बेथानचोकको बजेट : सुरुङमार्ग निर्माणदेखि छोरी बुहारीलाई निःशुल्क शिक्षासम्म

नेपालभ्युज

बेथानचोकको बजेट : सुरुङमार्ग निर्माणदेखि छोरी बुहारीलाई निःशुल्क शिक्षासम्म

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले छोरी बुहारीलाई निःशुल्क शिक्षादेखि सुरुङमार्ग निर्माणसम्मको योजनासहित बजेट ल्याएको छ । आर्थिक वर्ष २०८१\८२ को लागि ६४ करोड १२ लाख बजेट पेस गरिएको हो ।

सोमबार गाउँपालिकाले आयोजना गरेको गाउँसभाको १५औँ अधिवेशनमा बजेटसँगै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

पालिकाको १५ औँ गाउँ सभाका अध्यक्ष एवं गाउँपालिकाको अध्यक्ष भगवान अधिकारीले पेस गरेको बजेट तथा नीति कार्यक्रम गाउँसभा सदस्यले पारित गरेका थिए ।

गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पूर्वधार विकास नीतितर्फ ‘सहज यात्रा–हाम्रो संकल्प’ भन्ने नाराका साथ प्रत्येक वर्ष बेथानचोक गाउँपालिकाभित्र ‘५ कि.मि.सडक कालोपत्र तथा ढलान’ कार्यलाई निरन्तरता दिइनेछ । बेथानचोकका ६ वटै वडामा कालोपत्र सडक विस्तारको आयोजना सुरु गरिने योजना गाउँपालिकाले बनाएको छ ।

पूर्वाधार विकास नीतिअन्तर्गत नै काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा दुर्लुङ्गखोला–च्याम्राङ्गवेशी सुरुङ मार्गको विस्तृत अध्ययन गरी सुरुङ मार्ग खन्न सुरु गरिनेछ । साथै हाम्रा बहुमूल्य खनिजहरुको उत्खनन्तथा अध्ययन अनुसन्धान गरिने योजना समावेश गरिएको छ ।
विद्युतबाट हुने सम्भावित विपद्लाई टार्नका लागि बेथानचोक गाउँपालिकाभित्र काठका पोल विस्थापित गरी स्टिलका पोल राख्ने योजना पूर्वाधार विकास नीतिमा समावेश गरिएको छ ।

गाउँपालिकाभित्र सामुदायिक माध्यमिक विद्यालयहरूमा ‘सिक्दै कमाउँदै कार्यक्रम’ मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने शैक्षिक नीति बनाइने योजना शिक्षा नीतिमा राखिएको छ ।

त्यस्तै, क्रमशः एक वडाका एउटा विद्यालयमार्फत सीप सिकाउने वा आत्मनिर्भर बन्ने शिक्षा दिइनेछ । पालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छोरी–बुहारीलाई विश्वविद्यालयसम्मको निःशुल्क शिक्षाको व्यवस्था मिलाइने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

बेथानचोक गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गरी एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई एकपटक दुईलाख रुपैयाँ छात्रवृत्ति प्रदान गर्ने योजना गाउँपालिकाले बनाएको छ ।

त्यस्तै, बेथानचोक गाउँपालिकाको शिक्षालाई प्रोत्साहन गर्न व्यवस्थापन, मानविकी, विज्ञान, इन्जिनियरिङ संकायअन्तर्गत र स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत मेधावी एक जना विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्तिस्वरुप पचास हजार प्रदान गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

बौद्धिक सम्पत्तिको संरक्षण र संवर्द्धन गर्नका लागि बेथानचोक गाउँपालिकाका बारेमा स्नातकोत्तर र विद्यावारिधि तहमा शोधपत्र तयार गर्ने विद्यार्थीलाई प्रति शोधपत्र एक लाख सहयोग प्रदान गर्ने योजना गाउँपालिकाको रहेको छ ।

बेथानचोक गाउँपालिकाभित्र अव्यवस्थित रूपमा सञ्चालित खानी पूर्ण रूपमा बन्द गर्ने नीति गाउँपालिकाले राजस्व नीतिमा राखेको छ ।
सम्भावित खानी क्षेत्रमा खानी सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकनका आधारमा दर्ता भएका खानीलाई व्यवसाय दर्ता गरी सञ्चालन गर्न प्रोत्साहित गर्ने योजना गाउँपालिकाको रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved