पहिलो पटक सहकारी मेला लाग्दै : रोजगारीदेखि करियर काउन्सिलिङसम्म 

नेपालभ्युज

पहिलो पटक सहकारी मेला लाग्दै : रोजगारीदेखि करियर काउन्सिलिङसम्म 

काठमाडौं । नेपालमै पहिलो पटक ‘प्रथम सहकारी रोजगार मेला – २०८१’ को आयोजना हुने भएको छ । राष्ट्रिय सहकारी महासंघले ‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने नाराका साथ असार ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागेको हो ।

महासंघले पत्रकार सम्मेलन गर्दै मेलाले रोजगारदाता र रोजगारीको खोजी गर्नेहरूकोबीच पुलको काम गर्ने बताएको छ । मेलाले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्न तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने जनाइएको छ ।

साथै मेलाले स्टार्टअपहरू र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किङको कार्य आयोजकको भनाई छ । सहकारी क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न संघ संस्थाले सञ्चालन गर्ने व्यावसायिक तालिमहरू, शैक्षिक कोर्सहरू र सीप विकास कार्यक्रमहरूको विषयमा जानकारी गराउँदै मानव संसाधन विकासमा समेत मेलाले योगदान गर्ने छ ।

देशभित्रै स्वरोजगारीका अवसरहरू सिर्जना गर्दै आएको सहकारी क्षेत्रका विषयमा युवालाई जानकारी गराई वैदेशिक रोजगारीको प्रवाह कम गरी उद्यमशीलता विकास गर्न समेत टेवा पुग्ने देखिन्छ । मेलाले समयमा नै जागिर सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत विवरण अनलाइनमार्फत भरी रोजगारीको अवसरको लाभ लिन सकिने भएकाले मेलाप्रति युवाको थप आकर्षण हुने अनुमान गरिएको छ ।

हाल ३१ हजार भन्दा बढी सहकारी संघ÷संस्थामार्फत १ लाख बढीलाई प्रत्यक्ष रोजगारी र लगभग १० लाखलाई स्वरोजगार सिर्जना गर्न सफल रहेको यस क्षेत्रको भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले महत्त्वपूर्ण योगदान गर्ने जनाइएको छ ।

तीन दिनसम्म चल्ने उक्त मेलाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नेछन् । मेला अवधिभर सहकारीका ठुलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुति, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का विज्ञद्वारा करियर काउन्सिलिङका सेसनहरू समेत निरन्तर सञ्चालन हुनेछन् ।

निःशुल्क प्रवेश गर्न सकिने मेलामा विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिब ५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।

मेलामा अवलोकनकर्ता तथा रोजगारी खोजीमा रहेको युवाहरूका लागि क्युआर कोड स्क्यानमार्फत रजिस्ट्रेसन गर्ने व्यवस्था मिलाइएको छ । मेलामा रोजगारदाताका ३५ स्टलहरू रहने छन् साथै सहकारीमार्फत उद्यमी बनेकाहरूका उत्पादनलाई समेत मेलामा स्थान दिइने जनाइएको छ । उक्त मेलाको कूल लागत १० देखि १५ लाख रुपैयाँ रहने आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved