कवाड व्यवसायीमाथि भएको प्रहरी दमनको सदनमा विरोध

नेपालभ्युज

कवाड व्यवसायीमाथि भएको प्रहरी दमनको सदनमा विरोध

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा प्रहरीले दमन गरेको विषयमा प्रतिनिधि सभामा असन्तुष्टि व्यक्त भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रहरी दमनको विरोध गरेका हुन् ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मंगलबार शान्तिपूर्ण आन्दोलन गर्दा एकाएक लाठी चार्ज भएको बताए । उनले रंगभेद र जातीय भेद राखेर दमन गरिएको आरोप समेत लगाए । ‘बानेश्वरमै एउटा वर्गको आन्दोलन हुँदा पानीको फोहोरा फालिन्छ । तर मधेसको मान्छे काठमाडौंमा देख्नै नहुने सरकारको कस्तो रणनीति हो ?’, उनको प्रश्न थियो ।

सिंहले दमनका कारण दर्जनौँ घाइते भएको पनि बताए । कैयौँ घाइते भएर ट्रमा सेन्टर भर्ना गरिएको, रगताम्य भएको र सयौंको चप्पल भाग्ने क्रममा छुटेको उनको भनाइ थियो । सिंहले भने, ‘म माग गर्न चाहन्छु, उनीहरूको उपचार निशुल्क होस् ।’

काठमाडौं महानगरपालिकाले रिङरोडभित्रका कवाड हटाउने निर्णय लिएको थियो । त्यसक्रममा उसले जबर्जस्ती टहरा भत्काइदिएको भिडिओ पनि सार्वजनिक भएका छन् । तर पाटन उच्च अदालतले कवाड संकलकका संरचनामा क्षति नपुर्‍याउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर काठमाडौं महानगरपालिकाले अदालतको आदेश समेत नमानेको भन्दै प्रदर्शनकारी आक्रोशित भएका छन् ।

सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेश समेत नमानेको भन्दै जर्मनीका तानाशाह हिटलरसँग तुलना गरेका थिए । ‘दुनियाँमा पपुलिजमको नाममा तानाशाही जन्मेका छन् । हिटलर पनि निर्वाचित भएर आएका थिए । तर उनको कारण जर्मनीको कुन हाल भयो ?’, सिंहको प्रश्न थियो, ‘बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो ? वर्ग विभेदबाट चल्न खोजेको हो ? पपुलिजमको आडमा न्याय समाप्त गर्न खोजेको हो ?’

उनले विभेदको अन्त्य गर्न भन्दै जनयुद्ध गरेर आएको स्मरण गराउँदै उनकै सरकारमा गरिब देशमा बस्न नहुने ? भन्दै प्रश्न गरे ।

उनले जहाँ काम हुँदैन, त्यहाँ फोहोर थुपार्न स्वयं मेयर बालेनले सिकाएको (सडक विभागअगाडि फोहोर थुपारेर) भन्दै उनले कवाड संघलाई सबै फोहोर काठमाडौं महानगरपालिका र बालेन शाहको घर अगाडि फालिदिन आग्रह पनि गरे । ‘त्यसका लागि हामी साथमा छौँ’, उनले भने, ‘किनभने उहाँले नै हो यस्तो गर्न सिकाएको ।’

सिंहले कवाड व्यवसायीको आन्दोलनमा आफूहरू साथमा रहेको भन्दै फेरि पनि दमन भएमा आफूहरू पनि सडकमा सँगसँगै उभिने बताए ।

आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले पनि कवाड व्यवसायीको आन्दोलनको पक्षमा बोलेका थिए । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनु नेपाली जनताको संवैधानिक र लोकतान्त्रिक हक भएको स्मरण गराएक थिए ।

‘तर हिजो कवाड व्यवसायीहरूको शान्तिपूर्ण धर्नामाथि प्रहरीले निर्मम लाठी प्रहार गरेको छ । एक दर्जन गम्भीर घाइते भएका छन्, समग्रमा झन्डै ५० घाइते भएका छन्’, उनले भने, ‘यसरी देशको राजधानीमै संवैधानिक हकको ठाडै उल्लंघन भएकाले हामी गृहमन्त्रीको जवाफ चाहन्छौँ, तपाईंले शान्तिपूर्ण जुलुसमा किन लाठी प्रहार गर्नुभयो ?’

उनले दमनमा संलग्न प्रहरीमाथि कारबाहीको माग गरे ।

साहले अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिकाले डोजर आतंक गरेको पनि बताए ।

‘संविधानले नै भन्छ, हरेक नेपालीले कानुन अनुसार आफ्नो व्यवसाय गर्न पाउँछन् । अदालतले समेत समेत हस्तक्षेप नगर भनिराख्दा जबर्जस्ती लुटपाट र कुटपिट गरिन्छ, प्रताडित गरिन्छ । अनि कवाड व्यवसायीहरूले शान्ति सुरक्षा र अदालतको आदेशको पालना होस् भनेर जुलुस निकाल्दा, शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले गरेको हस्तक्षेपले लोकतन्त्रको मजाक देखापरेको छ’, शाहले भने ।

उनले सुरक्षा माग गर्ने लाचार व्यक्तिहरूमाथि लाठी प्रहार गरेर के सन्देश दिन खोजेको हो भन्ने प्रश्न गरे ।

उनले कवाड व्यवसायीमाथि भएको बल प्रयोगलाई सामान्य रुपमा लिइयो भने गल्ती हुने चेतावनी पनि दिए ।

महानगरको व्यवहारको आलोचना गर्दै उनले संघ सरकारको व्यवहार झन् दमनपूर्ण रहेको बताए । ‘महानगरपालिकाले कानुन हात लिएको छ । संघ सरकार पनि त्योभन्दा कम देखिएन’, उनले भने, ‘काठमाडौं भनेको साझा सहर हो । कसैले निजी भन्ने ठान्यो भने गल्ती हुन्छ ।’

उनले दिनदहाडै मानवअधिकार र लोकतान्त्रिक अधिकारको हनन भएको बताए । उनले घाइतेको उपचार खर्च बेहोर्न राज्यसँग माग गरे ।

कवाड व्यवसायीहरू गत फागुनदेखि नै आन्दोलनमा छ । महानगरको हस्तक्षेप बढेपछि उनीहरूले पछिल्लो समय पुनः आन्दोलन अगाडि बढाएका छन् । मंगलबार काठमाडौं महानगरपालिकाअगाडि भएको प्रदर्शनमा प्रहरीले दमन गरेको थियो ।

काठमाडौं महानगरविरूद्ध कवाड व्यवसायीको प्रदर्शन (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved