२०५० देखि २०८१ सम्म : यी हुन् संसद्लाई ‘रणमैदान’ बनाइएका ६ सन्दर्भ

दलहरू संसदीय मर्यादाप्रति गम्भीर नहुँदा, सरकारले विपक्षीलाई विश्वासमा लिन नसक्दा, प्रतिपक्षले सरकारप्रति प्रतिशोध साँध्ने स्थानको रुपमा सदनलाई प्रयोग गर्दा र सभामुखहरूले पनि सत्ता-प्रतिपक्षीबीचको टकराव प्रकट गर्ने थलोको रुपमा सदनलाई प्रयोग हुन नदिने चलाखी अपनाउन नसक्दा बेलाबखत यस्ता मुठभेडहरू निम्तिने गरेका छन् ।

२०५० देखि २०८१ सम्म : यी हुन् संसद्लाई ‘रणमैदान’ बनाइएका ६ सन्दर्भ

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा मुठभेड भयो । तर नेपालको संसदीय इतिहासमा यो पहिलो घटना होइन, अन्तिम पनि होला भन्न सकिने आधार छैन ।

दलहरू संसदीय मर्यादाप्रति गम्भीर नहुँदा, सरकारले विपक्षीलाई विश्वासमा लिन नसक्दा, प्रतिपक्षले सरकारप्रति प्रतिशोध साँध्ने स्थानको रुपमा सदनलाई प्रयोग गर्दा र सभामुखहरूले पनि सत्ता-प्रतिपक्षीबीचको टकराव प्रकट गर्ने थलोको रुपमा सदनलाई प्रयोग हुन नदिने चलाखी अपनाउन नसक्दा बेलाबखत यस्ता मुठभेडहरू निम्तिने गरेका छन् ।

यहाँ नेपालको संसदीय अभ्यासका क्रममा देखिएका केही चर्चित झडप र मुठभेडहरूको चर्चा गर्ने प्रयास गरिएको छ ।

०००

२०५० चैत ११ को प्रतिनिधि सभा बैठकलाई उपसभामुख महन्थ ठाकुरले चलाइरहेका थिए। खानी तथा खनिज पदार्थ (पहिलो संशोधन विधेयक) माथि मतविभाजन माग गर्‍यो, प्रमुख प्रतिपक्षी एमालेले । सत्तापक्षका धेरै सांसद अनुपस्थित भएकाले त्यस्तो माग गरिएको थियो । परिणाम घोषणा गर्नेबेलामा सत्तापक्षीय सांसद बालाराज कार्की र प्रकाश कोइराला सभामा प्रवेश गरेर मतदानमा भाग लिन पाउनुपर्ने माग राखे । उता प्रतिपक्षले परिणाम सुनाउन दबाब दियो। परिणाम सुनाउँदा सत्तापक्ष हार्ने निश्चित थियो । होहल्लाका बीच बैठक स्थगित भयो । त्यसपछि सदनमा झडप सुरु भयो । उपसभामुख ठाकुरमाथि पनि चड्कन प्रहार भएको थियो । कुर्सी तोडफोड भएको भयो । हानाहानमा कुर्सी, माइकका डण्डीदेखि चुरोटका बट्टासमेत प्रहार भएका थिए ।

२०५५ असोज १ गतेको बैठकमा ‘स्थानीय स्वायत्त शासन विधेयक’ कार्यसूचीमा थियो । सभामुखले स्थानीय विकास मन्त्री केशवलाल श्रेष्ठलाई विधेयक प्रस्तुत गर्न समय दिनासाथ एमालेका सांसदहरुले विरोध सुरु गरे । उसका सबैजसो सांसदहरू रोस्ट्रमतर्फ लागे । मर्यादापालकले रोक्ने प्रयास गरे । त्यसपछि सत्ता पक्ष र विपक्षीबीच झडप सुरु भयो । सदन २० मिनेटसम्म रणभूमिमा परिणत भयो । संसद् बैठक स्थगित भइरहँदा पनि भिडन्त जारी रह्यो ।

२०५७ फागुन ८ को प्रतिनिधि सभा बैठकमा सभामुख तारानाथ रानाभाटले बैठकको सुरुवातमै पर्यटनमन्त्री ओमकार श्रेष्ठलाई समय दिए । उनी रोस्ट्रमतिर अघि बढेका थिए । उनी अघि बढेसँगै एमालेका सांसदहरू पनि उठेर अघि बढे । जबर्जस्ती संसद चलाउन खोजेको भन्दै एमालेले विरोध गर्न थाल्यो । त्यतिबेला मन्त्री रोष्टममा पुगेका मात्रै थिए, एमालेका सांसदहरुले समातेर अगाडि बढ्न दिएनन् । त्यसपछि एमालेका सांसदहरू र मन्त्रीबीच केही बेर हात हालाहाल भयो ।

२०६७ मंसिर ३ गतेको व्यवस्थापिका संसद् बैठकमा सभामुख सुवास नेम्वाङले तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई बजेट वक्तव्य प्रस्तुत गर्न समय दिएका थिए । सोही अनुसार पाण्डे बजेट वक्तव्य राखिएको ब्रिफकेस बोकेर रोस्ट्रमतर्फ जान लाग्दै थिए । माओवादी सांसदहरुले उनलाई घेरे । र, ब्रिफकेस नियन्त्रणमा लिएर फुटाइदिए । बजेट ल्याउने विषयमा सत्ताधारी कांग्रेस-एमाले र प्रतिपक्षी माओवादीबीच केही दिनयता विवाद थियो । सत्तापक्ष पूर्ण बजेट र माओवादी आंशिक बजेटको पक्षमा थिए । सहमतिको प्रयास भइरहेको थियो । जसका कारण दिउँसो २ बजेका लागि बोलाइएको त्यसको दिनको संसद् बैठक नै राति १० बजे सुरु भएको थियो । तर, सहमति नजुट्दै सरकारले बजेट ल्याउने भएपछि सदनमा माओवादीले उग्र व्यवहार गरेको थियो ।

२०७१ माघ ५ को संविधानसभाको बैठकबाट संविधान लेखन कार्य नियमावलीको व्यवस्था अनुसार मतदान प्रक्रियाबाट ‍अघि बढाइन खोजिँदैथियो । सत्तापक्षको त्यस किसिमको तयारी थियो । अर्कोतिर माओवादीले र ऊ वरिपरिका दलहरुले भने सहमतिको वकालत गरिरहेका थिए । सो बैठकमा संविधानसभा अन्तर्गतको राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पनि सम्बोधन गरेका थिए । उनले कडा भाषण गरेका थिए ।

सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठन गर्न कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई समय दिएका थिए । त्यस लगत्तै माओवादी सभासदहरू रोस्ट्रम घेराउ गर्न पुगेका थिए । केही सभासद् सभामुखको स्थानमा पुग्ने प्रयासमा थिए । उनीहरूलाई मर्यादापालकले रोकेका थिए । त्यसपछि बैठकमा तोडफोड चल्यो । केही बेरपछि बैठक स्थगित भयो ।

२०८१ जेठ ३ गतेको प्रतिनिधि सभा बैठकमा पनि कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेलको स्थिति उत्पन्न भयो ।

विभिन्न सहकारीमा जम्मा भएको रकम हिनामिना भएको र त्यसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको थियो । र समिति गठन नभएसम्म सदन चल्न नदिने भन्दै अवरोध पनि गर्दै आएको थियो । सहमतिको प्रयत्न चलिरहेको भए पनि त्यसले निष्कर्ष पाइसकेको थिएन ।

बिहीबारको बैठक पनि सुरु हुनासाथ कांग्रेसले वेल घेराउ गरेको थियो । तर सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रलाई पटकपटक गरी पढिसकेर गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि झडपको स्थिति बनेको थियो । त्यतिञ्जेल सबै जसो पार्टीका सांसदहरू उठेका थिए । एमालेकै सांसदहरू पनि आ-आफ्नो ठाउँबाट उठेर वरपर पुगिरहेका थिए । त्यस क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङ आमनेसामने भएका थिए । त्यहाँ दुवै उत्तेजित देखिन्थे । गुरुङले भने हात उठाएर चर्को स्वरमा ओलीको प्रतिवाद गरेका थिए । एमालेका सांसदहरू महेश बर्तौला, ठाकुर गैरे तथा सूर्य थापा ओलीको ‘सुरक्षा’का लागि ओली र गुरुङको बीचमा पुगेपछि धकेलाधकेलको स्थिति उत्पन्न भएको थियो ।

सभामुखले समय दिएका गृहमन्त्री लामिछाने रोस्ट्रममा जानै पाएका थिएनन् । उनले पुनः आसन ग्रहणका लागि अनुरोध गरे । उनले कार्यसूचीका बाँकी सूचीलाई हटाए र बैठक स्थगित गरिदिए । यता वेलमा नाराबाजी र धकेलाधकेल जारी थियो ।

यो पनि पढ्नुहोस्- सदनमा कसरी निम्तियो धकेलाधकेलको स्थिति ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved