काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल यूएईसँग ४ विकेटले पराजित भयो। खेल पश्चातको पत्रकारअन्तरक्रियामा मुख्य प्रशिक्षक मोन्टी देशाईंले टोलीले राम्रो तयारी गरे पनि पराजित भएको बताएका छन्।
प्रशिक्षक देशाईंले भने,‘टी–२० फर्म्याटमा निकै नै सर्तक हुनु आवश्यक हुन्छ। एकै ओभरमा रोहित र दीपेन्द्र आउट हुँदा ब्याटिङमा समस्या उत्पन्न भयो। यूएईले पनि उत्कृष्ट प्रदर्शन गर्यो।’ यद्यपि, टोलीले सुन्दर खेल प्रस्तुत गरेको प्रशिक्षक देशाईंले बताए। उनले भने, ‘यो पराजय नकआउट थिएन, चिउँडोमा लागेको मुक्का थियो। हामी बलियो भएर फर्कने छौँ।’
कप्तान रोहित कुमार पौडेलले कुनै कुनै ठाँउमा चुकेकोले खेल आफ्नो पक्षमा नभएको बताए। रोहितले भने, ‘हामीले राम्रो खेले पनि केही विभागमा भने पछि पर्यौँ। कुशलले गरेको सुरुवात अनुरुप हामीले १८९–१९० को लक्ष्य सोचेका थियौं। तर,१२ ओभरमा २ विकेट गुमाउँदा प्रदर्शनमा असर पुग्यो।’
रोहितले टोलीको शक्ति स्पिन बलिङ भएपनि मिड–पेसरहरुले पनि राम्रो प्रदर्शन गरिरहेको बताए। उनले टोलीले आफ्नो कमजोरी थाहा पाउने अवसर प्राप्त गरेको पनि बताए।
अब नेपालले सोमबार देखि सुरु हुने आइसीसी टी–२० विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गर्नेछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छनोटमा ८ राष्ट्रको सहभागिता छ। नेपाल, मलेसिया, ओमान, र सिंगापुरसँगै समूह एमा रहेका छन् । कुवेत, यूएई, बहराइन, हङकङ र कुवेत समुह बीमा छन्। फाइनल खेल्ने २ टोलीले टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।
Facebook Comment
Comment