गर्ने पहिलो पार्टी र नेता थिए । उनले मार्क्सवाद –लेनिनवाद–माओवादलाई मार्गदर्शक सिद्धान्त मान्दै त्यसपछि ‘गोन्जालो विचारधारा’ थपेका थिए ।

प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा (एकता केन्द्र)ले जनयुृद्ध सुरुवात गर्ने निर्णय गरेपछि पार्टीको नाममा ‘माओवाद’ थपेको थियो भने पछि ‘प्रचण्डपथ’ संश्लेषण गरेको थियो ।

दीर्घकालिन जनयुद्धमार्फत् गाउँमा आधार इलाका बनाउने, गाउँले शहर घेरेर नयाँ जनवादी क्रान्ति गर्ने, त्यसमार्फत् जनवादी गणतन्त्र स्थापना गर्दै समाजवाद, साम्यवादतिर जाने विचारलाई ‘माओवाद’ भनिन्छ ।

माओवादीले ‘प्रचण्डपथ’ शान्ति प्रक्रियामा आएयता नै परित्याग गरिसकेको थियो, अब ‘माओवाद’ परित्याग गर्ने तयारी गरेको छ । यससँगै उसले यो पार्टी ख्अब शास्त्रीय कम्युनिष्ट सिद्धान्तबाट फरक हुँदै गएको सन्देश पनि दिएको छ ।

फाइदा होला कि घाटा ?

‘माओवाद’ परित्याग गर्दैमा माओवादी पार्टीका सबै संकट समाप्त हुन्छन र राजनीतिक बाटो सहज हुन्छ नै भन्न सकिन्न । नाम परिवर्तन गर्दैमा पार्टीको चरित्र, एजेण्डा र संगठनमा कुनै तात्विक भिन्नता आउँछ भन्ने ग्यारेन्टी छैन ।

‘माओवाद’ परित्यागपछि उस्तै नेतृत्व, संगठन, शक्ति संचरना, चरित्र र एजेण्डा भएको पार्टी युवा, शहरिया मध्यम वर्ग र बौद्धिक जमातका लागि सहज स्वीकार्य र आकर्षण केन्द्र बन्छ भन्ने अपेक्षा आफैमा निक्कै कमजोर आशावादिता हो ।

अर्कोतिर ‘माओवाद’ कै नाममा जनयुद्धमा त्यत्रो ठूलो बलिदान भएको हुँदा त्यो छाड्दा मन दुखाउनेको संख्या पनि हुन सक्ने छ । ‘माओवाद’ छोड्दा आफ्नो पुरानो आधार गुम्न सक्ने र नयाँ जनमत पनि आकर्षित नहुने हो भने पार्टीलाई फाइदा हुनुको साटो घाटा पर्न सक्छ ।

तर नेतृत्वदेखि नै सबै संरचना पुनर्गठन गरेर कांग्रेस र एमालेको विकल्प बन्ने योजना हो भने माओवादीका लागि यो नै सबैभन्दा उपयुक्त रणनीति हो । पार्टीको नाममा कम्युनिष्ट राखेर त्यो शिद्धान्तसँग नजिक रहेकालाई जोडिराख्ने तथा ‘माओवाद’ र चुनाव चिन्ह हटाएर शास्त्रीय कम्युनिष्ट नभएको सन्देश पनि दिने रणनीति पक्कै उपयोगी हुन सक्छ ।

तर माओवादीको अहिलेको समस्या भनेको शिद्धान्तसँगै नेताहरुको व्यवहार पनि हो । उनीहरु जनता र आम कार्यकर्तासँग टाढा पुगेको आरोप लागिरहेको छ । यदि साँच्चिकै वैकल्पिक शक्तिका रुपमा स्थापित हुने माओवादीको संकल्प हो भने नाम र चिन्हसँगै नेताहरु पनि परिवर्तन हुन आवस्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved