नाबालिगलाई ब्युटीपार्लरमा काम दिने भन्दै यौन धन्दामा लगाउने एक पुरुष र महिला पक्राउ

नेपालभ्युज

नाबालिगलाई ब्युटीपार्लरमा काम दिने भन्दै यौन धन्दामा लगाउने एक पुरुष र महिला पक्राउ

काठमाडौं । नाबालिगलाई ब्युटीपार्लरमा काम दिने भन्दै प्रलोभनमा पारेर काठमाडौंका विभिन्न मसाज सेन्टर तथा होटलमा यौन क्रियाकलापमा लगाइएको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा काठमाडौँको ठमेल र टोखामा नाबालिकाहरुलाई यौनधन्दामा लगाएको भेटेपछि थप निगरानी बढाएको हो ।

अनुसन्धानका क्रममा स्पा सेन्टर सञ्चालकहरु गोरखा सिरानचोक घर भई हाल काठमाडौँको टोखा बस्ने रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका घर भई ललितपुरको सातदोबाटो बस्ने ३३ वर्षिया मखमली माया स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डरत्रास र प्रलोभनमा पारी नाबालिगलाई यौनधन्दामा लगाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा टोखाको सनफ्लावर स्पा सेन्टर र ठमेलको ए वान स्पा सेन्टरबाट दुई नाबालिगको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पीडितको जाहेरीका आधारमा उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा अघि बढाइएको र अन्यको खोजी भइरहेको छ ।

प्रतिवादी रेशम गुरुङले आर्थिक अवस्था कमजोर भएका ग्रामीण क्षेत्रका नाबालिग तथा किशोरीलाई सामाजिक सञ्जालबाट कुराकानी गरी राम्रो आम्दानी हुने ब्यूटीपार्लरमा काममा लगाई दिने भनी प्रलोभनमा पारेर काठमाडौं आउने भाडासमेत पठाएर झिकाउने गरेको अनुसन्धानका क्रममा भेटिएको छ ।

काठमाडौं ल्याएपछि टोखामा रहेको आफ्नै स्पा सेन्टरमा मासिक १० हजार तलब दिने भनी काममा लगाई आफैँले समेत पटकपटक करणी गरेको र जबरजस्ती यौनधन्दामा लगाइएको खुल्न आएको प्रहरी उपरिक्षक गौतम मिश्रले बताए ।

यसैगरी तिनै नाबालिगलाई प्रतिवादी मखमली माया स्याङ्तानको ठमेलस्थित ए वान स्पा सेन्टरमा ल्याई जबरजस्ती यौनकर्ममा लगाएको प्रहरीको दाबी छ ।

सुरुमा बालिकालाई आफूले सञ्चालन गरेको मसाज सेन्टरमा मसाजसम्बन्धी तालिम दिई काममा लगाउने र बिस्तारै मसाज सेन्टरमा आएका व्यक्तिको इच्छाअनुसार शारीरिक सम्पर्क राख्न लगाउने गरेको पाइएको अनुसन्धानमा खुलेको छ ।

उनीहरुले बालिकाहरुलाई यौनकर्मका लागि विभिन्न होटल तथा गेष्टहाउसमा पठाउने गरेको खुल्न आएको छ । स्पा सेन्टरमा मसाज गरेको फोटो तथा भिडिओ आफन्तलाई पठाई दिने भन्दै डरत्रास देखाएर उनीहरुलाई यौनधन्दामा लगाउने गरेको ब्यूरोले जनाएको छ ।
रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved