कोशी सरकारविरुद्धको रिटमा जवाफी बहस सकिए आजै फैसला आउने सम्भावना

नेपालभ्युज

कोशी सरकारविरुद्धको रिटमा जवाफी बहस सकिए आजै फैसला आउने सम्भावना
फाइल तस्वीर

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुँदै छ ।

जवाफी बहस सकिए आज फैसला आउने सम्भावना छ । तर प्रतिपक्षीले धेरै जना वकिलको नाम लेखाएकाले बहस अझै लम्बिनसक्ने सम्भावना पनि छ ।

सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ भइरहेको रिटमा प्रतिवादी कोशी सरकारका वहालवाला मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट भएको बहस हिजो सकिएको छ । आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुने कार्यसूची छ ।

बहसबाट संविधान र संसदीय प्रक्रिया महत्वपूर्ण हुन्छ अथवा संसद्भन्दा बाहिरबाट सरकार बनाउन मिल्छ भन्ने विषय टुंग्याएपछि पूर्ण इजलासले फैसला दिनेछ ।

कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावसमेत नराखी नयाँ मुख्यमन्त्री नियुक्त गरिएको थियो । एमालेका हिक्मतकुमार कार्कीलाई नियुक्त गरेपछि आफू मुख्यमन्त्री बहाल रहँदा रहँदै भएको नियुक्तिमाथि प्रश्न उठाउँदै केदार कार्की सर्वोच्च पुगेका हुन्

उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव नआएको, राजीनामा नदिएको र पदमुक्त हुने अन्य आधार पनि केही नभएको अवस्थामा नयाँ मुख्यमन्त्री नियुक्ति भएको दाबी गरेका छन् ।

उनले संविधान र संसदीय प्रक्रियामा प्रवेश नै नगरी सरकार बनाउने कुराले लोकतन्त्रलाई अराजकतातर्फ धकेल्ने भन्दै तत्काल अन्तरिम आदेशमार्फत प्रदेश प्रमुख परशुराम खापुङको निर्णय सच्याउन माग गरेका छन् ।

सरकार बन्ने र ढल्ने स्पष्ट व्यवस्था संविधानमा हुँदा हुँदै संकल्प प्रस्तावले तोकेको मितिमा विश्वासको मत नलिएको भनेर प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको रिटमा दाबी छ ।

रिटमा संवैधानिक पदमा रहेका प्रदेश प्रमुखले असंवैधानिक भूमिका निर्वाह गरेको भन्दै उनलाई बर्खास्त गर्नसमेत माग गरेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved