काठमाडौं। नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेटमा पर्सा क्लब एक्स आईले उत्तर प्रदेश क्लब एक्स आईलाई पराजित गरेको छ।
वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पर्साले उत्तर प्रदेशलाई १ विकेटले पराजित गरेको हो।
६७ रनको लक्ष्य पर्साले १६.३ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्यो। पर्साका लागि अनिल शाहले १८ र कप्तान सन्दीप लामिछानेले १२ रन बनाए। उत्तर प्रदेशका लागि भने भीम शर्मा, तरुण कुमार, वशी अन्सारीले २–२ तथा शुभम चौधरीले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको उत्तर प्रदेश १६ ओभरमा ६६ रनमा अलआउट भयो। उत्तर प्रदेशका लागि समिर अन्सारीले २४ रन बनाए। तरुण कुमार र जयदीप सिंहले भने १२–१२ रन जोडे।
पर्साका लागि भने सन्दीप लामिछानेले ३ तथा पवन सराफ, रंजित कुमार, रुपेश सिंहले २–२ तथा सैफुल्लाह अन्सारीले १ विकेट लिए।
अहिले नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ। प्रतियोगितामा उत्तर प्रदेश, पर्सा, वान्डर्स क्लब नोयडा र ३ विभागीय टोलीको सहभागिता रहेको छ।
Facebook Comment
Comment