काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले शहीदको सम्मानका लागि बिदा दिने कुरा ठिक नभएको बताएका छन् । बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मानिसलाई युद्धमा ल्याउने नेतृत्वले उनीहरुको परिवार र देशका लागि काम गरेर देखाए मात्रै उनीहरुप्रतिको सम्मान हुने बताए ।
उनले नेपालको गरिबी अन्त्य गर्ने, जनयुद्धमा सहादत प्राप्त गरेका शहीदको सम्मान हुने, उत्पीडित जनताले सुख पाउने गरी देश समृद्ध हुने नीति ल्याएमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालको काम सही रहेको ठहर हुने बताए । उनले सत्तामा बस्ने जनताका निम्ति कुनै काम नगर्ने र कुनै दिन बिदा दिएर शहीदलाई सम्झने कुरा गलत भएको बताए ।
‘नेपालमा सत्तामा छु की विपक्षमा छु, भन्ने आधारमा अभिव्यक्ति दिने जुन चलन छ, त्यो गलत छ, केपी शर्मा ओली ज्युले आज आएर जनयुद्ध दिवसको दिनमा दिएको बिदाको विरोध गर्ने कुरामा कुनै तुक छैन किनभने उहाँले प्रचण्डजीलाई प्रधानमन्त्रीका रुपमा समर्थन गरेको बेलामा बिदा दिनका निम्ति समर्थन गर्नुभयो’ उनले भने, ‘उहाँहरुको समर्थनको कारणले कथित जनयुद्ध दिवसको दिन बिदा दिनेकुरा स्वीकृत भयो । जसको समर्थनका कारणले स्वीकृत भएको हो, त्यो व्यक्ति एक वर्षपछि गलत थियो भन्ने, त्यही बेलामा किन भन्न नसकेको ?’
नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसको दिनमा दिएको बिदाको विरोध गर्ने कुरामा कुनै तुक नरहेको जिकिर गरे।
Facebook Comment
Comment