के हो ‘आरएसएस’ ? यो रिसाउँदा प्रधानमन्त्री मोदीलाई के फरक पर्छ ?

आरएसएस र भाजपा नेतृत्वबीच असन्तुष्टि र घोचपेच भएको यो पहिलो पटक भने हैन । यी सङ्गठनबीच बेलाबेला यस्तो हुँदै आएको छ । त्यसका बाबजुद यिनले एकअर्कासँगको सम्बन्ध टुटाएका भने छैनन् ।

के हो ‘आरएसएस’ ? यो रिसाउँदा प्रधानमन्त्री मोदीलाई के फरक पर्छ ?

काठमाडौं । संसारभरको प्रचलन हो कि राजनीतिक दललाई ‘मातृपार्टी’ भन्छिन र त्यसले आफ्ना ‘भातृ’ वा ‘भगिनी सङ्गठन’ बनाउँछ । तर, भारतमा एउटा दल र सङ्गठनबीच भने फरकखालको सम्बन्ध छ ।

राष्ट्रिय स्वयम्‌‌ सेवक सङ्घ (आरएसएस) र भारतीय जनता पार्टी (भाजपा) को सम्बन्ध भने ठीक उल्टो, दुर्लभ वा अपवादजस्तो छ । ‘आरएसएस’ भाजपाको ‘मातृ सङ्गठन’ हो, भाजपा आरएसएसको ‘भगिनी सङ्गठन’ । साङ्केतिक भाषामा आरएसएसलाई ‘नागपुर’ भनिन्छ । यसको केन्द्रीय कार्यालय महाराष्ट्रको नागपुरमा छ ।

कसरी बन्यो आरएसएस ?

आरएसएसको स्थापना सन् १९२५ मा केबी हेड्गेवारले गरेका थिए । ‘हिन्दुत्व’ मा आधारित ‘सांस्कृतिक राष्ट्रवाद’ मा विश्वास गर्ने आरएसएसलाई संसारकै सबैभन्दा ठूलो गैरसरकारी संस्था पनि भनिन्छ । यसका ६० लाखभन्दा बढी सक्रिय स्वयम्‌‌सेवक तथा ५० हजारभन्दा बढी शाखा छन् ।

आरएसएसको वरिपरि अन्य संस्था बन्दै, थपिँदै गए । यसका करिब १ दर्जन शाखा सङ्गठन छन् । जस्तो कि अखिल भारतीय विद्यार्थी परिषद्, विश्व हिन्दू परिषद्, बजरंग दल आदि । राजनीतिक हाँगोको रूपमा सन् १९५१ मा ‘भारतीय जनसङ्घ’ बन्यो । यसका परिकल्पनाकार थिए— सङ्घ प्रमुख एमएस.गोल्वाल्कर । अहिलेको भारतीय जनता पार्टी त्यही जनसङ्घको उत्तराधिकार संस्था हो ।

भारतीय जनसङ्घका प्रथम अध्यक्ष श्यामा प्रसाद मुखर्जीले भनेका थिए, “गुरुजीको सहमति र आशीर्वाद लिएर हामीले भारतीय जनसङ्घ सुरु गरेका छौँ ।” गोल्वाल्करलाई ‘सङ्घ परिवार’ भित्र ‘गुरुजी’ भनिन्थ्यो । आरएसएस सम्बद्ध संस्थाको समूहलाई सङ्घ परिवार भनिन्छ । भाजपा पनि सङ्घ परिवारको एक सदस्य हो ।

भाजपासँगको सम्बन्धमा खटपट

पछिल्लो समय आशङ्का गरिँदैछ आरएसएस र भाजपाबीचको सम्बन्ध बिग्रेको त हैन ?

जस्तो कि अहिलेका भाजपाका सबैजसो मुख्य नेता सङ्घ परिवारबाटै हुर्केका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदी भाजपा राजनीतिमा प्रवेश गर्नुअघि आरएसएस प्रचारक थिए । गृहमन्त्री अमित शाह विद्यार्थी परिषद्का उत्पादन हुन् ।

भाजपा अध्यक्ष जेपी नड्डाले हालै सम्पन्न लोकसभा निर्वाचनका क्रममा भनेका थिए— भाजपा अब एक्लै सक्षम, सामर्थ्यवान् सङ्गठन हो । आरएसएस र भाजपाको सम्बन्ध अब हिजो जस्तो रहेन ।

निर्वाचनमा आरएसएस प्रचारक तथा स्वयम्‌‌सेवक पहिलेपहिले जसरी भाजपाको प्रचार प्रसारमा खट्थे, यसपटक त्यसरी खटेनन् । चुनावभर त तिनले कुनै प्रतिक्रिया दिएनन् तर, चुनावपछिका अभिव्यक्तिबाट लाग्छ, आरएसएस भाजपासँग रिसाएको छ ।

गतसाता स्वयम्‌‌सेवकको एक प्रशिक्षण कार्यक्रममा सङ्घ सञ्चालक मोहन भागवत्‌को भाषण खुबै चर्चित रह्यो । उनले भाजपा नेताले संयम र मर्यादा गुमाउँदै गएको टिप्पणी गरेका थिए । उनले विपक्षी दलप्रति भाजपा भद्र र मर्यादित हुनुपर्ने धारणा राखे । उनको टिप्पणी चुनावी भाषणमा कयौं भाजपा नेताका ‘आपत्तिजनक टिप्पणी’ प्रति लक्षित थियो ।

मोहन भागवत्‌‌ले भाजपा नेताहरुलाई संयम अपनाउन सल्लाह दिँदै भने कि विपक्षीका लागि ‘विरोधी’ को साटो ‘प्रतिपक्ष’ शब्द प्रयोग गर्नुपर्दछ । सङ्घ परिवारका सदस्यहरु फरक विचार र दृष्टिकोणप्रति अभद्र, आक्रोशित र अमर्यादित हुन सक्दैनन् ।

सङ्घ कार्यकारिणी सदस्य तथा सङ्घ समर्थित मुस्लिम राष्ट्रिय मञ्चका प्रमुख संरक्षक इन्द्रेश कुमारले अझ अघि बढेर भाजपाप्रति कठोर टिप्पणी गरे । उनले भने, “भगवान् रामले भाजपाको अहङ्कारको दण्ड उसलाई बहुमतभन्दा धेरै कम सिट दिएर गर्नुभयो ।”

भाजपाको औपचारिक अभिवादन नै ‘जय श्रीराम’ हो । यसपटक त करिब ५०० वर्ष लामो राम जन्मभूमि विवाद समाधान भइ अयोध्यामा भव्य राममन्दिर पनि बनेको थियो । तर, सङ्घ नेता इन्द्रेश कुमारको भनाइमा भगवान् राम भाजपासँग रिसाउनुभयो र अहङ्हकारलाई दण्डित गर्नुभयो ।

रतन शारदा आरएसएसका अघोषित प्रवक्ता जस्तै हुन् । उनी टिभी र पत्रपत्रिकामा सङ्घका विचार प्रस्तुत गरिरहेका हुन्छन् । उनले भने कि सङ्घका चिनेजानेका आलोचकलाई पार्टीमा सामेल गरेको भएर भाजपाले चुनावमा दण्ड पायो ।

शारदको भनाइमा त्यसो गरेर भाजपाले आफ्नो वैचारिक प्रतिबद्धतालाई कमजोर बनाएको थियो, चुनावमा त्यसैको मूल्य चुकायो । सङ्घको मुखपत्र ‘अर्गानाइजर’ ले महाराष्ट्रमा भाजपाको हारलाई एनसीपीको अजित पवार गुटलाई गठबन्धनमा सामेल गर्नु हो भनेर लेख्यो ।

यी उदाहरणबाट के प्रष्ट हुन्छ भने सङ्घ नेतृत्व भाजपासँग खुसी छैन । सङ्घको विचारमा भाजपाले आफ्नो स्थापनाकालीन उद्देश्य र विचार बिर्सिएर राजनीतिक स्वार्थका लागि विजातीय गठबन्धन गर्न थालेको, भ्रष्ट र विचार नमिल्ने पृष्ठभूमिका राजनीतिकर्मीलाई पार्टी प्रवेश गराई टिकट दिएकाले लोकसभामा बहुमत गुमाएको हो ।

आरएसएस रिसाउँदा भाजपालाई पर्ने असर 

यहाँनेर उठ्ने महत्त्वपूर्ण प्रश्न हो कि आरएसएस रिसायो भने भाजपालाई कस्तो असर पर्छ ? प्रधानमन्त्री नरेन्द्र मोदीलाई केही फरक पर्छ कि पर्दैन ? कतिपयले यस्तो विश्लेषण गर्दैछन् आरएसएसले अब भाजपामा नेतृत्व परिवर्तनको प्रयत्न गर्ने छ । के त्यस्तो हुन्छ ? आखिर आरएसएस के चाहन्छ ?

आरएसएस र भाजपा नेतृत्वबीच असन्तुष्टि र घोचपेच भएको यो पहिलो पटक भने हैन । यी सङ्गठनबीच बेलाबेला यस्तो हुँदै आएको छ । त्यसका बाबजुद यिनले एकअर्कासँगको सम्बन्ध टुटाएका भने छैनन् ।

वैचारिक निकटताका बाबजुद भाजपाको आफ्नै विशाल राजनीतिक सङ्गठन र आन्तरिक शक्ति संरचना छ । आरएसएसले चाहँदैमा भाजपामा नेतृत्व परिवर्तन हुँदैन । आरएसएसले यसका लागि सुझाव, नैतिक दबाब वा वैचारिक पृष्ठपोषणसम्म दिन सक्दछ तर, हस्तक्षेप गर्ने वा नेतृत्व परिवर्तन गर्ने सामर्थ्य भने राख्दैन ।

हो, आरएसएसको असन्तुष्टि र आलोचनाले भाजपालाई कार्यशैली सुधार गर्न दबाब भने पर्दछ ।

सन् १९८० मा जनता पार्टीको विभाजनबाट भाजपा बन्यो । तर, सन् १९८४ मा पञ्जाब समस्या, इन्दिरा गान्धीको हत्या, देशको जटिल अवस्थाको कारण तत्कालीन सङ्घ प्रमुख बालासाहब देवरसले कांग्रेसप्रति सहानुभूति राखेका थिए । उनी र राजीव गान्धीबीच गोप्य भेटघाट हुन्थ्यो । त्यो चुनावमा कांग्रेसले ४१४ सिट हासिल गर्दा भाजपाले जम्मा २ सिट जितेको थियो ।

यति ठूलो जटिलताका बाबजुद आरएसएस-भाजपा सम्बन्ध बिग्रिएन, बरु त्यसपछिका दिनमा झनै मजबुत भयो । सन् १९९८ मा अटलबिहारी बाजपेयी नेतृत्वको सरकार हुँदासमेत सङ्घ प्रमुख के.एस. सुदर्शनसँग उनको ठाकठुक भइरहन्थ्यो ।

सन् २००४ मा भाजपाको हार हुँदासमेत आरएसएस नेताहरुले बाजपेयी र लालकृष्ण आडवाणीको अहङ्कारको हार भनेका थिए ।

यी घटनाले के देखाउँछ भने आरएसएस र भाजपाबीच अहम्‌को लडाइँ वा आन्तरिक शक्ति सङ्घर्ष भइरहन्छ । त्यसले सम्बन्धमा निर्णायक परिवर्तन भने ल्याउँदैन ।

प्रधानमन्त्री नरेन्द्र मोदी आरएसएसलाई पूरै बेवास्ता गरेर हिँडिरहेका छन् भन्ने तर्कमा सत्यता देखिन्न । राममन्दिर प्राण प्रतिष्ठा समारोहमा सङ्घ प्रमुख मोहन भागवत् प्रधानमन्त्री मोदीसँगै अनुष्ठानमा सामेल देखिन्थे । मोहन भागवत् प्रधानमन्त्री मोदीका पछिल्ला कार्यशैलीप्रति असन्तुष्ट हुन सक्दछन् तर, त्यसले मोदीलाई तत्काल कुनै फरक पर्ने छैन ।

मोदीको राजनीतिक ओजमा जति फरक पार्नुपर्ने हो त्यो चुनावले नै पारिसकेको छ । उनी एकल बहुमतको दुई कार्यकाल पछि गठबन्धन सरकारको नेतृत्व गर्दै छन् । आगामी दिनमा मोदीले सामना गर्नु पर्ने राजनीतिक जटिलता आरएरएसको असन्तुष्टिको कारण हैन, लोकसभाभित्रको फेरिएको शक्ति सन्तुलनले तय गर्नेछ ।

आरएसएस र भाजपा नेतृत्वले आफूबीचका समस्या जुनकुनै बेला सजिलै सुधार्न सक्ने छन् । भाजपासँग जति नै ठूलो राजनीतिक सङ्गठन किन नहोस्, आरएसएसको शक्ति बिना यो अधुरो रहन्छ । वैचारिक होस् वा सञ्जाल र सामाजिक प्रभावको दृष्टिकोणले भाजपाका लागि आरएसएस सधैँ महत्त्वपूर्ण रहन्छ ।

आरएसएस जति नै रिसाए पनि यसका नेतासँग विकल्प छैन । उसले तत्काल अर्को यति ठूलो राजनीतिक क्षेत्रको भातृ सङ्गठन खडा गर्न सक्दैन । यो दोहोरो स्वार्थले यी दुई ‘मातृ’ र ‘भातृ’ सङ्गठनबीचका समस्या र असन्तुष्टिलाई फिक्का बनाइदिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved