खाली हात आएका विदेशीले ठमेल पुगेपछि यसरी निकाल्छन् किलोका किलो कोकिन !

उच्च निगरानीका बीच लागुऔषध कारोबारीका रजगज : एक सातामा १६ करोड रुपैयाँ बराबरको झन्डै ५ किलो कोकिन बरामद

खाली हात नेपाल आएका तान्जानियन नागरिकको साथमा कोकिन फेला परेपछि चकित पर्‍यो, प्रहरी । प्रहरीको केरकारपछि उनले निलेर पेटमा कोकिन ल्याएको खुलासा गरे । थप ५९ क्याप्सुल आफ्नो पेटभित्र रहेको बताए । त्यसपछि अरू दुई वटा घटना समेत गरी ४ किलो ५०४ ग्राम कोकिन बरामद भयो । यसको अवैध बजार मूल्य १६ करोड रुपैयाँ पर्छ ।

खाली हात आएका विदेशीले ठमेल पुगेपछि यसरी निकाल्छन् किलोका किलो कोकिन !

काठमाडौं । गत असार २७ गते ‘दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो परिमाणमा लागुऔषध भित्रदैछ’ भन्ने सूचना आयो, नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोमा ।

विश्वभर अवैध मानिने खतरनाक लागुऔषध कोकिनको कारोबारी आइरहेका भन्ने सूचना थियो । त्यसपछि ब्युरोले तत्कालै सादा पोसाकमा टिम परिचालन गरेर विमानस्थलमा निगरानी बढायो ।

कोकिनका कारोबारी आएका भनिएको फ्लाई दुबई अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भयो । सूचना संवेदनशील भएकोले सादा पोसाकका प्रहरी रनवेसम्म नै निगरानीका लागि पुगे । कोकिन बोकेर आएका मानिस विमानबाट ओर्लिए । तर, रित्तो हात ।

उनी थिए, दाह्री र कपाल सेताम्मे भएर फूलेका ६८ वर्षीय तान्जानियन नागरिक, डोनाल्ड ज्याक्सन माबुगा । ज्येष्ठ नागरिक उनी लामो यात्राका कारण होला थकित देखिन्थे ।

उनी विमानस्थलबाट प्रक्रिया पुरा गरेर बाहिरिए । उनको साथमा लगेज थिएन । विमानस्थल गेटबाट ट्याक्सी चढेर ठमेल पुगे । ठमेलस्थित एक होटेलमा कोठा बुक गरेर उक्लिए ।

प्रहरी टोली उनको निगरानी राखेर फर्कियो । फेरि बिहान ६ बजे नै पुग्यो, प्रहरी उनकै कोठामा । उनी बसेको कोठा जाँच गर्दा भेटियो १८ क्याप्सुल कोकिन । ती सबै प्लास्टिक कोटेड (बलियो प्लाष्टिकले बेरिएको) थियो ।

खाली हात  नेपाल आएका तान्जानियन नागरिकको साथमा कोकिन फेला परेपछि चकित पर्‍यो, प्रहरी । प्रहरीको केरकारपछि उनले निलेर पेटमा कोकिन ल्याएको खुलासा गरे । थप ५९ क्याप्सुल आफ्नो पेटभित्र रहेको उनले बताए ।

तत्कालै उनलाई उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगन्ज लगियो । त्यहाँ थप ५९ क्याप्सुलहरू उनको पेटबाट निकालियो ।

उनी आफैँले र डाक्टरले निकालेको गरी जम्मा ७७ वटा कोकिनका क्याप्सुलहरू बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । ७७ वटा कोकिनको क्याप्सुलको परिमाण १ केजी २०६ ग्राम छ ।

फिल्मजस्तै ‘क्राइम थ्रिलर’ : चकलेटको खोलमा भित्रिन्छ कोकिन, पत्ता लगाउन विमानस्थलमा छैन मेसिन

तान्जानियन नागरिक माबुगाले ती प्लास्टिक कोटेड कोकिनका क्याप्सुलहरू इथियोपियाको अदिस अबाबा शहरबाट ल्याएको बताएका छन् । अदिस अबाबा शहरबाट क्याप्सुल निलेर नेपाल ल्याएको पाइएको प्रहरीले जनाएको छ ।

उनी उमेरले पाको छन् । हाल निजको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

०००

चेकजाँचबाट बच्नका लागि लागुऔषध तस्करहरूले विभिन्न शैली अपनाउँछन् । कहिले उनीहरू त्यसमा सफल हुन्छन् त कहिले पक्राउ पर्छन् ।

यस्तै फिल्मी शैली अपनाएर लागुऔषध तस्करी गर्दै आएका गिरोहका पक्राउ पर्ने क्रममा फेरि अर्का ठुलो परिमाणमा कोकिन भेटियो ।

तस्करले अनेक जुक्ति अपनाएर कोकिन ल्याउने गरेको देखियो, तब विमानस्थलको भन्सारमा केही सामान पुग्यो । तान्जानियन नागरिकको पेटबाट कोकिन निकालिएको २ दिनपछिको घटना हो यो ।

असार ३० गते इमिरेट्सको विमानबाट ब्राजिल हुँदै काठमाडौं आए ३३ वर्षीय बोलिभियन महिला लौरा क्रुज टिकोना ला ।

उनको लगेज जाँच गर्दा १२१ वटा फेन्सी लुगाहरू भेटिए । सबै एकै महिलाले लगाउने किसिमका कपडा थिए । कपडासँगै टाँक (बटम) पनि थिए । टाँक पनि ठुलो बट्टामा एक बट्टा थियो ।

भन्सार कार्यालयले बाहक बोलिभियन नागरिक लौराको ट्राभल्स हिस्ट्री हेर्‍यो । ब्राजिल हुँदै काठमाडौं आएका बोलिभियन नागरिक भनेपछि शंका लाग्यो । भन्सार कार्यालयको आगमनतर्फ शंका लागि चेकजाँच थाल्यो ।

निलो रङको झोलामा टाँकहरू थियो । टाँक खोले हेरियो । भित्र कोकिन लुकाएर ल्याएको पाइयो  । सबै कोकिन एकठाउँमा राखेर जोख्दा २ किलो १०० ग्राम भयो ।

लागुऔषध नियन्त्रण ब्युरोले कोकिनसहित ती मानिसलाई नियन्त्रणमा लियो ।

०००

बोलिभियन महिलाले ल्याएको कपडाको टाँकबाट कोकिन बरामद भएको केही दिनपछि १ किलो बढी कोकिन बरामद भयो, भेनेजुलियन नागरिकबाट ।

असार १ गते कतार एअरबाट नेपाल आएका भेनेजुलियन महिला सिमोनको साथबाट २ दिनपछि १ किलो १९८ ग्राम बराबरको ९२ क्याप्सुल कोकिन बरामद भयो ।

भ्रम बेचेर ‘भाइरल’ प्रकाश भुजेल, उपचार गर्ने र भिजा लगाइदिने भन्दै यसरी ठगिरहेछन् सिधासाधालाई (भिडिओ)

उनी पनि ठमेल पुगेपछि पक्राउ परिन् । नेपाल आएको २ दिनपछि मात्र उनी पक्राउ परिन् । काठमाडौं महानगर–२६ स्थित एक होटेलमा शङ्कास्पद रूपमा बसिरहेको अवस्थामा उनलाई ४ गते पक्राउ गरियो ।

होटेलको कोठाभित्र चेकजाँच गर्दा कोकिनका ९२ क्याप्सुल बरामद गरिएको हो । विमानस्थलमा चेक गर्दा उनको साथबाट पनि केही भेटिएको थिएन ।

अनुसन्धानको क्रममा उनले उक्त क्याप्सुलहरू ब्राजिलको सापाउलोबाट निलेर पेटभित्र ल्याएको बताइन् ।

उक्त कोकिनका क्याप्सुल लिनको लागि भारतीय नागरिक लाल रूतसाँगी (पुरुष) आएका थिए । उनी पनि सोही स्थानबाट पक्राउ परे ।

लालरूतसाँगीले कोकिनका क्यासुलहरू भारतको राजधानी नयाँ दिल्लीसम्म लैजान लागेको समेत अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही भइरहेको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । एक साताको अवधिमा चार जनाबाट ४ किलो ५०४ ग्राम कोकिन बरामद गरिएको छ । बरामद भएका ती सबै कोकिनको अवैध बजार मूल्य झन्डै १६ करोड रुपैयाँ रहेको बताइएको छ ।

उनीहरू सबैलाई लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

ब्युरोका प्रमुख एसएसपी दिनेश आचार्यले भने, ‘‘जेठ २७ देखि असार ४ सम्ममा काठमाडौंको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । सबैको बजार मूल्य १५ करोड ७६ लाख रुपैयाँ छ । यो आर्थिक वर्षभित्र मात्र ११ किलो कोकिन बरामद भएको छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved