माझी समुदायलाई एक दिने उद्यमशीलता तालिम

नेपालभ्युज

माझी समुदायलाई एक दिने उद्यमशीलता तालिम

काठमाडौं। नेपाल माझी उत्थान संघले सीमान्तकृत माझी समुदायलाई एक दिने उद्यमशीलता तालिम गरेको छ । शनिबार उद्यमशीलता प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम गर्दै संघले माझी समुदायहरूलाई स्व-निर्भर र रोजगारी बनाउने उद्देश्यस्वरूप उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

तालिमले माझी समुदायलाई साना तथा मझौला व्यवसायी बन्न मद्दत पुर्‍याउने प्रशिक्षक प्रकाश कुमार श्रेष्ठले बताए । उनका अनुसार सीमान्तकृत तथा पिछडिएका माझी समुदायहरूलाई उक्त कार्यक्रमले उद्यमी बन्न केही मात्रामा सहयोग पुर्‍याउने छ ।

उनले भने, ‘म उहाँहरूलाई विनोद चौधरी बनाउन आएको होइन, तर उहाँहरूसँग भएको स्थानीय स्रोत साधनलाई प्रयोग गरेर साना व्यवसाय गर्न अवश्य सिकाउँछु ।’

पछिल्लो समय युवाहरूले रोजगारीको लागि वैदेशिक रोजगार मात्र एक उपाय देखिरहेको बेला माझी उत्थान संघले उद्यमशीलता विकास तालिम ल्याउनु निकै प्रभावकारी रहेको सहभागी सुनीता माझीले बताइन् ।

आफू पनि एक साना व्यवसायी भएको नाताले सो कार्यक्रमबाट धेरै प्रभावित भएको उनको भनाइ छ । सीमान्तकृत माझी समुदायको पुनरुत्थान गर्नका लागि यस तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने उनको धारणा छ ।

त्यस्तै, अर्का सहभागी वीरबल माझीले आजको एक दिने तालिम अपुरो भएको बताएका छन् । उनले भने, ‘आज एक दिन त हामीले उद्यम गर्न केही कुरा सिक्यौँ, तर यो पूर्ण छ जस्तो मलाई लागेन, यतिका आधारमा व्यवसाय सुरु गर्दा कतै सफल भइन्छ कि भइँदैन त्यसमा म अन्योल छु ।’

उनले उक्त कार्यक्रमको पुनः दोस्रो चरण ल्याउन आग्रह गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल माझी संघका केन्द्रीय अध्यक्ष चिनी माया माझीले माझी समुदायमा गरिएको यो नै पहिलो उद्यमशीलता विकास तालिम भएको बताएकी छिन् । उनले आधा गाग्री पानी छचल्किएर पोखिन्छ भन्दै उक्त कार्यक्रमको दोस्रो चरण पनि चाँडै ल्याइने बताइन् ।

उनले भनिन्, ‘माझी समुदायमा गरिएको सम्भवतः यो नै पहिलो उद्यमशीलता कार्यक्रम हो । तर, यतिले मात्र व्यवसाय सञ्चालन गर्न सकिँदैन । त्यसैले, यसको दोस्रो चरण कार्यक्रम पनि हामी चाँडै नै ल्याउनेछौँ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved