नेपालगन्जको बजेट एक अर्ब ५० करोड 

नेपालभ्युज

नेपालगन्जको बजेट एक अर्ब ५० करोड 

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल एक अर्ब ५० करोड ३८ लाख ८६ हजार रुपैयाँ बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको उपमहानगरपालिकाको १५औँ अधिवेशनमा उपप्रमुख कमरुद्धिन राईले आगामी आवका लागि बजेट प्रस्तुत गरेका हुन् । आगामी आवका लागि विनियोजित बजेट चालु आवको भन्दा करिब ३५ करोड रुपैयाँ कम हो ।

प्रस्तावित बजेटमा आम्दानीतर्फ सङ्घका तर्फबाट ससर्त अनुदान ६१ करोड २४ लाख ७७ हजार रुपैयाँ, समपूरक अनुदान एक करोड र विशेष अनुदान एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, प्रदेशका तर्फबाट ससर्त अनुदान दुई करोड चार लाख रुपैयाँ, समपूरक अनुदान एक करोड ४० लाख रुपैयाँ रहेको छ । वित्तीय समानीकरण सङ्घको २७ करोड ९५ लाख रुपैयाँ, प्रदेशको दुई करोड पाँच लाख रुपैयाँ तथा आन्तरिक आयतर्फ २० करोड ११ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै, राजस्व बाँडफाँट, राजस्व बाँडफाँट रोयल्टी, घर जग्गा रजिष्ट्रेसन (मालपोत), आन्तरिक आय, आन्तरिक आय (मौज्दात)लाई उपमहानगरपालिकाले कूल आम्दानीका रूपमा उल्लेख गरेको छ ।

व्ययतर्फ चालु खर्च ३५ करोड ५२ लाख, सङ्घ समपूरक खर्च एक करोड, प्रदेश समपूरक खर्च एक करोड ४० लाख, अन्य समपूरक ७५ लाख, २३ वडा कार्यालयका लागि २० करोड विनियोजन गरिएको बजेट वक्तव्यमार्फत उपप्रमुख राईले जानकारी दिए ।

त्यसबाहेक वित्तीय व्यवस्था (सावा), वित्तीय व्यवस्था ब्याज भुक्तानी, नगरस्तरीय प्रवर्द्धनात्मक, विषयगत शाखा उपशाखालगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved