सिंगापुरको चमत्कार र ली क्वान यूका नयाँ उत्तराधिकार

अक्सर देशहरु ‘स्वतन्त्रता’ का लागि लड्छन् । तर, सिंगापुर भने उल्टो उदाहरण हो । यो मलेसियाबाट छुट्टिन चाहँदैनथ्यो । मलेसियाका राजनीतिज्ञले जबर्जस्ती निकालेका थिए । ली क्वान यूहरु मलेसियाको संसद भवनबाट रुँदै बाहिरिएका थिए ।

नेपालभ्युज

सिंगापुरको चमत्कार र ली क्वान यूका नयाँ उत्तराधिकार

काठमाडौं । सिंगापुरको कुरा गर्दा धेरैको मनमा तुरुन्तै आउने नाम हो– ली क्वान यू । ली क्वान यू आधुनिक सिंगापुर एकअर्काको पर्यायजस्तै भए । उनी आधुनिक सिंगापुरका पिता’ मानिन्छन् ।

सिंगापुर बीसौं शताब्दीमा विकास, सुशासन र समृद्धिको संसारकै सबैभन्दा सफल ‘केस स्टडी’ हो । सन् १९६५ मा मलेसियाबाट छुट्टिँदा यो देशको भविष्यबारे कुनै उत्साह थिएन ।

अक्सर देशहरू ‘स्वतन्त्रता’ का लागि लड्छन् । तर, सिंगापुर भने उल्टो उदाहरण हो । यो ‘मले संघ’ (मलेसिया)बाट छुट्टिन र भिन्नै स्वतन्त्र देश बन्न चाहँदैनथ्यो ।

मलेसियाका राजनीतिज्ञले सिंगापुरलाई ‘मले संघ’बाट जबर्जस्ती निकालेका थिए । र, ली क्वान यूहरू मलेसियाको संसद् भवनबाट रुँदै बाहिरिएका थिए ।

मलेसियाबाट छुट्टिदा सिंगापुरको प्रतिव्यक्ति आए वार्षिक ५१६ डलर थियो । यो माछा मार्नेहरूको एक सानो र गरिब टापु मानिन्थ्यो। त्यसको ठीक ३० वर्षपछि सन् १९९५ मा प्रतिव्यक्ति आय २४ हजार ९१५ युएस डलर पुगेको थियो ।

यो यात्रालाई ली क्वान यू आफैँले ‘तेस्रो विश्वबाट पहिलो विश्वसम्म’ भने । आजका मितिमा सिंगापुरको प्रतिव्यक्ति आय वार्षिक १ लाख डलरभन्दा धेरै पुगेको छ ।

सिंगापुर मले संघमा रहँदै सन् १९५९ बाट ली क्वान यी प्रधानमन्त्री भएका थिए । त्यसयताको ६५ वर्षमा त्यहाँ ४ जना मात्र प्रधानमन्त्री भएका छन् । यस अर्थमा पनि सिंगापुर एक अनौठो देश मान्न सकिन्छ ।

संसदीय बहुदलीय लोकतन्त्र भएको देशमा प्रधानमन्त्री पदमा कुनै व्यक्ति यति लामो रहन सक्नु आफैँमा अद्धितीय हो । सन् १९५९ देखि सन् १९९० सम्म पहिला प्रधानमन्त्री ली क्वान यीको कार्यकाल करिब ३२ वर्षको हुन्छ ।

त्यसपछि दोस्रो प्रधानमन्त्री गोह चोक तोङ सन् सन् २००४ सम्म करिब १४ वर्ष प्रधानमन्त्री रहे । तेस्रा प्रधानमन्त्री ली हसिन लुङको कार्यकाल सन् २०२४ को मे १५ सम्म २० वर्षको रह्यो । उनी ली क्वान यूका छोरा थिए । उनले उमेर, स्वास्थ्य र धेरै लामो सेवाको कारण स्वेच्छाले सत्ता हस्तान्तरण गरेका थिए ।

मे १५ यता सिंगापुरमा ५१ वर्षीय लरेन्स वोङ नयाँ प्रधानमन्त्री छन् । उनलाई ली क्वान यूका नयाँ उत्तराधिकार भन्न सकिन्छ। सिंगापुरको ली क्वान यू परम्परालाई उनले न्याय गर्ने अपेक्षा गरिएको छ ।

सिंगापुरमा यति लामो समयदेखि एउटै राजनीतिक दल पिपुल्स एक्सन पार्टी (पाप) निरन्तर सत्तामा छ । एकदलीय व्यवस्था भएका देशमा यस्ता भएका छन् । तर, बहुदलीय लोकतन्त्र भएको देशमा कुनै दल निरन्तर यति लामो समय सत्तामा रहेको यो विश्वको एक मात्र उदाहरण हो ।

लरेन्स वोङ्गलाई सत्तारुढ पिपुल्स एक्सन पार्टीले ‘चौथो पुस्ताको नेता’ (फोर जी लिडर) को संज्ञा दिएको छ ।

सन् २०२२ देखि उनी प्रधानमन्त्री ली हुसिन लुङको सरकारमा उपप्रधानमन्त्री थिए । उनलाई त्यतिखेरै देखि ‘कार्यकारी प्रधानमन्त्री’ तथा ‘भावी प्रधानमन्त्री’ भन्न थालिएको थियो ।

वोङ्गले मिचिगन विश्व विद्यालयबाट अर्थशास्त्रमा र हार्वड विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । राजनीतिमा आउनुअघि उनी जनप्रशासन सेवामा थिए ।

सन् २०११ को आम निर्वाचनमा उनी पहिलोपटक सांसद निर्वाचित भएका थिए । उनले रक्षा, शिक्षा, सूचना तथा सञ्चार, अर्थलगायत विभिन्न मन्त्रालयको कार्यभार सम्हाल्ने अवसर पाएका छन् ।

लरेन्स वोङको प्रधानमन्त्रीत्वलाई पिपुल्स एक्सन पार्टीको एक सर्वसम्मत र योजनाबद्ध सत्ता हस्तान्तरण मानिएको छ । वोङ आफ्ना अग्रजसँग प्रतिस्पर्धा गरेर हैन, उनीहरूको विश्वास, आशीर्वाद र संरक्षकत्वमा प्रधानमन्त्री भएका हुन् ।

अझ उनी एक ‘निर्मित नेतृत्व’ हुन् । पार्टी र पूर्वनेतृत्वले उनलाई योजनाबद्ध ढंगले विकास गरेको र अघि सारेको हो । वोङले आफ्ना अग्रजको यस्तो विश्वास कसरी हासिल गरे त ? यसको रहस्य उनको कार्य क्षमतालाई मानिएको छ । उनले मन्त्री हुँदा आफ्नो लगनशीलता, कार्य क्षमता पुष्टि गरेका थिए ।

नयाँ युगअनुरुपको सोच र ज्ञान, विज्ञान छ भन्ने अग्रज र पार्टीको बुझाइले उनी सिंगापुरको प्रधानमन्त्री हुन सम्भव भएको हो । यो विश्वासलाई कायम राख्न सके वोङको कार्यकाल पनि आफ्ना अग्रज प्रधानमन्त्रीको जस्तै लामो हुनसक्ने ठानिएको छ ।

कार्यकाल सम्हालेसँगै उनले जनताको आवास, शिक्षा, स्वास्थ्य, यातायात, संचार र पर्याप्त पेन्सन योजनालाई महत्त्व दिने बताएका थिए । उनले सिंगापुरी जनतालाई ‘स्वीस मापदण्डको जीवनस्तर’ प्रत्याभूत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सिंगापुरको उन्नतिको निन्तरताका लागि ‘नयाँ सोच र योजना’ को खोजी गर्नु पर्ने उनको बुझाइ छ । उनी भन्छन्– हिजोका तरिका हिजोका लागि उपयुक्त र सफल रहे । अगाडि बढ्नका लागि हामीले केही नयाँ तरिका खोज्नु पर्दछ ।पुराना कुरा दोहोर्‍याएर मात्र हामी नयाँ उन्नति हासिल गर्न सक्दैनौं ।

विश्लेषक ठान्दछन् कि भूराजनीति र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धको प्रभाव सिंगापुरमाथि पर्न सक्नेछ । लरेन्सको मुख्य दायित्व अर्थतन्त्रमा शिथिलता आउन नदिन चीन–अमेरिका सम्बन्धका नकारात्मक आयामबाट सिंगापुरलाई जोगाउनु हुनेछ ।

लरेन्स भन्छन्– मलाई मेरो विरासतको राम्रो ज्ञान छ । खुला हृदयले सबैसँग परामर्श गरेर अघि बढ्नेछु । मैले सिंगापुरको परम्परालाई मेरो कार्यकालमा जोगाउनु पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved