सहकारीमा सुधार नआएसम्म बैंकको खराब कर्जा कम हुँदैन: गभर्नर अधिकारी

नेपालभ्युज

सहकारीमा सुधार नआएसम्म बैंकको खराब कर्जा कम हुँदैन: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्न नसक्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले सहकारीमा देखिएका समस्या समाधान गर्न ढिला भइसकेको बताए । बैंकहरुमा खराब कर्जा बढ्नुको कारण प्रभावकारी नियमन र रिफर्म भएको उनको दाबी छ । गभर्नर अधिकारीले बैंकहरुलाई पारदर्शी बनाउनको लागि बैंकहरुको खराब कर्जा बाहिर ल्याउन आवश्यक रहेको बताए ।

स्वनियमन र अनुशासनमा चल्नुपर्ने सहकारीहरू बैंक जस्तै गरी अगाडि बढ्दा समस्या भएको उनको भनाई छ । सरकारले सहकारीलाई नियमन र सुपरिवेक्षण गर्ने छुट्टै विशिष्टिकृत निकाय बनाउन बहस भए पनि अहिलेसम्म बन्न नसक्दा समस्याहरू बढ्दै गएको उनले बताए ।

गभर्नर अधिकारीले समग्र सहकारीको नियमनको लागि विशिष्टिकृत दोस्रो दर्जाको नियमनकारी निकाय खडा गरी संविधान अनुसार तीन तहगत रूपमा नियमन गर्न ढिला भएको बताए ।

‘सहकारीको विषयमा सोच्न अबेला भइसकेको छ । अर्थतन्त्र स्लोडाउन हुनुमा सहकारीको ठुलो रोल छ ।’ गभर्नर अधिकारीले भने, ‘सहकारीमा देखिएका समस्या छलफल र बाहिर कराएर मात्रै हुँदैन । अहिले हामी सहकारीको समस्या समाधान भन्दा पनि समस्या स्वीकार गर्न खोजिरहेको देख्छौँ । जति सक्दो चाँडो विशिष्टिकृत दोस्रो दर्जाको नियमनकारी निकाय बनाउनु छ ।’

उनले बैंकहरुको जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी बनाउने ठुलो मेहनत चाहिने बताए । त्यसको लागि धेरै खालका समन्वय र प्रतिबद्धताहरू आवश्यक पर्ने उनको भनाई छ ।

उनले बैंकहरुको जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट गर्ने ऐन राष्ट्र बैंकले बनाउन लागेकोसमेत जानकारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved