काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ८५ रनले हराएको छ ।
योसँगै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । २ खेलबाट ३ अंक जोडेको नेपालले फाइनलमा स्थान पक्का गरेको छ । हङकङ र पीएनजीबीचको विजेतासँग नेपालले बुधबार फाइनल खेल्नेछ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । जवाफमा पीएनजीले १६ दशमलव १ ओभरमा ११३ रन बनाएर अलआउट भयो ।
नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरे । ओपनर ब्याट्सम्यान भुर्तेलले अर्धशतक बनाए भने चार विकेट पनि लिए । यसका अतिरिक्त सन्दीप जोराले पनि अर्धशतक बनाएका थिए ।
नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको तयारीका क्रममा विभिन्न राष्ट्रसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।
यसैक्रममा नेपाली टोली हङकङ भ्रमणमा गएको हो । हङकङ भ्रमणबाट फर्किएलगत्तै नेपाली टोली मैत्रीपूर्ण खेलका लागि भारत प्रस्थान गर्नेछ ।
भारतमा नेपालले गुजरात र बरोडासँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । टी–२० विश्वकपको नवौँ संस्करण सन् २०२४ को जुन १ देखि २९ तारिखसम्म आयोजना हुँदैछ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
Facebook Comment
Comment