एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै कांग्रेस सांसद पौडेलले राष्ट्रपति निर्वाचनमा ‘ढोक्सा’ थाप्ने बताएपछि….

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं-५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले नेपाली कांग्रेसले राष्ट्रपनि निर्वाचनमा उम्मेदवार उठाउने बताए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले सत्ता गठबन्धनको नाममा ‘रबरस्ट्याम्प’ राष्ट्रपति बनाउने प्रयास भइरहेको भन्दै नेपाली कांग्रेसले त्यसको प्रतिवाद गर्ने पनि बताए । ‘राष्ट्रको अविभावक र संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति देशलाई चाहिएको छ’ उनले भने ।

सांसद पौडेलले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले केही समय अगाडि संसदमा बोल्दा कांग्रेसले ढोक्सा थाप्न खोजेको भन्ने प्रसंङ्ग कोट्याउँदै यसपटक आफ्नो पार्टीले राष्ट्रपति चुनावमा ‘ढोक्सा’ थाप्ने समेत बताए ।

‘हामीलाई रबरस्ट्याम्प राष्ट्रपति चाहिएको होइन,आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति पनि चाहिएको होइन’ उनले भने–‘त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उभिँदा कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा थाप्न तयार छौं ।’

राष्ट्रपतिकै चुनावलाई लिएर सत्ता समीकरण फेरिन सक्नेतर्फ पनि पौडेलले कुरा उठाए । नेपाली कांग्रेस स्थिरताको पक्षमा रहेकोले गठबन्धन भत्कियोस् भन्ने चाहना नभएको बताए । उनले सुदूपश्चिममा गठबन्धन भत्किनुमा समेत कांग्रेसको दोष नभएको भन्दै सत्ता गठबन्धनको जग नै हल्लिएर भत्किएको हुनसक्ने बताए ।

पहिला ७ दल रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा ४ पार्टीका नेता मात्रै देखिन थालेको भन्दै पौडेलले उच्चस्तरीय संयन्त्रको बैठकमा पहिले ७-८ जना देखिन्थे । अहिले ४ जना देखिनुहुन्छ । बाँकी कता जानुभयो ? भन्दै व्यंग्य गरे ।

नेता पौडेलले विगतको कुरासमेत कोट्याउँदै संसद विघटन सही थियो भन्ने एमाले अध्यक्ष ओलीको भनाइको पनि खण्डन गरे । संसद् विघटनको महिमा गाउने होइन खासमा संसद विघटन कायरता भएको बताए । एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतलाई आफ्नो पार्टीको कानुन विभागलाई जसरी लल्कार्ने प्रयास गरेको पनि पौडेलको आरोप थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved