लोकदर्शन रेग्मी: भारतको लागि नयाँ राजदूत, अपेक्षा भने पुरानै !

मुख्यसचिव र बेलायतको लागि राजदूत रहिसकेका रेग्मीलाई राजदूत वा कुनै निकायको प्रमुख पदको जिम्मेवारी नयाँ होइन । तर, ती अनुभवले भारतमा उनलाई कति सफल बनाउँछ, भविष्यले निर्धारण गर्नेछ ।

लोकदर्शन रेग्मी: भारतको लागि नयाँ राजदूत, अपेक्षा भने पुरानै !

काठमाडौं । नेपाल–भारतबीच दीर्घकालीन महत्त्व राख्ने कतिपय विषयहरूमा भएका सम्झौता कार्यान्वयनको सम्मुखमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी भारतका लागि नयाँ नेपाली राजदूत भएर जाँदैछन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट राजदूतमा सिफारिस भएका रेग्मीले केही समयपछि दिल्ली दूतावासको जिम्मेवारी सम्हाल्दै छन् ।

मुख्यसचिव र बेलायतको लागि राजदूत रहिसकेका रेग्मीलाई राजदूत वा कुनै निकायको प्रमुख पदको जिम्मेवारी नयाँ होइन । तर, ती अनुभवले भारतमा उनलाई कति सफल बनाउँछ, भविष्यले निर्धारण गर्नेछ ।

भारत नेपालसँग खुला सीमा भएको छिमेकी देश हो । यसअघि सरकार र सत्तारुढ दलहरूका लागि भारतका लागि राजदूत छान्दा राजनीतिक पृष्ठभूमिका व्यक्ति प्राथमिकतामा पर्थे । यसपालि भने ‘पूर्व प्रशासक’लाई सिफारिस गरिएको छ ।

०००

पूर्व प्रशासक रेग्मीसँग कूटनीतिज्ञको अनुभव भने निकै छोटो छ । २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा उनी बेलायतको लागि राजदूत भएका थिए । तर, देउवा सरकार बनेपछि कार्यभार सम्हालेको ५ महिनाको छोटो समयमै उनीसहितका एकदर्जन जति देशका राजदूत एकसाथ फिर्ता आउनु परेको थियो ।

दिल्ली जान लागेका राजदूत रेग्मीमा तुलनात्मक रूपमा कूटनीतिक अनुभव कम भए पनि प्रशासनिक रूपमा भने निकै चतुर मानिन्छन् । गृह मन्त्रालयको शाखा अधिकृतबाट सेवा प्रवेश गरेका उनी मुख्यसचिवबाट अवकाश पाएका हुन् । वन मन्त्रालयको सहसचिव, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रमको उपसचिव, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयको प्रशासक, वनको सचिव हुँदै उनले प्रशासनिक करियरमा उचाइ हाँसिल गरेका थिए ।

उनी २०७२ मा अर्थसचिव भएका थिए । २०७३ भदौ १९ मा उनी गृहमन्त्रालयमा पुगे । ६ कात्तिक २०७४ मा रेग्मी मुख्यसचिव बनेका थिए । त्या बेलामा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । ३ कात्तिक २०७७ सम्म उनको कार्यकाल थियो । कार्यकाल सकिनुअघि १५ असोज २०७७ मा उनले राजीनामा दिएका थिए ।

त्यसपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बेलायतको राजदूतमा पठाएको थियो । तर, पूरा कार्यकाल बिताउन पाएनन्

राजदूत सिफारिस भएका पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी

रेग्मीको छनोट कति उपयुक्त ?

प्रशासनिक बढी अनुभव भएका रेग्मीले नेपाल भारत राम्रोसँग बुझेका हुनाले राजदूतमा उपयुक्त पात्र सरकारले छनोट गरेको कतिपय जानकारहरू बताउँछन् ।

रेग्मीको खुबी सबैसँग सम्बन्ध राख्न सक्ने भएको र नेपाल भारतबीच कायम समस्या समाधानमा उल्लेख्य भूमिका खेल्न सक्ने एकजना पूर्वराजदूत बताउँछन् ।

उनी भन्छन्, ‘‘विगतमा गैर राजनीतिक व्यक्तिले पनि भारतमा राजदूत भएर काम गरेको थिए । रेग्मीजी नेपाल सरकारको मुख्यसचिव भइसकेका व्यक्ति हुन् । प्रोटोकलमा पनि प्रश्न उठाउने ठाउँ छैन । यसको अलबा उहाँ भारतबारे बुझेको र जानेको मान्छे भएर राजदूतमा उपयुक्त पात्र हुन् ।’’

रेग्मी अर्थ सचिव, मुख्य सचिव भएर काम गरेकाले त्यो अनुभवलाई उपयोग गर्दै अधिकभन्दा अधिक आर्थिक कूटनीतिमा लगाउन सके परिणाम राम्रो आउने पनि एकथरी बताउँछन् ।

सरकारले एकसाथ आठ देशको लागि राजदूत सिफारिस गरे पनि धेरैको मुख्य चासो भारततर्फ छ । भारत सीमा जोडिएको राष्ट्र भएकाले पनि चासो बढ्ने गरेको छ ।

राजदूत फिर्ता र नियुक्तिको दलीय चक्रले बलियो होला कूटनीति  ?

भारतमा जाने राजदूतले दुई देशबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउन भूमिका खेल्नुपर्ने पूर्वराजदूत निलम्बर आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘‘दुई देशबीचको ऐतिहासिक सम्बन्धमा दुवै पक्षलाई अत्यधिक हित हुने गरी नयाँ संस्करणमा लैजाने दायित्व राजदूतमा हुन्छ । तर, नेपालमा समस्या भने पूरा कार्यकाल काम गर्न नपाउने हो कि भन्ने चिन्ता छ । म पनि फिर्ता बोलाएर आएको राजदूत हुँ । अहिले पनि समय नपुग्दै फिर्ता बोलाइयो । नयाँ फेरि सिफारिस भएका छन् । अब भने त्यस्तो नहोस् । किनकि यो प्रवृत्तिले कूटनीतिमा राम्रो गर्दैन । यस्तो हुनुहुँदैन ।’’

 

राजदूतको रूपमा रेग्मीबाट अपेक्षा

अब भारत जाने राजदूतको काँधमा केही निश्चित जिम्मेवारीहरू रहेका छन् । राजदूतले जिम्मेवारी निर्वाह गर्ने तरिकाले पनि दुई पक्षीय सम्बन्धमा अर्थ राख्छ ।

केही वर्षअघि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई भारत र नेपाल दुवैले आ–आफ्नो भौगोलिक नक्सामा समावेश गरेपछि दुई देशबीच अविश्वास उत्पन्न भएको थियो ।

दिल्लीस्थित नेपाली दूतावासको कार्यालय

भारतले सन् २०१९ को नोभेम्बरमा उक्त क्षेत्रलाई समेटेर आफ्नो नयाँ नक्सा प्रकाशित गरेपछि दुईदेशमा सम्बन्ध चिसिएको थियो ।

त्यसपछि २०७७ असार ५ मा नेपाल सरकारले पनि संविधान संशोधनमार्फत आफ्नो नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूभागलाई समेटिएको थियो ।

दुनियाँ मन्दीमा रहँदा भारतमा आर्थिक कायापलट हुँदै, यस्तो छ तीव्र विकास गर्ने ‘गतिशक्ति मास्टर प्लान’

नक्सा विवादपछि नेपाल–भारतबीच कतिपय संवाद रोकिएका छन् । गतवर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले केही संवाद अघि बढेका छन्, सम्बन्धमा भने चिसोपना छैन ।

दुई देशबीच उच्चस्तरीय औपचारिक राजनीतिक भ्रमण भइरहेका छन् । नियमित हुनुपर्ने बैठक भइरहेका छन् । यो अवस्थामा अब नयाँ राजदूतको काम विवादहरूलाई बाहिर–बाहिर नभई ‘टेबल टक’ मा कसरी ल्याउने र समाधान गर्ने भन्ने हुने भारतका लागि एक पूर्व राजदूत बताउँछन् ।

‘‘अब राजदूतको काम विवाद झिक्ने वा कोट्याउने होइन । ‘टेबल टक’ मा कसरी ल्याउने, कूटनीतिक माध्यमबाट समाधानको प्रयास गर्नेतर्फको अग्रसरता नै हो । अहिले भारतसँग संवाद जारी छ । यसैले दराजमा थन्किएको नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन कार्यान्वयनलगायतका केही विषय उठानमा राजदूतले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् र खेल्नुपर्छ ।’’

०००

यस बाहेक केही वर्षयता केही दुई पक्षीय परियोजनाहरूमा उल्लेख्य प्रगति भएको छ । त्यसलाई निरन्तरता दिनको लागि नयाँ राजदूतले अझै भूमिका खेल्नुपर्ने कतिपयको भनाइ छ ।

राजदूत भएर दिल्ली जान रेग्मी अर्थशास्त्रीका रूपमा पनि चिनिन्छन् । भारतसँगको व्यापार घाटा प्रतिदिन बढ्दै गएको छ । अपेक्षा अनुसार भारतीय लगानी नेपालमा भित्रिन सकेको छैन । व्यापार व्यवसायका क्षेत्रमा कैयन् समस्या थुप्रिएका छन् । अर्थशास्त्री राजदूतबाट त्यस क्षेत्रमा केही न केही सकारात्मक पहलकदमीको अपेक्षा रहने जानकारहरू बताउँछन् ।

गत वर्ष प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा केही ऐतिहासिक सम्झौता भएको थियो । कूटनीतिक क्षेत्रबाट पनि ती सम्झौता अनुसार काम अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन्छ ।

यो पनि पढ्नुहोस्-

नेपाल भारत सम्बन्धको नयाँ आयाम- ‘रोटीबेटी’देखि ‘यूथ कनेक्टिभिटी’सम्म

भारतको ‘प्रधानमन्त्री संग्रहालय’, जहाँ सजिएको छ नेपालले दिएको हात्तीको दाँत (हेर्नुहोस् ४० तस्वीर)

मोदीको ‘नमामी गङ्गे’ मिसन, जसले सफा बनाउँदैछ गङ्गा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved