सिनियर नेतालाई अघिल्लो वरीयतामा राखेर कार्यकारी अध्यक्ष हुन तयार छु, राजकीय पदमा दाबी गर्दिनँ : घनश्याम भुसाल (अन्तर्वार्ता)

माधवकुमार नेपालले कम्तिमा १ वर्ष भएपनि आफूलाई अध्यक्ष दिन बिन्ती बिसाइरहेका छन् । यता झलनाथ खनाल अब आफ्नो पालो आएको ठहर्‍याउँछन् । ठीक यहीबेला घनश्याम भुसालले ‘ब्याक’ नहुनेगरी अगाडि बढेको छनक दिएका छन् ।

सिनियर नेतालाई अघिल्लो वरीयतामा राखेर कार्यकारी अध्यक्ष हुन तयार छु, राजकीय पदमा दाबी गर्दिनँ : घनश्याम भुसाल (अन्तर्वार्ता)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौं महाधिवेशन असार १६-२० काठमाडौंमा हुँदैछ ।

महाधिवेशन नजिकिएसँगै नेतृत्वको सन्दर्भ अगाडि आएको छ । नेतृत्वका लागि अहिलेसम्म वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको दाबी देखिन्छ ।

माधवकुमार नेपालले कम्तिमा १ वर्ष भएपनि आफूलाई अध्यक्ष दिन बिन्ती बिसाइरहेका छन् । यता झलनाथ खनाल अब आफ्नो पालो आएको ठहर्‍याउँछन् । ठीक यहीबेला घनश्याम भुसालले ‘ब्याक’ नहुनेगरी अगाडि बढेको छनक दिएका छन् ।

महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा साङ्गठानिक दस्तावेज लेखनमा ‘हाबी’ भएका भुसालले माधवकुमार नेपाल र झलनाथ खनाललाई क्रमश: पहिलो र दोस्रो वरीयतामा राखेर आफू तेस्रो वरीयताको कार्यकारी अध्यक्ष बन्ने प्रस्ताव ल्याएका छन् ।

यसमाथि अहिले पार्टीभित्र अनौपचारिक रूपमा छलफल भइरहेको छ । त्यसो त घनश्याम भुसालको यो प्रस्तावमा माधवकुमार नेपाल र झलनाथ खनालले केही बोलिसकेका छैनन् ।

त्यसोभए अब के हुन्छ ? दशौं महाधिवेशनपछि पार्टीको कसको नेतृत्वमा अगाडि बढ्ला ? घनश्याम भुसालले तर्साउन मात्रै खोजेका हुन् कि साँच्चै ‘ब्याक’ नहुनेगरी अगाडि बढेका हुन् नेतृत्वका लागि ? कस्ताखाले विचार तथा नीति आउँछन् ? यी यावत् विषयबारे उनै घनश्याम भुसालसँग कुराकानी गरिएको छ ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंश—

महाधिवेशनको तयारी कसरी चलिरहेको छ ?

तयारी गरिरहेका छौँ । मिति नजिकिँदै छ । त्यसको प्राविधिकदेखि लिएर वैचारिक तथा नीतिगत तयारी गरिरहेका छौँ ।

नेतृत्वका सन्दर्भमा चाहिँ एकखाले ‘माथापच्ची’ नै सुरु भएको देखिन्छ हैन ?

अहिल्यै त्यसरी पनि नभनौँ । अहिलेलाई छलफल मात्रै भइरहेको हो । महाधिवेशनमा विभिन्न नेताहरूले आकाङ्क्षा व्यक्त गर्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ ।

तपाईंले पनि ‘ब्याक’ नहुनेगरी नेतृत्व (अध्यक्ष) का लागि तयारी गर्नुभएको हो ?

मैले भनिहालेँ, अहिलेलाई हामी छलफलकै क्रममा छौँ । विभिन्न कोणबाट छलफलहरू भइरहेका छन् । तर, नीतिगत स्थिरता र नेताहरूलाई फरक-फरक भूमिका प्राप्त हन्छ भने किन नगर्ने भन्ने हो ।

तपाईंले दुई नेतालाई अगाडिको वरीयतामा राखेर आफू तेस्रो वरीयताको कार्यकारी अध्यक्ष बन्ने प्रस्ताव लानुभएको हो ?

विभिन्न कोणबाट छलफल हुने क्रममा यो पनि एउटा ‘आस्पेक्ट’ हो । अब विभिन्न विकल्पमाथि छलफल हुन्छ भने यसमाथि किन नहने भन्ने हो । अहिलेलाई विभिन्न कोण र विकल्पभित्र छलफल भइरहेको छ । कसरी जाने भन्नेबारे हामी निष्कर्षमा पुगिसकेका छैनौँ ।

यदि यही विकल्पमा सहमति जुट्यो र राजकीय पदको अवसर पार्टीलाई आयो भने अप्ठ्यारो पर्दैन ?

पर्दैन । किनभने मलाई राजकीय पदमा जानका लागि अध्यक्ष चाहिएको होइन । नीतिगत स्थिरता र नेताहरूलाई भिन्न-भिन्न भूमिकाका लागि चाहिएको हो । निश्चय नै यदि त्यस्तो आयो भने उहाँहरू नै हो । उहाँहरू जतिको ‘टावरिङ पर्सनालिटी’ हुँदाहुँदै मैले दाबी गर्ने कुरा नै आउँदैन ।

यो विकल्पका बारेमा उहाँहरूको धारणा के छ ?

अहिलेलाई यो छलफलको विषय मात्रै हो, त्यहाँ त्यस्तोखाले कुनै प्रतिक्रिया वा धारणा आइसकेको छैन ।

यसो हुनु सहज छ ?

हामीमाझ एउटा नेता नेतृत्वमा पुगेपछि छाड्दै नछाड्ने, छोडाउनका लागि ठूलो विद्रोह गर्नुपर्ने, जबरजस्ती हटाउनुपर्ने, मर्यादाहीन तरिकाहरू अपनाउनुपर्ने संस्कार छ । तर, त्यो राम्रो होइन । प्रणालीलाई व्यवस्थित गर्न स्थिरताका लागि सहज रूपमा यस्ता काम हुनुपर्छ र त्यसको अपेक्षा मलाई छ ।

दस्तावेज लेखनको काम मुख्यत: तपाईंमार्फत भइरहेको छ, कस्ताखाले विचारहरू प्रधान रूपमा आउँदैछन् ?

छलफल भइरहेको छ, लेखन पनि भइरहेको छ । त्यसमा ठूलै चर्चा गरिहाल्नुपर्ने र नयाँ केही पनि छैन । तर, मिहीन ढङ्गले छलफल चल्नुपर्छ भन्ने हो ।

जनताको बहुदलीय जनवाद (जबज) का सन्दर्भमा पार्टीमा साझा धारणा अझै देखिँदैन, त्यो के हुन्छ अब ?

होइन, जबज कुनै बेलाको कुरा थियो । त्यसले जति गर्ने गरिसक्यो, अब त्यसको सम्मान गर्दै अगाडि बढ्ने हो ।

तपाईं नेतृत्वको रूपमा आउनुभयो भने त्यो रहन्छ कि रहन्न ?

मैले भनिहालेँ, त्यो कुनै बेलाको सन्दर्भ थियो । तर, अब परिवर्तन हुँदै जानुपर्छ । हामी जाने भनेको समाजवादतिर हो । जबज टेक्दै नै अगाडि जाने हो । हामीले जबजमार्फत नै समाजवादतिर जाने भनेका हौँ । त्यसमा प्रशस्तै छलफल हुनु आवश्यक छ ।

सम्बन्धित समाचार एकीकृत समाजवादीमा नेतृत्वका लागि माथापच्ची, अध्यक्षमा उठ्लान् घनश्याम भुसाल ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved