सपना र संघर्ष

अगरबत्तीमा जीवनको सुगन्ध खोजिरहेकी राधिका

सानैमा पढ्न छाडेकाले आफूले अरू काम नपाएको बताउँछिन्, उनी । ‘धेरै नपढेकी मलाई कसले जागिर देला र ? भारी काम गर्न सक्दिनँ । बाबुहरूले अरूको काम गर्न दिँदैनन्, चकचक गर्छन् । दुनियाँको भनाइ सुन्नुभन्दा त यही ठिक छ’, राधिकाको अनुभूति छ ।

अगरबत्तीमा जीवनको सुगन्ध खोजिरहेकी राधिका

काठमाडौं । ‘दाइ, धूप लिनुहुन्छ ? लिनुहोस् न एक प्याकेट, सय रुपैयाँ त हो नि !’, बिहीबार ललितपुरको पाटन ढोका परिसरमा रहेको एक ‘ह्यान्डीक्राफ्ट’ पसलमा आफ्नै काममा व्यस्त रहेका एक अधबैंसे पुरुषलाई सम्बोधन गर्दै राधिकाले सोधिन् ।

मुसुक्क मुस्कुराउँदै ती पुरुषले जवाफ फर्काए, ‘भो पर्दैन बहिनी । अस्तिकै धूप बाँकी छ ।’

राधिका फेरि कर गरिन्, ‘मिल्छ भने राख्नोस् न दाइ । एउटा त हो नि !’

ती पुरुषले नाइँको इशाराले मुन्टो फर्काए ।

राधिका चुप हुँदै अर्को पसलतिर लम्किइन् ।

‘खै आज त के भएको हो ? व्यापार नै भएको छैन । अरू बेला फाट्टफुट्ट बिक्री हुन्थ्यो’, वाक्क मान्दै राधिका बोलिन् ।

उनी थकित मुद्रामा देखिन्थिन् । दिउँसोको करिब दुई बजेको हुँदो हो । टन्टलापुर घामले उनको धकाइलाई थप सिथिल बनाइहरेको थियो ।

पछाडि पीठ्युमा सलले बाँधेर सानो छोरा बोकेकी राधिकाको एउटा हातमा अगरबत्तीका पोकाले भरिएको झोला थियो । अर्को हातमा अगरबत्तीका चार प्रकारका प्याकेट । सोही प्याकेटलाई देखाउँदै उनी आफ्नो धूप बिक्री हुने अपेक्षामा पसलपसलमा सोध्दै हिँड्थिन् ।

राधिकाको बाल्यकाल

स्थायी घर दोलखा हो, कीर्तिपुरमा बस्छिन् । तर उनी अगरबत्ती बेच्न ललितपुरको पाटन ढोकासम्म आइपुगेकी थिइन् । उनका श्रीमान् भान्से (कुक)को काम गर्छन् । ठूलो छोरा १५ वर्षका भए । उनी कक्षा ९ मा पढ्छन् । एउटा छोरा दुधे बालक उनकै पिठ्युँमा बसेर आमासँगै घामपानी झेल्छ ।

२०४९ सालमा दोलखाको एक ग्रामीण भेगमा जन्मिएकी राधिकाको बाल्यकाल त्यति सहज थिएन । निम्न आर्थिक अवस्था र निरक्षर घरमा जन्मिएकी राधिकाले सानैमा पढाइ छाड्नपर्‍यो । कक्षा ८ को पढाइ छाडेर उनी घरैमा बाबाआमालाई सघाउन थालिन् ।

किशोरावस्थाको प्रारम्भकै उनी गाउँकै एकजना गाउँकै ठिटोसँग आकर्षित भइन् । प्रेममा परिन् । भन्छिन्, ‘सानो छँदा सम्झाउने, बुझाउने भएनन् । जे आफूले गरियो, त्यो नै सही लाग्थ्यो ।’

परिपक्व नहुँदै सोही ठिटोसँग वैवाहिक सम्बन्धमा बाँधिइन् । त्यतिबेला उनी केवल १५ वर्षकी थिइन् ।

अगरबत्ती बेच्न हिँड्नुको कारण 

राधिकाले यसरी हातमा अगरबत्ती बोकेर पसलपसल डुल्दै बेच्न थालेको ९ वर्ष भयो । यो काम सुरु गर्दा उनको जेठो छोरा ६ वर्षका थिए ।

‘खासमा मैले त अल्छी लागेर यो काम सुरु गरेकी थिएँ । दिनभरि बच्चासँग घरमा बस्दा अल्छी लाग्ने । बाबुले चकचक गरेको गर्‍यै गर्ने । त्यही भएर केही काम गरौँ भन्ने लाग्यो । अनि यही काम सुरु गरेँ ।’

सानैमा पढ्न छाडेकाले आफूले अरू काम नपाएको बताउँछिन्, उनी । ‘धेरै नपढेकी मलाई कसले जागिर देला र ? भारी काम गर्न सक्दिनँ । बाबुहरूले अरूको काम गर्न दिँदैनन्, चकचक गर्छन् । दुनियाँको भनाइ सुन्नुभन्दा त यही ठिक छ’, राधिकाको अनुभूति छ ।

धूप बेच्ने कामले उनलाई स्वावलम्बी बनाएको छ । आत्मनिर्भर बनाएको छ । बाबुहरूको स–साना माग र आवश्यकताको परिपूर्ति पनि त्यहीँबाट गर्छिन् ।

अगरबत्तीसँग जोडिएको उनको यात्रा 

उनले अगरबत्तीसँग नाता जोडेको लगभग नौ वर्ष भयो । उनी दृष्टिविहीन व्यक्तिहरूले बनाएको अगरबत्ती किनेर काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न सडक पसलमा धाउँछिन् । विभिन्न रुट फेर्दै उनी आफ्नो अगरबत्ती उपभोक्ताको घर आँगन र पसलमै पुर्‍याउँछिन् ।

हातमा भएको अगरबत्तीलाई उनी प्रतिप्याकेट सय रुपैयाँमा बेच्छिन् । त्यसबाट केही रकम उनलाई नाफा हुन्छ । ‘फाइदा अलिअलि हुन्छ । म ८० रुपैयाँमा किन्छु, १०० रुपैयाँमा बेच्छु । उता उहाँहरूलाई पनि सहयोग गरेजस्तो हुन्छ । यता मलाई पनि आफ्नै काम गरेजस्तो हुन्छ ।’

यही काममा अधिक समय व्यतित गरेको भएर पनि कस्ता व्यक्तिले सामान किन्छन् भन्ने उनी सहजै आकलन गर्न सक्छिन् ।

पढेरभन्दा परेर व्यक्ति परिपक्व र शिक्षित हुन्छ भन्ने भनाइ उनको जीवनसँग ठ्याक्कै मेल खान्छ । सानैमा पढाइ छोडेकी राधिकाले जीवनमा आइपरेका विविध समस्या र उल्झनले धेरै कुरा सिकिसकिन् । ‘पढाइ छैन बहिनी । त्यही पनि आफ्नो खर्चका लागि बुढासँग, अरूसँग पैसा माग्न मन लाग्दैन । हातखुट्टा चलेसम्म आफूले जे सकिन्छ, त्यही काम गर्नुपर्छ जस्तो लाग्छ मलाई त’, उनको जीवन आदर्श छ ।

व्यापार अलि धेरै हुँदा अन्य व्यापारी जस्तै उनी पनि खुसी हुन्छिन् । उनको अगरबत्ती किन्ने पसले ग्राहकलाई उनी धन्यवाद त दिन्छिन् नै, व्यापार राम्रो होस् भन्ने आशिर्वाद पनि दिन्छिन् ।

‘कहिले दिनभरि हिँडेर पसलपसल सोध्दा पनि खासै व्यापार हुँदैन । त्यति बेला रुन मन लाग्छ । यत्रो घामपानी नभनी छोरा बोकेर गरेको दुःख व्यर्थै भयो जस्तो लाग्छ ।’ राधिका सुनाउँछिन् ।

कतिपय व्यक्तिका वचनले उनको चित्त पनि दुख्छ । सलले निधारको पसिना पुछ्दै उनले दुखेसो पोखिन्, ‘दिनभरि हिँड्दा पनि व्यापार भएको हुँदैन । सामान किनिदिनुहुन्छ कि भनेर सोध्न जाँदा कसैकसैले त थर्काउँछन् । अरू काम गर भन्दै ज्ञान बाँड्छन् । मेरो कामलाई नै नाना थरी भन्छन् । उनीहरू पनि आफ्नो व्यापार नभएर दिक्क लागेर बसेका होलान् भन्ने मलाई लाग्छ । त्यही पनि मेरो कामलाई त्यस्तो नभनिदिउन् जस्तो लाग्छ ।’

छोराहरूलाई सरकारी जागिरे बनाउने सपना 

अगरबत्ती बेचेरै आफ्नो जीवनमा सुगन्ध खोजिरहेकी छिन् राधिका ।

आफूले नपढे पनि सन्तानलाई राम्रो शिक्षा दिन प्रयत्नशील छिन्, उनी । आफ्ना दुई छोरालाई सरकारी जागिरे बनाउने सपना सझाइरहेकी छिन् । ‘दुवै छोराहरूले नेपालमै सरकारी जागिर खाएको हेर्ने मन छ’, उनी भन्छिन् ।

उनलाई आफ्ना व्यक्तिगत रहरबारे चाहिँ सोच्ने फुर्सद छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved