ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

नेपालभ्युज

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित
फाइल तस्वीर

ताप्लेजुङ । मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार यहाँका आठ घर पूर्णरुपले क्षति भएका छन् भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उनले बताए ।

“बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् । चार सवारीसाधनमा क्षति पुग्नाका साथै दुईवटा काठको मोटरेवल पुलसहित चारवटा पुल बाढीले बगाएको छ”, प्रजिअ आचार्यले भने ।

बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेको जनाउँदै ११ परिवार नजिकैको विद्यालयमा बसेका उनले बताए ।

पहिरोबाट विस्थापित हुने अधिकांश सिरीजङ्घा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाका बढिरहेका प्रजिअ आचार्यले जानकारी दिए । उनका अनुसार पहिरोमा परेर फक्ताङलुङ–२ का एकै परिवारका चार जनाको निधन भएको थियो भने पाँचथर फिदिमका एक जनाको सिरीजङ्घामा निधन भएको थियो ।

पहिरोले अधिकांश ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको छ । अवरुद्ध सडक स्थानीय तहले खुलाउने प्रयास गरिरहेका जनाएका छन् ।

सिरीजङ्घा र फक्ताङलुङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् । बाढीपहिरोले नगदेबाली अलैँचीमा सबैभन्दा बढी क्षति पुगेको स्थानीयले बताएका छन् । हरेक दिन वर्षा भइरहेकाले ग्रामीण क्षेत्रका नागरिक त्रसित बनेका छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved