आलेख

‘आशावाद’ र ‘निराशावाद’को फजुल बहस

हिजो सत्तामा थिएनन् । तिनलाई विद्रोह र क्रान्ति चाहिएको थियो । नागरिक राज्य र शासकसँग जति असन्तुष्ट हुन्थे, ती त्यति नै खुसी हुन्थे । आज ती सत्तामा छन् । ठाडो भाषामा भन्ने हो भने राज्य लुट्ने, दोहन गर्ने, भ्रष्टाचार गर्ने, कमिसन खाने र मस्ती मार्ने ठाउँमा छन् । अब तिनलाई क्रान्ति, असन्तुष्टि, विद्रोह वा आन्दोलन शब्द घाँडो भयो ।

‘आशावाद’ र ‘निराशावाद’को फजुल बहस

हिजोआज म एक अनपेक्षित मारमा छु, त्यो हो— ‘वाइट’ र ‘कोट’ माग्नेहरूको बाक्लो फोन ।

स्वीकार गरौँ, न त्यो मेरो रुचिको विषय हो, न त्यति धेरै समय नै हुन्छ । अस्वीकार गरौँ, आग्रह गर्नेको मन दुखाउन उचित लाग्दैन । ‘असामाजिक’ होइएला भन्ने डर लाग्छ । जीवनभरि ‘विनम्रता’ को अभ्यास गरेको मान्छे, मुफतमा ‘अहङ्कारी’ भन्देलान् भन्ने पीर लाग्छ ।

लेखक/स्तम्भकारलाई ‘विश्लेषक’ भनिदिने/ठानिदिने हाम्रो मनोविज्ञान बढो अनौठो छ । ‘विश्लेषक’ खासमा तिनलाई भनिनुपर्ने हो, जो कुनै ‘रिसर्च सेन्टर’ वा ‘स्टडी सर्कल’ मा काम गर्दछन् । जसको रुचि र पेशा नै त्यही हो । जससँग कुनै विषय, सवाल वा घटनाका अद्यावधिक तथा सहीसलामत तथ्याङ्क हुन्छन् । जो कुनै खास विषयको ‘विज्ञ’ हुन्छ । ‘विषयविज्ञ’ दाबी गर्ने कुनै शिक्षा, नैतिक, अनुभवजन्य तथा ज्ञान प्राधिकार हुन्छ ।

भारतमा प्रशान्त किशोरलाई चुनावी रणनीतिकार र राजनीतिक भविष्यको सही पूर्वअनुमानकर्ताका रूपमा यति धेरै उचालियो कि यसपटक उनको हबिगत भयो । हालै सम्पन्न १८औं लोकसभा निर्वाचन परिणाममा उनका अधिकांश विश्लेषण र अनुमान फेल खाए ।

त्यस्तै ‘हल्का’ भइएला भन्ने डरले यो ‘विश्लेषक’ भन्ने मुफतको पदवी निक्कै भारी लाग्छ ।

अर्को कुरा, यो लेखक/स्तम्भकार भनेको यस्तो जन्तु हो, जसलाई सधैँ समयकै अभाव हुन्छ । लेख्नका लागि जति समय चाहिन्छ । त्यसको दोब्बर, तेब्बर समय त सन्दर्भ जुटाउन, अध्ययन गर्न र तर्क सृजनाका लागि घोत्लिन चाहिन्छ ।

त्यसैले अक्सर म मौन बस्न वा थोरै बोल्न रुचाउँछु । तर, यो संसार आफूले चाहेजस्तो मात्र कहाँ छ ।

केही दिन अघिको कुरा हो, यस्तै एक ‘साउन्ड-बाइट’ माग्ने कुनै अनलाइनका एक पत्रकार मित्रले फोनमा सोधे— सर, अचेल नेताहरूले निराशावादी समाचार, टिप्पणी, लेख धेरै लेखियो भन्छन । सम्पादक र सञ्चारमाध्यमलाई गाली गर्दछन् । नेताहरूको डरले हो कि स्वअनुभूतिले हाम्रा सम्पादकले पनि त्यही भन्न थालेका छन् । ‘पोजिटिभ स्टोरी’ खोज भन्छन् । सरको विचारमा अहिले ‘पोजिटिभ स्टोरी’ का क्षेत्र र विषय के-के हुन सक्दछन् ?

मनमनै हाँसो उठ्यो । तर, प्रश्नकर्तासँग फोनमा हाँस्नुको कुनै तुक थिएन । एकक्षण आफैँ सोचेर भनेँ— यसो गर्नुस् न, प्रतिदिन ७७ जिल्ला कार्यालयले कतिवटा नागरिकता जारी गर्छन, त्यसको तथ्याङ्क दिनुस् । यस्ता समाचार बनाउनुस्, आज काठमाडौं सिडियो कार्यालयबाट ५०० नागरिकता जारी भए, फुङलिङ नगरपालिकाबाट २० जनाले सिफारिस लिए, कञ्चनपुरको भीमदत्त नगरपालिकामा ५० वटा नक्सापास भए । कलङ्की मालपोत कार्यालयले यति कित्ता जग्गा किनबेचको रजिष्ट्रसन पास गरिदियो । देशभरिका मालपोत कार्यालयबाट यति कित्ता जग्गा किनबेच भयो ।

देशका सबै विद्यालयमा आज पढाइ भयो । कुनै पनि वन-जङ्गलमा आगो/डढेलो लागेन । आज बीपी राजमार्ग वा अन्य कुनै राजमार्गमा कुनै दुर्घटना भएन । आज सडक विभागले देशभरि ५ वटा पूल र १० वटा कल्भर्ट बनाइसक्यो ।

आज देशभरिको कुनै पनि कुकुर बहुलाएन, कसैलाई बहुलाहा कुकुरले टोकेन । यस्ता पोजिटिभ न्युज, पोजोटिभ स्टोरी कति छन् कति ।

ती पत्रकार मित्रले सोधेर मात्रै हैन, ‘निराशावादको भाष्य’ आज बाक्लै सुनिन्छ । एकाथरि भन्छन्— निराशावाद प्रयोजित रूपमा फैलाइयो । अर्कोथरि भन्छन्— निराशावादलाई अब चिर्न पर्दछ ।

के हो आशावाद ? के हो निराशावाद ? खै कहाँनेर छ आशावाद ? कहाँनेर छ निराशावाद ? को-को रहेछन् आशावादी, को-को रहेछन् निराशावादी ?

यी प्रश्नको कुनै प्रष्ट उत्तर, चित्र वा तस्वीर भएजस्तो लाग्दैन ।

सँगसँगै एकअर्को ‘न्यारेटिभ’ पनि छ, नागरिकलाई राज्यप्रति सदावहार विद्रोही बनाइयो । सधैँ विद्रोही मानसिकता राखेर हुँदैन । अब नागरिक राज्यप्रति सकारात्मक भइदिनुपर्‍यो ।

बढो गजबको तर्क प्रणाली । नागरिक राज्यप्रति सकारात्मक भइदिनुपर्ने हो कि राज्य नागरिकप्रति उत्तरदायी हुनुपर्ने हो ? राज्य नागरिकप्रति उत्तरदायी भए नागरिक राज्यप्रति स्वाभाविक रूपमा सकारात्मक हुन्छन्, त्यसका लागि कुनै अतिरिक्त अपील जरुरी छ र ?

अझ यसो भन्नेहरू म तिनै मान्छे बढ्दा देख्छु, जो हिजो आफूलाई खसोखास विद्रोही ठान्थे । क्रान्तिकारी भन्थे । संसार निरन्तर क्रान्तिमा हुन्छ भन्थे । ‘राज्य र क्रान्ति’ पढ्न दिन्थे । ‘विद्रोहको अधिकार’ को कुरा गर्थे ।

एकसे एक विद्रोही आज भन्दैछन् कि विद्रोह धेर भयो । एकसे एक क्रान्तिकारी आज भन्दैछन् कि क्रान्ति धेर भयो । एकसे एक असन्तुष्ट आज भन्दैछन् कि असन्तुष्टि धेरै भयो ।

यो ‘भिन्नता’ कहाँबाट आयो ? कुरा साधारण छ । ती हिजो सत्तामा थिएनन् । तिनलाई विद्रोह र क्रान्ति चाहिएको थियो । नागरिक राज्य र शासकसँग जति असन्तुष्ट हुन्थे, ती त्यति नै खुसी हुन्थे ।

आज ती सत्तामा छन् । ठाडो भाषामा भन्ने हो भने राज्य लुट्ने, दोहन गर्ने, भ्रष्टाचार गर्ने, कमिसन खाने र मस्ती मार्ने ठाउँमा छन् । अब तिनलाई क्रान्ति, असन्तुष्टि, विद्रोह वा आन्दोलन शब्द घाँडो भयो । नागरिक जागरण घाँडो भयो । नागरिकको राज्यप्रतिको खबरदारी तिनलाई ‘सदावहार असन्तुष्टि’ जस्तो लाग्दछ ।

‘निराशावादको भाष्य’ यही नेरबाट निसृत छ । हिजोका शासकलाई जस्तै आजका शासकलाई पनि त्यही लागिरहेको छ— अब त हामी सत्तामा छौँ, बल्ल-बल्ल हाम्रो पालो आएको छ, अब त मिडिया चुप लागिदिए हुन्थ्यो, नागरिक चुप लागिदिए हुन्थ्यो ।

शासक महोदय ! संसार त्यस्तो हुँदैन । सृष्टिको नियम र समाजको गति त्यस्तो हुँदैन । राष्ट्रको जीवन त्यस्तो हुँदैन । त्यो त शासकीय चाहना हो, आफ्नो कार्यकाल भरि कोही नबोलिदिऊन्, कसैले हल्ला नगरिदिऊन् । चुपचाप शासन गर्न पाइयोस् । चुपचाप दाइँ गर्न पाइयोस् । जे आउँछ, चुपचाप खान र पचाउन पाइयोस् । यसो गर्न नपाए निराशावादको हो-हल्ला गर्ने ?

नागरिकको राज्य र शासक वृत्तका विकृत अभ्यासप्रतिको असन्तुष्टि, परिवर्तनको पहलकदमी, जागरण, आन्दोलन, विद्रोह वा क्रान्तिको चाहनालाई ‘निराशावाद’ भनिन्छ ? कुन दार्शनिकको ? कुन विचारक वा चिन्तकको विश्लेषण हो यो ? को रहेछ यस्तो ब्रह्माज्ञानी ?

के भारतमा भगतसिंह, महात्मा गान्धी, सुवासचन्द्र बोस, जवाहरलाल नेहरूलाई ‘निराशावादी’ भनिन्थ्यो ? स्वतन्त्रता र स्वराज दाबी गर्ने जनतालाई निराशावादी भनिन्थ्यो ? के अमेरिकाका वासिङ्गटन, जेफसन, हेमिल्टन, लिङ्कन, मार्टिन लुथर किङहरूलाई ‘निराशावादी’ भनिन्थ्यो ?

विद्रोही भनिन्थ्यो होला, क्रान्तिकारी भनिन्थ्यो होला, आन्दोलनकारी भनिन्थ्यो होला । बरु आतङ्ककारी, राज्यद्रोही भनिन्थ्यो होला तर, ‘निराशावादी’ भनिँदैनथ्यो । परिवर्तनको चाहनामाथि निराशावादको आरोप सर्वाधिक निकृष्ट र चुत्थो आरोप हो । जो, हिजोका निरङ्कुश शासकले समेत सचेत नागरिकमाथि, सञ्चार क्षेत्र र नागरिक अभियानकर्मीमाथि लगाउने आँट गरेनन् ।

आज ‘निराशावादको प्रायोजित भाष्य’ खडा गरेर राज्य व्यवस्था, अर्थतन्त्रको पुनर्संरचना, सुशासन संयन्त्र र मानकको परिवर्तन तथा सामाजिक विभेदको अन्त्य खोज्ने नागरिक चाहनालाई आरोपित गर्नु शासकीय स्वार्थ र निर्लज्जताको पराकाष्ठा हो ।

निराशावाद फैलाइयो भन्नेहरूको ‘आशावाद’ के हो ? कुन हो ? तिनको आशावादले माखो मारेको कुनै एउटा तथ्य छ ? देशभित्र रोजगार, उद्यमशीलता नहुनु र दैनिक औसत ३ हजार श्रमशक्ति विदेश उड्नु आशावाद हो ?

गृहमन्त्री र गृहसचिवहरूले, प्रधानमन्त्रीकै मिलोमतोमा नागरिकलाई ‘नक्कली शरणार्थी ’ बनाएर पैसा असुल्नु आशावाद हो ? दैनिक दर्जनौं भ्रष्टाचारका काण्ड पर्दाफास हुनु, पूर्वप्रधानमन्त्री, मन्त्रीहरू, मुख्यसचिव र सचिवहरू नै त्यसमा मुछिनु वा संलग्न हुनु आशावाद हो ?

विश्वको औसत प्रतिव्यक्ति आय १४ हजार डलर पुग्दा देशको प्रतिव्यक्ति आए मुश्किलले १४ सय नाघ्नु आशावाद हो ? निरपेक्ष गरिबी घट्नुको साटो उल्टै बढ्न थाल्नु आशावाद हो ? अर्थतन्त्रको वृद्धिदर दशकौंदेखि औसत ४ प्रतिशतभन्दा माथि नहुनु, अहिलेसम्म कहिल्यै दुई अङ्कको नहुनु आशावाद हो ?

करिब ३ करोड मान्छेको आधुनिक अर्थतन्त्र मुश्किलले ५६ खर्बको हुनु आशावाद हो ? निर्यात आयात अनुपात १ः१४ हुनु आशावाद हो ?

राज्यको सार्वजनिक ऋण जिडीपीको करिब ४५ प्रतिशत पुग्नु र देशको वर्षिक बजेट चालू र वित्तीय खर्चमै सकिनु, पुँजीगत खर्चका लागि कञ्चो बाँकी नरहनु आशावाद हो ?

महिना-महिनामा गठबन्धन फेर्नु, चुनावअघि र पछि फरक-फरक चरित्रका अनैतिक र अवैचारिक गठबन्धन बनाउनु आशावाद हो ? तथाकथित नयाँ भनिएकाहरू पुरानाकै सरकार र सिन्डिकेटमा सामेल भएर भागबन्डा गरी खानु आशावाद हो ?

के हो यो आशावाद भनेको ? कुन चरीको नाम हो आशावाद ? कस्तो हुन्छ यसको टाउको र पुच्छर ? कस्तो छ यो आशावादको रङ्ग र ढङ्ग ?

खासमा आजको समस्या न आशावाद हो न निराशावाद हो । आशावाद र निराशावादको बहस र भाष्य नै फजुल हो । प्रश्न त यथास्थितिमा बस्ने कि परिवर्तन खोज्ने भन्ने हो ?

यहाँ न कोही आशावादी छ, न कोही निराशावादी छ । कोही आशावादी भएर उल्कापात प्रगति गरेका कुनै दृष्टान्त छैनन् । कोही निराशावादी भएर सामूहिक आत्महत्या गरेका छैनन् । सबैको आ-आफ्नो दृष्टिकोण हो, आफ्नो धारणा, सोच र समझ हो । सबैको आ-आफ्नो राजनीति हो ।

व्यक्तिगत जीवनका समस्याको समाधान सबैले आ-आफ्नै तरिकाले गरेका छन्, गर्दैछन् । यद्यपि त्यो झन्‌झन् जटिल हुँदैछ, धेरैका लागि । कोही शासकसँग भिख माग्न गएको छैनन् । केही निराशावादी कथित आशावादीको घरमा जबर्जस्त पाहुना लाग्न गएका छैनन् । तथाकथित आशावादीहरूले कसैलाई कुनै उपकार गरेको कुनै गतिलो रेकर्ड छैन ।

प्रश्न कहाँनेर हो भने आज देशमा जुन राजनीतिक, संवैधानिक, कानुनी, आर्थिक, प्रशासनिक, सामाजिक, नैतिक तथा भूराजनीतिक समस्या छन्, तिनको समाधान गर्न कुनै नागरिक पहलकदमी गर्ने कि चुप लागेर बस्ने ? मुख्य कुरा यो हो ।

एउटा अर्को क्रान्ति, परिवर्तन र आन्दोलनको लागि नागरिक तयारी गर्ने कि अहिलेकै यथास्थितिवादमा रम्ने ? मुख्य प्रश्न यो हो । जसलाई अहिलेकै स्थिति सही, उत्तम र उचित लागेको छ, लाग्न पाउँछ । प्रतिक्रियावादीलाई प्रतिक्रियावादी हुने, यथास्थितिवादीलाई यथास्थितिवादी हुने अधिकार पनि लोकतन्त्रले दिन्छ । तर, परिवर्तन, क्रान्ति, विद्रोह, आन्दोलन पनि लोकतान्त्रिक अधिकार नै हो, निराशावाद हैन ।

जसरी प्रतिक्रियावाद र यथास्थितिवाद आशावाद हैन, त्यसैगरी परिवर्तनको चाहना निराशावाद हैन ।

यही त्रिकोणात्मक सङ्घर्षले अघि बढ्ने हो— समाज । यही प्रक्रियाले निर्माण हुुँदै आएको हो— राष्ट्र । तसर्थ, अहिलेका शासक, अहिलेको राज्यप्रणाली, अहिलेका विसङ्गति, विकृति, भ्रष्टाचार र कुशासनविरुद्ध नागरिकले विद्रोह र आन्दोलन त गर्छन्, गर्छन् । कुनै न कुनै दिन, कुनै न कुनै बिन्दुमा पुगेर तेस्रो जनान्दोलन त हुन्छ, हुन्छ ।

त्यो निराशावाद हैन, सबैभन्दा ठूलो आशावाद हुनेछ । जसले आफूलाई आशावादी भनिरहेका छन्, ती खासमा निराशावादी हुन् । ‘अब अगाडि केही गर्न सकिँदैन, यति नै हो, जे-जे गर्नु थियो, गरी सकियो, अब ब्याज खाने हो’ भनेर निच मारेर बसेका मुर्दाहरू नै खासमा निराशावादी हुन् ।

जसलाई निराशावादी भनिँदैछ, ती खासमा आशावादी मानिस हुन् । किनकि समाज र राष्ट्रको भविष्य उनीहरूकै असन्तुष्टि, आन्दोलन, सृजनशील सोच, वैकल्पिक प्रस्तावना, रचनात्मक हस्तक्षेप, क्रान्ति र विद्रोहमा निहित छ । जसको लट र कपटले देश बर्बाद हुँदैछ, ती कसरी आशावादी ? जसको प्रयासले देशको भविष्यको सुनिश्चिता गर्न खोज्दैछ, ती कसरी निराशावादी ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved