सांसदहरूका अनौठो व्यवहार : चाबी बुझाउनेदेखि ‘रोस्ट्रम कब्जा’सम्म !

सांसदहरूका अनौठो व्यवहार : चाबी बुझाउनेदेखि ‘रोस्ट्रम कब्जा’सम्म !

काठमाडौं । संसद् मूलतः बोल्ने ठाउँ हो । त्यसैले यहाँ तर्क वितर्क चलिरहन्छन् । आफ्नो तर्क र अभिव्यक्तिलाई रोचक बनाउन कतिपय सांसदहरूले विभिन्न सिर्जनात्मक तरिका पनि अपनाउने गरेका छन् ।

तर बोलेर मात्रै होइन, कतिपय सांसदहरूले आफ्नो अभिव्यक्तिलाई दर्ज गराउन फरक तरिका पनि अपनाउँछन् । अनौठो व्यवहार देखाउँछन् । मुख होइन, हात चलाउँछन् । कहिलेकाहीँ केही चलाउँदैन्, मौन बसिदिन्छन् ।

२०१६ सालदेखि केही महिना चलेको संसदीय अभ्यास, २०४८ सालदेखि करिब ११ वर्ष चलेको संसदीय अभ्यास, २०६३/६४ को अन्तरिम व्यवस्थापिकामा भएका अभ्यास र २०६५ यता संविधान सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभामा सांसदहरूले कैयौँ अनौठा हरकत गरेको पाइन्छ ।

२०५० सालमा राष्ट्रिय सभाका एमाले सांसद गोल्चे सार्कीले मन्त्री रामचन्द्र पौडेलमाथि झापड प्रहार गरेका थिए । २०६८ सालमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिका सांसद सञ्जयकुमार साहले तीन वटा माइक भाँचिदिएका थिए । यस्ता व्यक्तिगत हरकत मात्रै होइन, पार्टीगत र समूहगत रुपमा सांसदहरूले सदनलाई रणमैदान पनि बनाएका छन् ।

२०५० देखि २०८१ सम्म : यी हुन् संसद्लाई ‘रणमैदान’ बनाइएका ६ सन्दर्भ

तर यहाँ पछिल्ला दुई संसद्‌मा सांसदहरूले व्यक्तिगत रुपमा देखाएका केही अनौठा शैलीको चर्चा गरिएको छ ।

सभामुखलाई ताला-चाबी
प्रतिनिधि सभाको २०७९ जेठ १४ गतेको बैठक । नेकपा एमालेद्वारा हुने गरेको संसद् अवरोधलाई व्यंग्य गर्दै माओवादी केन्द्रका सांसद गजेन्द्र महतले सभामुखलाई चाबी बुझाएका थिए । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रतिपक्षीको व्यवहारले बोल्न पाइने वा नपाइने चिन्तामा बताए । उनले एमाले अध्यक्ष ओलीले धित मरुञ्जेल तीन घण्टा गाली गर्ने गरेको र धित मरेपछि अवरोध गर्ने गरेको बताएका थिए । अर्थात् ओलीले संसद्‌मा ताला लगाउन खोजेको बताए ।

उनको भनाइ थियो, ‘(संसद्लाई) ताला लगाउन खोज्नुहुन्छ । त्यसो हुनाले मैले ताला र चाबी ल्याएको छु । तपाईंहरु धीत मरुञ्जेलसम्म बोल्नुहोला । त्यसपछि हामी बोल्ने बेला ताला चाबी लगाइदिनुहोला । र जतिबेला बोल्न मन लाग्छ, आउनुहोला र यो ताला चाबी खोल्नुहोला अनि बोल्नुहोला ।’

रोस्ट्रमबाट बोलिरहेका उनले उनले त्यतिबेला हातमा ताला र चाबी झुण्ड्याएका थिए । र त्यसलाई सभामुलाई बुझाएको बताए ।

भीम रावलद्वारा ‘रोस्ट्रम कब्जा’
२०७९ साउन ४ गतेको प्रतिनिधि सभा बैठकमा एमालेका सांसद भीम रावल ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिन रोस्ट्रममा पुगेका थिए । केही विषय त्यसबारेमा बोलेर उनी अर्को विषयतिर लागे- अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) ।

एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाउने भनेर मन्त्रिपरिषद्ले निर्णय गरे पनि पत्र नपठाइएको भन्दै उनले असन्तुष्टि जनाए । सरकारलाई अप्ठ्यारो परेको हुनसक्ने भन्दै उनले सदनले सरकारलाई सहयोग गर्नुपर्ने र त्यसका लागि सभामुखले रुलिङ गर्नुपर्ने बताए । रुलिङ भएर सरकारले पत्र लेख्नुपर्ने र त्यसको जानकारी संसद्‌लाई आउनुपर्ने भन्दै उनले रोस्ट्रममा मौन बस्न थाले ।

सभामुखले ध्यानाकर्षण भएको, मन्त्रीले जवाफ दिने र समय सकिएको बताउँदा पनि रावलले रुलिङ हुनैपर्ने अडान लिए । यसबीचमा एउटा विषयमा छलफल चलिरहँदा अर्को विषयमा बोलेको भन्दै सांसदहरूले नियमापत्ति गरे । माइकको लाइन काट्न आग्रह गरे । तर रावलले अडान छाडेनन् । रोस्ट्रम कब्जा छोडेनन् । बरु सभामुखसँगै सवालजवाफ गरिरहे । अन्ततः बैठक १५ मिनेटका लागि स्थगित गरियो ।

रामहरि खतिवडाले रोस्ट्रममै छाडे पाँच रुपैयाँ
२०८१ असार ४ गते (मंगलबार) । प्रतिनिधि सभामा जारी मन्त्रालयगत बजेट विनियोजनमाथिको छलफलमा कांग्रेस सांसद रामहरि खतिवडा भाग लिँदै थिए । आफ्नो सम्बोधनको अन्तिमतिर उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केन्द्रित भएका थिए । मन्त्री रघुवीर महासेठलाई लक्षित गर्दै उनले भने, ‘जनकपुर (धनुषा)को (क्षेत्र नम्बर) ४ बाट उहाँले जित्नुभएको छ । क्षेत्र नम्बर ३ बाट उहाँकै नाता (महासेठकी श्रीमतीसमेत रहेकी एमाले सांसद जुली महतो) कसैले जित्नुभएको छ भन्नु सुन्नमा आएको छ । १६५ क्षेत्रमध्ये बाँकी क्षेत्रमा छुट्याएको पैसा पनि त्यही दुइटा क्षेत्रमै लैजानुस् ।’

उनले ती क्षेत्रमा आठ अर्ब हालिएको भन्दै नपुग्ने भए आफूहरूको जिल्लाको रकम पनि त्यतै पठाइदिने बताए । उनले पाँच रुपैयाँको नोट देखाउँदै भने, ‘अन्य ठाउँको रकम पनि उहाँकै निर्वाचन क्षेत्रमा हालियोस् । र उहाँलाई पुग्दैन भने रु पाँच कटौती होइन, थप्ने प्रस्ताव ल्याएको छु । यो पनि उहाँको क्षेत्रमा राखियोस् ।’

त्यति भनेर उनले उक्त नोट रोस्ट्रममै छाडेर हिँडेका थिए ।

अमरेशकुमार सिंहले सदनमै खोले कपडा
प्रतिनिधि सभाको २०८० वैशाख २५ गतेको बैठक सुरु हुनासाथ ‘आकस्मिक समय’मा बोल्नका लागि केही सांसदहरू उठे । तिनै मध्येका एक थिए स्वतन्त्र सांसद अमरेशकुमार सिंह । तर सभामुखले भने त्यस दिन विशेष समय नराखेको भन्दै नियमित कारबाहीमा प्रवेश गर्ने बताए । त्यसका लागि सहयोग गर्न आग्रह गरे । केही सांसद बसे । तर सिंह भने तर्क गर्न थाले । सभामुख भने बसेर बैठक चलाउन सहयोग गर्न आग्रह गर्न थाले । उनले नियमावलीलाई ख्याल गर्न सचेत गराए ।

यसैबीच उनले शून्य समयको समय प्रारम्भ भएको जानकारी गराए । तर सभामुख बोलिरहँदा सांसद सिंह भने कपडा खोल्न थालेका थिए । उनी केही बेर रोकिए र पुनः तर्क गर्न थाले । तर समय नपाउने निश्चित नभएपछि उनले आफूले लगाएको सर्ट र गञ्जी खोल्न थाले । लगत्तै उनी अर्धनग्न भए ।

सभामुख भने नियमावली सम्झाउन थाले । उनले भने, ‘तपाईं अशिष्ट, अपमानजनक व्यवहार गर्दै हुनुहुन्छ। नियम ३० को आधारमा चेतावनी दिन चाहन्छु। असभ्य व्यवहार नगर्नुहोस्। सभ्यताका साथ नियमअनुसार रहनुहोस् ।’

यतिञ्जेल अन्य थुप्रै सांसदहरू उठिसकेका थिए । पछि सिंहले सर्ट लगाए । र बैठक अगाडि बढ्यो । लगत्तै सुरु भएको शून्य समयमा बोलेका एमालेका अच्युतप्रसाद मैनालीले सांसद सिंहको स्वास्थ्य जाँच गराउन माग गरेका थिए ।

राजेन्द्र लिङ्देनले च्याते बजेट पुस्तिका
प्रतिनिधि सभाको २०८१ असार ४ (मंगलबार) को बैठकमा राप्रपाका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देन ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न रोस्ट्रम पुगेका थिए । सुरुमै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको बजेट विनियोजनप्रति असन्तुष्टि जनाएका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको (बजेट विनियोजन) पुस्तिका हातमा परेपछि आफु तातिएको उनको भनाइ थियो । भनेका थिए, ‘यसरी तातिएको छु कि यसरी च्यातेर (विनियोजन पुस्तिका च्यात्दै) यसरी हुर्‍याउने मन छ । तर यो संसदीय मर्यादाविपरीत हुन्छ भनेर, कहाँ हुर्‍याउने हो, त्यहाँचाहिँ नहुर्‍याएर यहाँ (रोस्ट्रममा) राख्छु’, उनले भने ।

उनले आफूले च्यातेको पुस्तिका रोस्ट्रममै राखे ।

उमा रेग्मीले च्यातेकी थिइन् नियमावली
स्थानीय पूर्वाधार विकास कार्यक्रमको नियमावली २०७५ मा केही विवादास्पद प्रावधान थियो । आर्थिक वर्ष २०७५/७६ को बजेटमा सरकारले स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा चार करोड बजेट दिएको भए पनि खर्च गर्न पाउने अधिकारमा भने प्रत्यक्ष निर्वाचित सांसदलाई विशेष अधिकार थियो ।

नियमावलीमा कार्यक्रम परामर्श समिति बन्ने र त्यसमा प्रत्यक्ष निर्वाचित सांसद संयोजक हुने उल्लेख थियो । समानुपातिक सांसद, राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका प्रदेश सभा सदस्य (प्रत्यक्ष र समानुपातिक), जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका प्रमुखहरू सदस्य बन्ने उल्लेख थियो । संयोजककै संयोजकत्वमा कार्यक्रम निर्देशन समिति बन्ने पनि उल्लेख थियो । समितिको बैठकको निर्णय सर्वसहमतिबाट हुने र सर्वसहमति हुन नसकेमा संयोजक (प्रत्यक्ष निर्वाचित सांसद)को निर्णय नै अन्तिम हुने नियमावलीमा उल्लेख थियो ।

यस्तो प्रावधानलाई समानुपातिक सांसदहरूमाथि दोस्रो दर्जाको व्यवहार भएको समानुपातिक सांसदहरूको आरोप थियो । सोही अनुसार, २०७५ फागुन ८ गते प्रतिनिधि सभा बैठकमा बोल्ने समानुपातिक सांसदहरूले चर्को आलोचना गरेका थिए । तर कांग्रेस सांसद उमा रेग्मीले भने सबै समानुपातिक सांसदको तर्फबाट भन्दै नियमावलीको पुस्तिका निकाल्दै च्यातिदिएकी थिइन् । पहिलो पटक हातबाट फुत्किए जस्तो भएको नियमावली पुस्तिकालाई उनले दोस्रो प्रयासमा च्यातेकी थिइन् ।

सांसदहरूको मौन धारण
कुनै विषयमा आफ्नो असहमति व्यक्त गर्न सांसदहरूले मौनधारण गर्ने गरेको घटनाचाहिँ बारम्बार दोहोरिने गरेको छ । यही प्रतिनिधि सभामा पनि यस्ता घटना पटकपटक भइसकेका छन् ।

२०७९ चैत २४ गतेको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद हरि ढकाल तथा २०८० कात्तिक १६ को बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले शून्य समयमा बोल्ने पालो पाएका थिए । हरि ढकालले सुरुमा सभामुखलाई सम्बोधन गरे र केही बेर मौन रहे । अनि शून्य समयमा बोलेका विषयलाई सरकारले नसुकेकाले आफू मौन रहेको सुनाए । गौतम भने पूरा एक मिनेट नै मौन रहे । त्यसपछि अर्की सांसद हर्कमाया विश्वकर्माले समय पाइन् । गौतमले आफ्नो मौनताका विषयमा तत्काल केही खुलाएनन् ।

त्यस्तै, २०७९ माघ ५ गतेको प्रतिनिधि सभा बैठकमा सभामुख निर्वाचित गराइयोस् भन्ने प्रस्तावमाथि छलफल चलिरहेको थियो । त्यसका लागि रोस्ट्रममा पुगेका जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेस आन्दोलन सम्झिए । उनले बलिदानी दिवसलाई राष्ट्रव्यापी रुपमा मनाइनुपर्ने, मधेस आन्दोलनका सहिदलाई सदनले पनि सम्मान दिनुपर्ने बताए । अनि बलिदानी दिवसका अवसरमा संसद्‌भित्र मौन धारण गर्न चाहेको र सबै पार्टीका नेताहरूलाई उठेर साथ दिन आग्रह गरे । त्यसक्रममा प्रायः सांसद तथा मन्त्रीहरू उठेका थिए । प्रधानमन्त्री प्रचण्ड भने उठेका थिएनन् ।

२०८१ असार ४ (मंगलबार) को प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै रोस्ट्रमबाट मौन धारण गरे । नयाँ नक्सा (चुच्चे नक्सा)ले समेटेका क्षेत्रहरूमा जानका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यतालाई मन्त्री रघुवीर महासेठले नबुझेको उनको भनाइ थियो । २०७७ सालबाट तुसारपानी, कोशेधार तिंकर सडक निर्माण सुरु गरिएको तर आगामी वर्षको बजेटमा नसमेटिएको भन्दै उनले असन्तुष्टि जनाए । उनले त्यस क्षेत्रको उपेक्षा भएको भन्दै एक मिनेट मौन धारणा गर्न चाहन्छु भन्दै मौन भएर उभिए । उनले एक मिनेट मौन धारणा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved