आलेख

अमेरिकी डलर विश्वभर यति धेरै लोकप्रिय र बलियो किन भयो ?

अन्य कुनै पनि देशका मुद्रा डलरलाई चुनौती दिने गरी छेउछाउ आएका छैनन् । आर्थिक र भूराजनीतिक शक्तिले हालैका वर्षमा अष्ट्रियाली डलर, स्वीडिस क्रोनर र भारतीय रूपैयाँजस्ता केही साना रिजर्भ मुद्रालाई बढाएका छन् । तर, यी मुद्रा विश्व वित्तमा अझै पनि साना खेलाडी हुन् ।

अमेरिकी डलर विश्वभर यति धेरै लोकप्रिय र बलियो किन भयो ?

अमेरिकी मुद्रा डलरको प्रभुत्व उल्टाउन अब पहिलेभन्दा पनि गाह्रो पर्नेछ । अमेरिकी अर्थात् यूएस डलर संसारभरि सजिलै मान्यता प्राप्त, व्यापक स्वीकार्यता भएको र उत्साहपूर्वक अपेक्षित मुद्रा हो ।

यसले अमेरिकालाई अन्तर्राष्ट्रिय मामिलामा शक्ति प्रदान गरेको छ भन्ने कोणबाट पनि आलोचना गरिन्छ । अमेरिकाले प्रतिद्वन्द्वीहरूविरुद्ध आर्थिक प्रतिबन्ध र सम्पत्ति रोक्का गर्न डलरलाई हतियारको रूपमा प्रयोग गर्दछ ।

यहाँसम्म कि अमेरिकाका साझेदार देशले समेत डलरमाथिको निर्भरता चकित पार्नेगरी बढाएका छन् । यसले तिनको अर्थतन्त्र र वित्तीय प्रणालीलाई अनपेक्षित रूपमा अमेरिकी नीतिहरूको मारमा पार्ने गर्दछ ।

त्यसैले यतिखेर अमेरिकाका प्रतिद्वन्द्वी र साझेदार दुवै डलरको प्रभुत्व समाप्त पार्न चाहन्छन् । ती आफ्नै र वैकल्पिक मुद्रा प्रवर्द्धन गर्न उत्सुक छन् । र, अमेरिकाले पनि यस काममा तिनलाई सक्दो मद्दत गरिरहेको छ ।

अमेरिकी अर्थतन्त्रसँग अब विशाल क्षमता बाँकी रहेन । यसको सार्वजनिक ऋण बढ्दो छ र भयङ्कर ठूलो हुँँदैछ । वासिङ्गटनको नीति निर्माण अप्रत्यासित र अपूर्वानुमानीय भएको छ ।

‘डेब्ट डिफल्ट’ को धम्की निरन्तर बढ्दो छ । अमेरिकी सरकारी बन्ड सुरक्षित छन् भन्ने धारणा कमजोर हुँदैछ । अझ नराम्रो कुरा; डलर शक्तिका आधार विधिको शासन, स्वतन्त्र सङ्घीय रिजर्भ, नियन्त्रण तथा सन्तुलनको प्रणालीलाई हालैका वर्षमा लोकतान्त्रिक प्रणालीभित्र लुकेका प्रियतावादी राजनीतिज्ञले कमजोर पारेका छन् ।

यस्तो बेला डलरले आफ्नो शक्ति यदि छिटोछिटो गुमाउँदै हुन्थ्यो भने त्यो कुनै आश्चर्यको कुरा हुने थिएन । तर, वास्तविकतामा उल्टो भइरहेको छ । डलरलाई कमजोर बनाउन सक्ने प्रवृत्तिमध्ये धेरैजसो अमेरिकी नीतिद्वारा सञ्चालित छन् र तिनले डलरको विश्वव्यापी प्रभुत्वलाई बलियो बनाउँदैछन् ।

अन्य ठूला अर्थतन्त्रको तुलनामा अमेरिकी अर्थतन्त्रको ठूलो आकार र गतिशीलताले डलरलाई शीर्ष स्थानमा राखिदिएको छ । तर, त्योभन्दा ठूलो कुरा अमेरिकी संस्थाहरू चुरचुर भइरहेका भए पनि विश्वका अन्य भागमा ती राम्रो अवस्थामा छैनन् । प्रियतावाद र अधिनायकवाद विश्वभरि नै बढ्दो छ ।

आर्थिक र भूराजनीतिक उथुलपुथलले सुरक्षित लगानीको खोजीलाई तीव्र बनाउँछ । अन्ततः नेतृत्वदायी लगानीकर्ता डलरमै फर्किन्छन्, जुन अहिले पनि सबैभन्दा विश्वासनीय मुद्रा हो । अमेरिकाको वित्तीय बजार ती अन्य देशको तुलनामा धेरै ठूलो छ, जो खरिद-बिक्रीका लागि डलर सम्पत्तिलाई सहज रूपमा प्रयोग गर्दछन् ।

डलर विश्वव्यापी आर्थिक तथा भूराजनीतिक शक्ति परिवर्तनका लागि पूर्णतः प्रतिरक्षित छैन । तर, डलरले केही आधार गुमाएको भएपनि यसको प्रतिद्वन्दीसँगको खाडल बढ्दो छ र त्यो रोकिने सङ्केत पनि देखिएको छैन ।

चीन र भारत ठूलो आर्थिक शक्ति बनेका छन् । तर, तिनको मुद्राले देश बाहिर कुनै गर्मी सिर्जना गरेको छैन । यद्यपि अन्तर्राष्ट्रिय मुद्राहरूको विश्वव्यापी पदानुक्रम परिवर्तन भइरहेको छ । प्रतिद्वन्द्वीहरूले डलरको तुलनामा सापेक्षिक स्थान सुधार गरिरहेका छन् । चाडै र जुनकुनै बेला डलरको स्थान परिवर्तन हुन भने सक्ने छैन ।

दोस्रो विश्वयुद्धयता डलर खाताको एकाइ, विनिमयको माध्यम र मूल्यको भन्डारण, यी सबै सन्दर्भमा अग्रणी छ । कन्जर्भेटिभ अनुमानमा पनि अन्तर्राष्ट्रिय व्यापारको मूल्याङ्कन डलरमै गरिएको हुन्छ । विश्व व्यापारमा अमेरिकी हिस्सा करिब ११ प्रतिशत हो तर, डलर प्रभावको हिस्सा योभन्दा धेरै ठूलो छ ।

विश्वका सबै अन्तर्राष्ट्रिय भुक्तानीको करिब आधा डलरमा हुन्छ । तसर्थ, यो भुक्तानी र बिजकका लागि शीर्ष मुद्रा हो । जब कुनै चिनियाँ कम्पनीले ब्राजिलबाट फलाम आयात गर्छ र ब्राजिलका फर्मले चीनबाट सेमीकन्डर किन्छन्, ती सबै कारोबार चिनियाँ आरएमबी वा ब्राजिली रियलको साटो सिधै डलरमा बिजकीकरण गरिन्छ ।

डलर विश्वको प्रमुख रिजर्भ मुद्रा पनि हो । विश्वका केन्द्रीय बैंकहरूमा ५९ प्रतिशत वैदेशिक मुद्राको सञ्चिति डलरमा वा डलर मूल्य आधारित सम्पत्तिमा राखिएको छ । यसो गर्नुपर्ने ठूलो कारण छ । ती देशले आयातका लागि आफ्नो मुद्राको स्वीकार्यता र क्रयशक्ति कमजोर हुँदा डलर प्रयोग गर्नुपर्ने बाध्यता छ ।

विकसित बजार अर्थतन्त्र भइरहेका देशका केन्द्रीय बैंकले के सिकेका छन् भने बलियो विदेशी विनिमय सञ्चितिले अर्थतन्त्रमा अस्थिर पुँजी प्रवाहको जोखिम घटाउने छ । तसर्थ, ती सुरक्षित र तरल सम्पत्तिमा रिजर्भ गर्न चाहन्छन् । फलतः तिनले डलर र डलर मूल्य आधारित सम्पति खरिद गर्दछन् ।

डलर विश्व पुँजी तथा ऋण बजारको प्रमुख मुद्रा हो । जब विकासशील देश वा ति देशका कम्पनीले विदेशी पुँजी तथा ऋण बजारबाट पैसा उठाउने प्रयास गर्दछन्, ती डलर स्वीकार गर्दछन् । किनकि तिनका लागि अर्को भरपर्दो विदेशी मुद्रा उपलब्ध छैन ।

वैश्विक लगानीकर्ताहरू विकासशील देशको स्थानीय मुद्रामा विश्वास गर्दैनन् र तिनले लगानी फिर्ता पनि डलरमै लिन चाहन्छन् । कम्पनीहरूले जारी गर्ने र आफ्नो देशबाहिर बेच्ने दुईतिहाइ सुरक्षणको कारोबार डलरमै हुन्छ ।

यहाँसम्मकी युरोपेली कम्पनीसमेत डलरमै कारोबार भुक्तानी गर्न सजिलो मान्दछन् । सन् २००८ को वित्तीय सङ्कटको बेला बेलायती र युरोपेली केन्द्रीय बैंकले समेत अमेरिकी फेडरल रिजर्भबाट डलर ऋण लिएका थिए ।

डलर आज एक जोखिमपूर्ण सम्पत्ति पनि हो । यो आफैँभन्दा राजनीतिक कारणले कमजोर भएका घटना छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिकी फेडरल रिजर्भ बैंकको नियन्त्रण तथा सन्तुलन खज्मजिएको थियो ।

वासिङ्गटनले इरान, रुस र उत्तर कोरियालाई डलरमा व्यापार कारोबार गर्न प्रतिबन्ध लगाएर यसलाई जोखिममा हाल्यो । सन् २०२२ को युक्रेनमा आक्रमणपछि मस्कोमा रहेको डलर सञ्चिति फ्रिज गरियो ।

विश्लेषक दशकौंदेखि यो भन्दैछन् कि डलरले अन्य कुनै मुद्राबाट आफ्नो स्थान गुमाउनेछ तर, डलरको प्रतिस्थापन सम्भव भइरहेको छैन । सन् १९९९ मा युरो आएपछि यसले त्यो काम गर्न सक्ने ठानिएको थियो । युरोजोन अमेरिकाजत्तिकै ठूलो बजार थियो । यसको एक भिन्नै केन्द्रीय बैंक र विधिको शासन पालना गर्ने सदस्य थिए ।

सुरुमा एकपटक त्यस्तो भयो पनि । सन् २००० मा विश्वका केन्द्रीय बैंकहरूमा युरोको सञ्चिति १८ प्रतिशत थियो र सन् २००९ मा बढेर २८ प्रतिशत पुगेको थियो । तर, त्यही वर्षको अन्त्यमा युरोजोन ऋण सङ्कट आयो । त्यसपछि यसको अनुपात २० प्रतिशतभन्दा तल झर्‍यो ।

चिनियाँ मुद्रा आरएमबीले पनि त्यही नियति भोग्नुपर्‍यो । सन् २०१० पछि चीनले आफ्नो मुद्राको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्न खोजेको हो । सन् २०१५ मा विश्वव्यापी भुक्तानीमा चिनियाँ मुद्राको स्थान ३ प्रतिशतसम्म पुगेको थियो । हङकङका वित्तीय बजारबाट आरएमबीमा अन्तर्राष्ट्रिय ऋण प्रवाह गर्न थालिएको थियो ।

त्यसपछि यो क्रम पनि रोकियो । सन् २०१४ र २०१५ मा चीनमा व्यापक पुँजी पलायन भयो । चिनियाँ मुद्राको माग र मूल्य दुवै घट्यो । अहिले पुँजी पलायनलाई चीनले कडाइ गरेको छ । आरएमबीको मूल्य र भुक्तानी अनुपात बढेको छ तर, त्यो चीनसँग जोडिएका व्यापार र कारोबारमै सीमित छ ।

अन्य कुनै पनि देशका मुद्रा डलरलाई चुनौती दिने गरी छेउछाउ आएका छैनन् । आर्थिक र भूराजनीतिक शक्तिले हालैका वर्षमा अष्ट्रियाली डलर, स्वीडिस क्रोनर र भारतीय रूपैयाँजस्ता केही साना रिजर्भ मुद्रालाई बढाएका छन् । तर, यी मुद्रा विश्व वित्तमा अझै पनि साना खेलाडी हुन् । यिनले लिन खोजेको स्थान परम्परागत बेलायती पाउन्ड, जापानी येनको हो, डलरको हैन । डलर सबैभन्दा माथि छ ।

केही राजनीतिज्ञ तथा विश्लेषक पैसा मुद्राभन्दा बाहिर सुन, बिटक्वाइन र क्रिप्टोकरेन्सीलाई वैकल्पिक सुरक्षित सम्पत्ति मान्न सकिने दाबी गर्दछन् । तर, यिनको आपूर्ति दुर्लभ छ । अभावले मात्र टिकाउ मूल्य सुनिश्चित हुँदैन ।

केन्द्रीय बैंकहरूले सुनको सङ्कलन त गरिरहेका छन् तर, अस्थिर मूल्य र ठूलो परिमाणमा प्रयोगयोग्य नहुने कारणले यसलाई अव्यावहारिक बनाउँछ । र, कुनै पनि केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीको जोखिम लिन चाहेको देखिन्न किनकि यी पूर्णतः सट्टेबाजी हुन् ।

सायद प्रविधिले सरकारले गर्न नसक्ने कामलाई सम्भव बनाउनेछ । तसर्थ, नयाँ मुद्राका रूपमा केही सरकारले डिजिटल मुद्रा अङ्गालेका छन् । चीन, भारत र जापानले आफ्नो मुद्राको डिजिटल संस्करण परीक्षण गर्दैछन् । डिजिटल युरो भने अहिले बन्द छ ।

चिनियाँ मुद्राको डिजिटल संस्करणले डलरलाई तत्काल प्रतिस्थापन गर्न सक्ने छैन, किनकि त्यसो गर्दा चिनियाँ मुद्राले बाह्य बजार उतरचढावको सामना गर्नुपर्ने छ । देशभित्र समेत मुद्राको मूल्यमा प्रभाव पर्नेछ । चीन आफ्नो मुद्राको आन्तरिक मूल्यमाथि बलियो नियन्त्रण चाहन्छ ।

डलरलाई कसैले न कसैले प्रतिस्थापन गर्ला भन्ने विश्वास भने अझै बलियो छ । यसको उदाहरणका रूपमा दोस्रो विश्वयुद्धपछि बेलायती स्टर्लिङ पाउन्डलाई युएस डलरले प्रतिस्थापन गरेको कथा हालिन्छ । तर, त्यतिखेरको र आजको स्थिति बिल्कुलै फरक हो ।

अमेरिकासँग यसको अर्थतन्त्रको आकार र वित्तीय बजार क्षमतासँग तुलनीय कुनै गम्भीर प्रतिद्वन्द्वी नै छैन । यसका संस्थाहरू पक्कै बिग्रिएका छन् तर, अरुका संस्थाहरू यत्तिका पनि छैनन् ।

अमेरिकी लगानकर्ताले जति सम्पत्ति देश बाहिर लगाएका छन्, त्यसभन्दा बढी विश्वभरिका लगानकर्ताले आफ्नो सम्पत्ति अमेरिकामा लगाएका छन् । अर्थात्, यस अर्थमा अमेरिका विश्वको शुद्ध आसामी देश हो । ती सबै लगानी र सम्पत्तिको मूल्याङ्कन डलरमा भएको छ । तसर्थ, धेरैजसो विदशी लगानीकर्ता बरु थोरै प्रतिफल चाहन्छन् तर, डलरको रक्षा गर्न इच्छुक हुन्छन् ।

विदेशमा लगानी गर्ने अमेरिकी लगानीकर्ताको मनोदशा भने ठीक उल्टो हुन्छ । तिनले विदेशमा यसकारण लगानी गर्दछन् कि त्यहाँ प्रतिफल दर उच्च हुन्छ । मानौं कि विश्व डलरको प्रचलनबाट पछि घट्यो, डलरको भाउ घट्यो, तिनलाई झनै फाइदा हुने छ । किनकि तीनको लगानी र सम्पत्ति ती देशको मुद्रामा मूल्याङ्कन हुनेछ । तिनले स्थानीय मुद्राको तुलनामा सस्तो डलर किन्न सक्नेछन् ।

अर्थात् डलरको मूल्यमा गिरावट आयो भने बाँकी विश्वले अमेरिकालाई ठूलो आर्थिक उपहार दिएजस्तो सावित हुनेछ । तसर्थ, डलरको कथा अब अमेरिकी कमजोरीको साटो विश्वको कमजोरी भइसक्यो । यो असमानता परिवर्तन नभएसम्म अमेरिकाले जतिसुकै खराब तरिकाले आफ्नो पत्ता खेलोस्, अब डलरको पतन हुने आशा कसैले नगरेको राम्रो हुन्छ ।

(अर्थशास्त्री इश्वर प्रसादको यो लेख फरेन अफेयर्सबाट संक्षेपीकरण सहित अनूवाद गरिएको हो )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved