योजना आयोग निर्णायक निकायका रुपमा स्थापित हुन सकेनः पूर्वअर्थमन्त्री पौडेल

नेपालभ्युज

योजना आयोग निर्णायक निकायका रुपमा स्थापित हुन सकेनः पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले भौतिक र मानवीय विकासलाई केन्द्रमा राखेर १६ औं योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । आईतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बौल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो सुझाव दिएका हुन् ।

उनले भौतिक र मानविय विकासलाई केन्द्रमा राखेर १६ औं योजना तर्जुमा नभए योजना निर्माणको काम पुरानै रुपमा चल्ने बताए । उनले मुलुकको वर्तमान अवस्था र आवश्यकताअनुरुप १६ औं योजना तर्जुमा नभए अपेक्षा गरेअनुसारको नतिजा आउन नसक्ने उल्लेख गरे ।

पूर्वअर्थमन्त्री पौडेलले योजना निर्माण गर्दा स्रोत व्यवस्थापन महत्वपूर्ण पक्ष भएको भन्दै स्रोत भन्दा बाहिरको योजनाको अर्थ नहुने बताए । उनले नेपालमा सिमित स्रोत र असिमित आवश्यकता भएकाले सोही आवश्यकताका आधारमा धेरै प्रतिफल पाउने गरी योजना बनाउनुपर्नेमा जोड दिए। उनले स्रोत व्यवस्थापन र आयोजना व्यवस्थापनबीचमा रहेको खाडललाई पूरा गर्नेगरी योजना निर्माण गरिनुपर्ने बताए ।

राजश्व संकलन कम भइरहेकाले सरकारले साधारण खर्च धान्न नसक्ने अवस्था रहेको बताए । उनले योजना आयोगले योजना बनाउने र हटाउने विषयको अन्त्य हुनुपर्ने उल्लेख गरे । पूर्वअर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोग योजना निर्माणको निर्णायक निकायका रुपमा स्थापित हुन नसकेको बताए । उनले मुलुकको योजना निर्माणको निर्णायक निकाय योजना आयोग हो भन्ने किसिमले योजना तर्जुमा गर्न सुझाव दिए । उनले योजना आयोगले बनाएका योजना नै निर्णायक हुन्छ भन्ने विश्वास बढाउन नसकेको बताए ।

उनले सरकारका नीति कार्यक्रम र स्रोत एकतिर र बजेट अर्कोतिर हुने गरेको बताए । पौडेलले योजना आयोगले सही ठहर्‍याएको योजना अघि बढ्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए । उनले बजेट निर्माणमा सामान्य सहभागिताको अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved