पेरिस पारालिम्पिकमा भरत ‘वाइल्ड कार्ड’मार्फत् प्रवेश

नेपालभ्युज

पेरिस पारालिम्पिकमा भरत ‘वाइल्ड कार्ड’मार्फत् प्रवेश

काठमाडौं। पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले पेरिस पारालिम्पिक-२०२४ खेल्ने भएका छन् ।

फ्रान्समा हुने पेरिस पारालिम्पिकमा भरत वाइल्ड कार्ड कोटामार्फत् छनोट भएका हुन्। । विश्व तेक्वान्दोले मंगलबार पत्र पठाइ भरतको सहभागिता निश्चित भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

भरतले पारालिम्पिकमा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यो तौल समूहमा जम्मा १२ खेलाडी रहने छन् । छनोट हुने भरत अन्तिम खेलाडी हुन् ।

वरीयताका आधारमा ६ खेलाडी तथा बाँकी ५ खेलाडीले छनोट चरण पार गरी सहभागिता सुनिश्चित गरिसकेका थिए ।

दार्चुला अपिहिल गाउँपालिका वडा ८ का २७ वर्षीय भरत विगत १८ महिनादेखि राष्ट्रिय टिममा रहेर प्रशिक्षण गर्दै आइरहेका छन् । भरतसँग हालसम्म २ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ ।

उनले चीनको ताइयानमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा जेठ ६ गते भएको नवौं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुगेका भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग चुकेका थिए । उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१औं स्थानमा पुगेका थिए ।

त्यसअघि उनी वरीयताविहीन थिए । भियतनाममा पनि भरतले एसियाली छनोटकै नतिजा आत्मासात् गरेका थिए । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका भरत दोस्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिएका थिए ।

भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयताको ५८ औं स्थानमा उक्लिएको प्रशिक्षक लामाले जानकारी दिए । अहिले पनि भरत ५८औं स्थानमा कायम छन् ।

पारालिम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको संख्या २ पुगेको छ । पलेशा गोवर्धन यसअघि नै छनोट भइसकेकी छन् । पलेशा भने छनोट चरण पार गर्दै छनोट भएकी हुन् ।

चीनको ताइयानमै भएको एसियाली छनोटको के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन् ।

चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा छनोट चरण पार गरेर पारालिम्पिकमा खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved