खेल समर्थकबाट रचनात्मक आलोचनाको अपेक्षा छ : विनोद दास (अन्तर्वार्ता)

खेल समर्थकबाट रचनात्मक आलोचनाको अपेक्षा छ : विनोद दास (अन्तर्वार्ता)

काठमाडौं । १० वर्षपछि नेपालले टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्‍यो । समूह ‘डी’मा नेपाल, नेदरल्याण्ड्स, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका थिए । नेपालले खेलेको तीन खेलमा पराजित हुँदा एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

विश्वकप जारी भए पनि नेपालको यात्रा भने टुंगिसकेको छ ।

सुरुवातमा नेदरल्याण्ड्ससँगको हारपश्चात् श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भयो । दक्षिण अफ्रिका र बंगलादेशसँगको खेलमा नेपाल पराजित भयो । अन्तिम दुई खेलमा जित नजिक पुगे पनि सफल हुन सकेन ।

दक्षिण अफ्रिकाको खेलमा जित हासिल गरेको भए नेपालको सुपर ८ पुग्ने सम्भावना बलियो हुन्थ्यो । तर, १ रनले पराजित भएपछि इतिहास रच्ने अवसर गुम्यो । बंगलादेशसँगको उत्कृष्ट बलिङ तर कमजोर ब्याटिङले गर्दा सान्त्वाना जित निकाल्ने अवसर पनि नेपालले गुमायो ।

कतिले टेस्ट राष्ट्रविरुद्ध नेपालले राम्रो प्रदर्शन गर्‍यो, चुनौती दियो, आफ्नो शतप्रतिशत प्रस्तुति दियो भन्ने जस्ता अभिव्यक्ति दिए । कतिले त नेपालको विश्वकपमा पुगेर खेलेको प्रदर्शन स्वीकार्य भएन भनेर पनि टिकाटिपणी गरे ।

सामाजिक सञ्जालमा मुख्य प्रशिक्षक र कप्तानले राजीनामा दिने बेला भयो भन्ने चर्चा पनि चल्यो । यसमा पनि समर्थकहरूको भिन्नभिन्न टिपणी रह्यो । कसैले त ‘वीरेन्द्र सेवागलाई मुख्य प्रशिक्षक बनाउनुस्, तलब हामी पैसा उठाएर तिरौँला’ जस्ता कमेन्ट पनि लेखे ।

यी सबै नकारात्मक तथा सकरात्मक भनाइपछिको कारण थियो- नेपाली टोलीले देखाएको आशा र नेपाली समर्थकको पूरा गर्न नसकेको अपेक्षा । विश्वकपको चार खेलमा नेपाली समर्थक भावनाका विभिन्न चरण पार गर्दै अघि बढे । यसकारण पनि यस्तो भनाइहरु आएको हुन सकिन्छ ।

यस विश्वकपमा पाएको ताली र गाली, माया र आलोचना तथा साथ र सुझावका बीच नेपाली टोलीको प्रदर्शन कस्तो रह्यो भनेर हामी राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट म्यानेजर विनोद दाससँग कुराकानी गरेका छौँः

नेपाली टोलीको प्रदर्शनको समीक्षा हुन बाँकी

जित र हारभन्दा पनि हामीले त्यहाँ गएर कसरी खेल्यौँ भन्ने कुरा हो । विश्वकपमा १० वर्षपछि गएका हौँ । त्यहाँ गएर हामीले कुन पक्षमा राम्रो र कुनमा नराम्रो गर्‍यौँ भन्ने कुरा छलफल गरेर थाहा पाइने कुरा हो । यसबारे औपचारिक समीक्षा हुन बाँकी नै छ ।

नेपालको प्रदर्शनमा दोष ब्याटिङको कि परिस्थितिको ?

परिस्थितिको पनि कुरा आउँछ । हामी ब्याटिङमा चुक्यौँ भन्दा पनि अरु टोलीलाई पनि त्यतिकै गाह्रो भएको हो । हाम्रो टोली मात्र होइन कि सबै टोलीले ‘स्ट्रगल’ गरेको देखिएको छ । त्यसैले ब्याटिङमा मात्रै होइन, सबै पक्षलाई हेरेर कुरा गरेर निष्कर्षमा पुग्न ठीक होला । जित्न लागेको खेलमा जित्न नसक्दा, ब्याटिङ नचलेको जस्तो लाग्न सक्छ । तर, कुनै पनि टोलीको ब्याटिङ चलेको थिएन । किनभने परिस्थिति नै त्यस्तो थियो । विकेटहरु त्यस्तै थिए । जितेनौँ भन्ने कुरा सत्य हो । तर त्यसपछिको कारण थाहा पाउन गहन रुपमा अध्ययन गर्नुपर्ने छ । अहिलेको अवस्थामा बाहिरी रुपमा ब्याटिङलाई मात्रै  कारण मान्नु सान्दर्भिक नहोला ।

नेपाली क्रिकेटको दिगो विकासका लागि लगानीको खाँचो 

नेपाली क्रिकेटको दिगो विकासका लागि भने पूर्वाधारमा लगानी गर्न अति आवश्यक देखिन्छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र बल्ल खेल्न योग्य भएको मूलपानी क्रिकेट मैदानको भरमा नेपालको क्रिकेट कहिलेसम्म धानिन्छ भन्न कुरा छ । जहाँ हामीले क्लब ग्राउन्डको परिकल्पना गर्दैछौँ । विगत ६–८ वर्षदेखि फ्लड लाइटको करा गर्दैछौँ । तर, राख्न सकेका छैनौँ । यस्तो थुप्रै समस्या छन्, जुन क्यान वा एउटा खेलकुद प्रशासनभन्दा बाहिर हुने गर्छ । नेपाल सरकार तथा अन्य सरोकारवालाहरूले जबसम्म हातेमालो गर्न सक्दैनन्, तबसम्म क्रिकेटको स्तरोन्नत्ति अपेक्षा गर्न गाह्रो हुुन्छ ।

दक्षिण अफ्रिका विरुद्धको खेलपश्चात् विश्वको ध्यानाकर्षण

सबैजनाले नेपालले राम्रो क्रिकेट खेल्छ भनेर महसुस त गरे । तर, यसपछि के त? भन्ने प्रश्न आउँछ । ठूलो टोलीले हामीलाई बोलाएर खेलाउँछ भन्नु टाढाको कुरा हो । समर्थकहरु छन् तर, राजस्वको पनि त कुरा आउँछ । यस्तै कम वरीयताको टोलीसँग खेलेर खासै फरक पर्ने पनि त होइन ।

जबसम्म आफ्नो भौतिक संरचना बलियो बन्दैन, तबसम्म एकपटकको यस्तो ‘एक्सपोजर’ले खासै धेरै परिवर्तन लिएर आउँदैन । किनभने योभन्दा धेरै अगाडि पनि धेरै राष्ट्रले विश्वकपमा गएर आफ्नो नाम स्थापित गरिसकेका थिए ।

केन्या र बरमुडा पनि विश्वकपमा पनि पुगेका थिए । यस्ता धेरै उदाहरणहरू छन्, जसले विश्वकपमा पुगेर राम्रो प्रदर्शन गरेका थिए । तर, यी सबै अवस्थालाई हेर्दा यसले दीगो विकासमा धेरै ठूलो भूमिका नखेलेको देखिन्छ । विश्वकपमा पाएको उपलब्धिलाई हेरेर यदि हामीले हाम्रो मैदानको स्तर, संख्या र अवस्थामा सुधार गरेर ठूलो टोलीहरुलाई नेपालमा ल्याएर खेलाउन सक्यौँ भने बल्ल हामी यसलाई दिगो विकासमा पुर्‍याएको योगदानको रुपमा हेर्न सक्छौँ । अहिलेको अवस्थामा हामीले ठूलो टोलीसँग खेल्यौँ, चुनौती प्रस्तुत गर्‍यौँ । अब संस्थागत विकास गर्नुपर्ने देखिन्छ । अर्थात् घरेलु संरचना बलियो बनाउनुपर्ने हुन्छ ।

दक्षिण अफ्रिकाविरुद्धको खेलपछिको अन्तिम खेल

हरेक अवसर एउटा नयाँ अवसर हो । हरेक दिन तपाईंले स्क्रयाचबाटै सुरु गर्नुपर्ने हुन्छ । दक्षिण अफ्रिकासँगको खेलमा पराजित भएपछि अर्को खेल अर्को अवसर भएको टोलीले याद गरी हाल्नुपर्ने थियो । जुन टोलीले गर्‍यो । बंगलादेशसँगको खेलमा दुवै बलिङ र ब्याटिङमा चुनौती दिन सफल भयो । हामीले खेलेको तीन वटै खेलमा जित्ने क्षण सिर्जना गरेका थियौँ । हामीले हाम्रो बेस्ट दिएको नै हो । तर, दुर्भाग्यवश हाम्रो पक्षमा हुन सकेन । अब व्यवस्थापन, बोर्ड सदस्यहरु सबै बसेर सुक्ष्म समीक्षा गरिन्छ ।

नेपाली टोलीले दिएको सन्देश

हामीले प्रतिस्पर्धा गर्‍यौँ । अर्को टोली आएर हामीलाई ‘पुस ओभर’ गरेर गएकोजस्तो स्थिति सिर्जना भएन । त्यसमा हामीले गर्व गर्नुपर्छ । किनभने विश्वकपको स्टेज सहज भने पक्कै हुँदैन । अरु टोलीले पनि उत्तिकै मेहेनत गरेर आएका हुन्छन् । त्यही भएर पनि हामीले खेलाडीहरुलाई सम्मान गर्न आवश्यक छ । त्यस्तो अवस्थामा पनि हामी किन त्यो ठाउँका लागि योग्य छौँ भनेर खेलाडीहरूले साबित गर्न सफल भए ।

हो, हामीले खेलहरु जित्ने ठाउँमै पुगेर पनि जित्न सकेनौँ होला । तर, त्यसमा हामीभन्दा पनि खेलाडीहरू धेरै दुःखी छन् । समर्थकहरु निराश हुनु स्वाभाविक हो । किनभने, जुन हिसाबले टोलीले खेलिरहेको थियो, त्यो हिसाबले खेल जित्नुपर्ने थियो । यसकारण पनि समर्थकहरूको निराशा ठीक हो । तर, खेलाडीहरूले त आफैं दुःख गरेर त्यहाँ पुगेका हुन् । खेलाडीहरूले प्रदर्शन गरेर पनि नतिजा दिन नसक्दा कति दुःखी भएका होलान् भन्ने सहजै सोच्न सकिन्छ ।

क्रिकेटमा सुधार ल्याउन हातेमालोको खाँचो

नेपालमा क्रिकेटको समर्थक नभएका होइनन् । आईसीसीले नेपाली क्रिकेटको पोष्टलाई दिनहुँजस्तो राख्नु र सामाजिक सञ्जालमा नेपाललाई प्राथमिकतामा राख्नुको कारण पनि नेपालमा क्रिकेटको बाक्लो समर्थक भएरै हो । तर, खाली नेपाली समर्थकको साथले नेपालमा क्रिकेटको दिगो विकास हुन्छ त भन्ने प्रश्न छ । जबसम्म हामी खेलाडीलाई आधारभूत सुविधा दिन सक्दैनौँ, तबसम्म क्रिकेटको दिगो विकासबारे प्रश्न पनि उठिरहन्छ ।

अहिले पनि हामीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल गर्दा, ४–६ घण्टाको खेलको दौरान हाम्रा दर्शकलाई शौचालयको सुविधा पनि छैन । यस्तो कुरामा प्रश्न उठ्छ, क्यानले ग्राउन्ड बनाएन भनेर । क्यानको त के कुरा, बीसीसीआईले नै अहिलेसम्म आफ्नो मैदान बनाउन सकेको छैन । ग्राउन्ड तथा स्टेडियमको काम जहिले पनि राज्यस्तरबाट हुने काम हो । यस्तो कुरामा सुधार ल्याउन अरु निकायले पनि हातेमालो गर्नु जरुरी छ ।

दिगो विकासको योजनासहित अघि बढ्न आवश्यक

यदि २०–२५ हजार मानिसलाई बोलाएर क्रिकेट देखाउन सक्यौँ, दर्शकलाई सेवा सुविधा प्रदान गर्न सक्यौँ र खेलाडीहरूलाई भविष्य सुनिश्चित गराउन सक्यौँ भने राम्रो सन्देश जानेछ । क्रिकेट अनुकूल वातारण आदि जस्ता तथ्य बुझाउन सक्यौँ भने क्रिकेटको दिगो विकासको अपेक्षा गर्न सकिन्छ । तर, अझै धेरै लामो बाटो तय गर्न बाँकी नै छ । यो भनेका क्यान र खेलाडीको हातमा मात्र पनि छैन । सरकार तथा कर्पोरेट सेक्टरको तर्फबाट समेत साथको आवश्यकता हुन्छ ।

पुरस्कार दिएर मात्रै क्रिकेट अगाडि बढ्दैन, सरकार वा कर्पोरेट क्षेत्रको लगानी हुनुपर्छ । त्यहाँ पुगेर विश्वकप खेल्यो भन्दैमा पुरस्कार घोषणा गरेर मात्र पनि हुँदैन । जसरी अभिभावकले आफ्नो छोराछोरीको पढाइको लागि लायक र अनुकूल वातावरण बनाइदिन्छन्, त्यसरी नै खेलाडीलाई अनुकूल वातावरण दिन सरकार, सरोकारवाला तथा अन्य संस्थाले गर्छन् भन्ने आशा छ ।

क्रिकेटमा लगानी गर्ने कुरा शब्दमा मात्र सीमित

नेपाली क्रिकेटमा लगानीका लागि बाटो बन्यो भन्ने अवस्था पनि छैन । मेरो विचारमा त अहिलेसम्म बाटो खन्न पनि सुरु भएको छैन । बाटो खन्न तब सुरु हुन्छ, जब हाम्रो घरेलु क्रिकेटको विकासमा आन्तरिक लगानीको विकास गर्छौँ । सरकारले स्टेडियम बनाउन लगानी गर्नुपर्‍यो । खेलाडीहरूको सुविधाको लागि प्याकेजहरु घोषणा गर्नुपर्‍यो । अहिले हाम्रो प्रधानमन्त्री कप हुन्छ, जसको खर्च करोडभन्दा माथि हुन्छ । जबकि सरकारबाट पाउने सहयोग रकम ५० लाख बराबर हुन्छ । यो सबै कुरालाई बुझेर जब लगानी सुरु हुन्छ, तब केही हुन्छ । अहिले पनि क्रिकेटमा लगानी गर्ने कुरा शब्दमा मात्र सीमित छ । अलिकति हाल्दिऔँ भन्नु र क्रिकेटमा लगानी गर्नुमा फरक छ । पूर्ण रुपमा लगानी नै गर्छु भनेर नआएसम्म सम्भावना भए पनि सीमितता भइरहन्छ ।

आलोचनालाई स्वागत, तर रचनात्मक आलोचनाको अपेक्षा

आलोचनालाई स्वागत गर्दछौँ । हामी सबैले एक अर्कालाई आलोचना गर्नु पर्छ । खेलाडीलाई पनि गर्नु पर्छ । तर, त्यो आलोचना रचनात्मक हुनु पर्छ । खेलाडीहरुलाई सम्मान दिन पनि आवश्यक छ । खेलाडीहरूलाई पनि बचाएर राख्नुपर्ने आवश्यकता हुन्छ । पटकपटकको आलोचनाले गर्दा खेलाडीलाई पर्न सक्ने नकारात्मक प्रभावलाई पनि ध्यान दिनुपर्ने हुन्छ । रिसाउँछन्, गाली गर्छन् तर खेलाडीहरूले मेहनत त गरिरहेकै हुन्छन् । र आफ्नो मेहनत खेर जाँदा उनीहरूलाई पनि चित्त दुख्छ । यस्तो गर्न सक्थ्यौँ भन्दै गर्दा खेलाडीहरूको मेहनतको पनि कदर गर्नुपर्छ । अपशब्दको प्रयोग हुँदा खेलाडीहरू मानसिक रुपले कमजोर हुन सक्छन् । एउटा अनुरोध यही हो कि आलोचना गर्नुस् तर खेलाडीलाई हतोत्साहित नगर्नुस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved