बालेनलाई हिट्लरसँग तुलना गर्दै अमरेशले भने- पपुलिज्मको आडमा न्याय समाप्त गर्न खोजेको हो ?

नेपालभ्युज

बालेनलाई हिट्लरसँग तुलना गर्दै अमरेशले भने- पपुलिज्मको आडमा न्याय समाप्त गर्न खोजेको हो ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पपुलिज्मको नाममा दुनियाँमा तानाशाही जन्मिने गरेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम नै किटान गर्दै उनले भने, “हिट्लर पनि निर्वाचित नै भएर आएका थिए । तर, हिट्लरका कारण जर्मनीको के हाल भयो ? आज पपुलिज्मका लागि सबैले ताली बजाइरहेका छौँ । बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेका हुन् ?”

कवाड व्यवसायी सङ्घर्ष समितिको आन्दोलन काठमाडौंमा चलिरहेको छ । उनीहरूले महानगरले कवाडी सङ्कलन गरेर राख्ने स्थानमा डोजर चलाएको भन्दै आन्दोलन चर्काएका हुन् । यो सन्दर्भ जोड्दै सिंहले भने, “विभेदमा चल्न खोजेको हो बालेनले ? पपुलिज्मको आडमा न्याय समाप्त गर्न खोजेका हुन् ? यो न्यायको भूमि हो, संवैधानिक मान्यता छ यहाँ । यो गणतन्त्रिक मुलुक हो । त्यहाँ एउटा गरिबले पनि न्यायको अनुभूति गर्नुपर्छ ।”

उनले मङ्गलबार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका कवाड व्यवसायीमाथि लाठी प्रहार गरिएको भन्दै गृहमन्त्रीको जवाफसमेत माग गरे । “म रुलिङ चाहन्छु, के कारणले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका उनीहरूमाथि लाठी प्रहार भयो । म गृहमन्त्रीबाट जवाफ चाहन्छु,” उनले भने ।

उनले मधेस समुदायका मान्छेहरूविरुद्ध सरकार निर्मम भएर लाग्ने टिप्पणीसमेत गरे । “अरु समुदायको आन्दोलनमा एउटा लट्ठी पनि भाँचिँदैन । पानीको फोहोरा लगाइन्छ तर, मधेस समुदायका मान्छेलाई काठमाडौंमा किन सधैँ यस्तै गरिन्छ ?,” उनले प्रश्न गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved