तेस्रो वरीयताको कार्यकारी अध्यक्ष बन्ने घनश्यामको चाहना, कति छ सम्भावना ?

उनको यो अडान कहाँसम्म पुग्छ र कता सोझिन्छन्, त्यो देखिनै बाँकी छ तर, अहिलेलाई भने उनी एक जबरजस्त दाबेदारका रूपमा प्रस्तुत भएका छन् । उनले ‘ब्याक’ नहुने छनक दिइसकेका छन् । उसो त माधव-झलनाथले पनि अहिलेसम्म पछाडि हट्ने संकेत गरेका छैनन् ।

तेस्रो वरीयताको कार्यकारी अध्यक्ष बन्ने घनश्यामको चाहना, कति छ सम्भावना ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल पार्टीको नेतृत्व गर्न चाहन्छन् । आउँदो असार १६-२० काठमाडौंमा हुने पार्टीको दशौं महाधिवेशनबाट उनले अध्यक्ष हुन चाहेका छन् ।

उनले त्यहीअनुरूप तयारीसमेत थालेका छन् । राजनीतिक तथा साङ्गठानिक दस्तावेजमार्फत पार्टीमा आफ्नो विचार स्थापित गर्नसमेत उनले खोजेको देखिन्छ । दस्तावेज लेखनमा ‘हाबी’ भएका घनश्याम अब पार्टीको नेतृत्व गर्न तम्सिएका छन् ।

त्यसका लागि उनले मुख्यत: दुई सिनियर नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई अगाडिको वरीयतामा राखेर आफू तेस्रो वरीयताको कार्यकारी अध्यक्ष बन्ने प्रस्ताव पार्टीमा लगेका छन् ।

तर, माधव-झलनाथले यसमाथि कुनै प्रतिक्रिया दिइसकेका छैनन् । किन पनि भने उनीहरू दुवैजना आफैँ पार्टी अध्यक्षका आकाङ्क्षी हुन् । वर्तमान अध्यक्ष माधव एकै वर्ष भएपनि नेतृत्व आफूलाई सुम्पन भनिरहेका छन् भने झलनाथले अब आफ्नो पालो आएको ठहरसहित ‘उथलपुथल नै हुनसक्ने’ बताइरहेका छन् ।

सिनियर नेतालाई अघिल्लो वरीयतामा राखेर कार्यकारी अध्यक्ष हुन तयार छु, राजकीय पदमा दाबी गर्दिनँ : घनश्याम भुसाल (अन्तर्वार्ता)

यहीबेला त्यही पङ्क्तिमा जोडिएका हुन् पार्टी महासचिव घनश्याम भुसाल । उनले त्यसका लागि आफू तेस्रो वरीयताको अध्यक्ष हुन तयार भएको ‘मध्यमार्गी’ प्रस्ताव ल्याएका हुन् । उनले आफ्नो प्रस्तावमा यो पनि भनेका छन् कि कुनै राजकीय पदको अवसर पार्टीलाई प्राप्त भएमा त्यसमा आफ्नो दाबी रहने छैन ।

तर, पार्टी नेतृत्व भने आफैँलाई प्राप्त हुनुपर्नेछ । उनको यो अडान कहाँसम्म पुग्छ र कता सोझिन्छन्, त्यो देखिनै बाँकी छ तर, अहिलेलाई भने उनी एक जबरजस्त दाबेदारका रूपमा प्रस्तुत भएका छन् । उनले ‘ब्याक’ नहुने छनक दिइसकेका छन् ।

उसो त माधव-झलनाथले पनि अहिलेसम्म पछाडि हट्ने कुनै सङ्केत गरेका छैनन् । हुन त पछिल्लो संसदीय निर्वाचनबाट एकीकृत समाजवादी राष्ट्रिय पार्टीसमेत बन्न सकेन । प्रतिनिधि सभामा एकीकृत समाजवादीसँग प्रत्यक्षतर्फबाट निर्वाचित १० सांसद मात्रै छन् । तैपनि प्रधानमन्त्री भइसकेका माधव-झलनाथ सानै पार्टीको भएपनि अध्यक्ष नै हुनुपरेको छ ।

अझ उनीहरूले घनश्याम भुसाललाई ‘अध्यक्ष बन्न उचाइ पुगिनसकेको’ नेताका रूपमा अर्थ्याउन भ्याएका छन् । एकीकृत समाजवादीका एक पदाधिकारीले नेपालभ्युजसँग भने, “पार्टी अध्यक्षमा मुख्यगरी तीन नेताको नाम आइरहेको छ ।  त्यसमा पनि अध्यक्ष कमरेड र जेएन कमरेडलाई नै अध्यक्षका रूपमा हेरिएको मैले पाउँछु । महासचिव कमरेडलाई उहाँहरूले अध्यक्ष बन्ने बेला भइनसकेको रूपमा अर्थ्याएको सुनिएको छ ।”

घनश्याम नेतृत्व ‘सिफ्ट’का लागि आफूले अमर्यादित बन्न नपर्नेमा ढुक्क छन् । “हामीमाझ एउटा नेतृत्वमा पुगेपछि छाड्दै नछाड्ने, छोडाउनका लागि ठूलो विद्रोह गर्नुपर्ने, जबरजस्ती हटाउनुपर्ने, मर्यादाहीन तरिका अपनाउनुपर्ने संस्कार छ । मलाई के विश्वास छ भने त्यो नहोला । प्रणालीलाई व्यवस्थित गर्न र स्थिरताका लागि सबै नेता फरक भूमिकामा हुनु आवश्यक छ,” भुसालले नेपालभ्युजसँग भने ।

त्यसोभए एकीकृत समाजवादीको दशौं महाधिवेशनबाट भुसालले नेतृत्व पाउने सम्भावना कति छ ? लाग्दैन कि उनले सहज रूपमा पाउनेछन्, त्यसको सोझो अनुमान नेताद्वय माधव-झलनाथको आकाङ्क्षाको ‘ग्राफ’बाट पनि गर्न सकिन्छ ।

यो अवस्थालाई वाम विश्लेषक एवम् लेखक झलक सुवेदीले कजाख लेखक चिंगिज आइत्मातभको विश्वप्रसिद्ध उपन्यास ‘बुढो र घोडा’ को प्रसङ्गसँग जोड्छन् । उपन्यासमा लेखकले नयाँ तन्नेरी घोडाले कसरी बुढो घोडालाई लडेर जित्छ र बथानमा आफ्नो नेतृत्व स्थापित गर्छ भन्नेबारे विस्तारित चर्चा गरेका छन् । उपन्यासको गुल्सारी नामको घोडाले आफ्ना अग्रजबाट नेतृत्व खोसेको हुन्छ । विश्लेषक सुवेदको ठम्याइ छ कि घनश्याम गुल्सारी बन्ने सम्भावना बलियो छ ।

“एकीकृत समाजवादीको आन्तरिक शक्ति विन्यास कस्तोखाले छ, त्यसमा त स्पष्ट छैन । तर, सम्भावनाको कुरा गर्दाचाहिँ अहिले तीनजना नै उठेपनि वा माधव र घनश्याम मात्रै उठेपनि घनश्यामको सम्भावना बलियो नै देखिन्छ,” विश्लेषक सुवेदीले नेपालभ्युजसँग भने ।

नेतृत्व ‘सिफ्ट’ हुँदा त्यो पार्टीका लागि पनि राम्रै हुने उनको विश्लेषण छ । “यदि घनश्याम अध्यक्षका रूपमा आए भने त्यो पार्टीले गरेको नयाँ अपिल हुन्छ जुन, पुन: माधव नै दोहोरिँदा हुँदैन । अब माधव नै आएर फेरि केही हुने पनि होइन । उनीसँग केही सांसद बच्दै एकपटक पुन: प्रधानमन्त्री बन्नेबाहेक अरु आकाङ्क्षा पनि छैन । त्यो जनताले खोजेको होइन,” उनले भने ।

अर्का राजनीतिक विश्लेषक हरि रोका माधव-झलनाथको पुन: नेतृत्व हत्याउने अडान ‘पदसँगै स्वर्ग जाने आकाङ्क्षा’ भएको टिप्पणी गर्छन् ।

उनीहरू उमेरले पनि पाका र स्वास्थ्यका हिसाबले पनि कमजोर भएको उल्लेख गर्दै उनले नेपालभ्युजसँग भने , “सहज रूपमा नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्ने कुरा उहाँहरूले गर्नुपर्छ । उहाँहरू दुवैजना ७० भन्दा माथि हिँडिसक्नुभयो । अझै पनि नेतृत्व नछाड्नुचाहिँ आपत्तिजनक हो । पदसँगै माथि स्वर्ग जाने भन्ने कुरा नगर्दा पार्टीलाई पनि राम्रो हुन्छ । यदि अहिले नेतृत्व हस्तान्तरण भयो भने त्यसले राम्रो सन्देश पनि मिल्छ ।”

उसो त घनश्याम दलाल तथा अनुत्पादक पुँजीलाई नियन्त्रण गर्दै राष्ट्रिय औद्योगिक पुँजीको विकास गरेर समाजवादको यात्रामा निस्किने कम्युनिष्ट पार्टी बनाउने उद्घोष गर्दै आएका नेता हुन् । निरन्तर बहस तथा लेखपढ गरिरहने हुनाले पनि उनीसँग पार्टीभित्रको एउटा हिस्सा मात्रै होइन, शहरीया तथा ‘एलिट’ वर्गको एउटा इकाइ पनि साथमा छ । अब यो मेसोलाई उनले कसरी अगाडि बढाउँछन्, हेर्न बाँकी छ ।

कुरा यति, माधव-झलनाथले घनश्यामकै प्रस्तावअनुरूप सहज रूपमा नेतृत्व सुम्पिँदा समग्र राजनीतिक वृत्तमा नै एउटा गजबको सन्देश जान्छ, त्यसको ‘वेब’ अरु कम्युनिष्ट पार्टीहरूमा मात्रै सीमित रहँदैन, नेपाली कांग्रेसजस्तो प्रजातान्त्रिक शक्तिसम्मै पुग्छ । र, त्यसो हुनु भनेको राष्ट्रिय राजनीतिको एउटा बहसको निष्कर्ष निस्किनु हो, नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको प्रश्नले एउटा जवाफ पाउनु हो ।

यो पनि पढ्नुहोस्
तानावाइको गुल्सारी र घनश्याम भुसाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved