बेलायती प्रधानमन्त्री सुनकले भने – ‘नेपालको आर्थिक स्थिति मजबुत बनाउन साथमा छौं’

नेपालभ्युज

बेलायती प्रधानमन्त्री सुनकले भने – ‘नेपालको आर्थिक स्थिति मजबुत बनाउन साथमा छौं’

काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन् ।

नेपाल र संयुक्त अधिराज्य बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा सुनकले सहयोगका लागि बेलायत तयार रहेको बताएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीलगायत आर्थिक सम्बन्धमा समेत सहकार्य अभिवृद्धि गर्ने बताए ।

उनले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको भूमिक उच्च रहेका भन्दै प्रशंसा गरेको नेपाली राजदूतावासले जनाएको छ । विगतमा राजा चाल्र्सले गरेको नेपाल भ्रमणको स्मरण गर्दै उनले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त नेपाली ‘डायस्पोरा’को काम र उपलब्धिबाट आफू प्रेरित भएको पनि सुनकले सुनाए ।

बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत–नेपालबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउन बेलायतले नेपालको विकासका लागि गरिरहेको सहयोगलाई जारी राख्ने बताए । मध्यम आययुक्त मुलुक बन्ने नेपालको लक्ष्यमा बेलायत सहयोगी बन्ने उनको भनाई छ ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट प्रधानमन्त्री सुनकप्रति शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खा, बेलायतका सांसद तथा उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो । कार्यक्रममा   नायिका मनिषा कोइरालाको पनि उपस्थिती रहेको थियो ।

नेपाल र बेलायतबीच सन् १९२३ को मैत्रीसन्धिमा हस्ताक्षर भएको सय वर्ष पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved