गाउँसभामा उपाध्यक्षले नै च्यातिन् बजेट, आफ्नो ‘हालीमुहाली चल्ने ठाउँ’मा बजेट थोरै भएको असन्तुष्टि (भिडिओ)

बजेट पढ्न गएकी उपाध्यक्ष आफैँले बजेटको झोला च्यातेपछि अध्यक्षले ‘मर्यादित र संयमित हुन’भन्दै आग्रह गरे । अगाडि सभाहलमा बसेका सदस्यहरूले पनि होहल्ला गर्दै भने ‘उपाध्यक्षज्यू तपाई गल्ती गर्दैहुनुुहन्छ । नच्यात्नुहोस्, नच्यात्नुहोस् ।’

नेपालभ्युज

गाउँसभामा उपाध्यक्षले नै च्यातिन् बजेट, आफ्नो ‘हालीमुहाली चल्ने ठाउँ’मा बजेट थोरै भएको असन्तुष्टि (भिडिओ)

काठमाडौं । सङ्घीय सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै विपक्षी दलका केही सांसदले रोस्ट्रममै बजेट पुस्तिका च्यातिरहेका छन् । सत्तापक्षले बजेट सन्तुलित रूपमा विनियोजन नगरेको भन्दै विरोधस्वरूप उनीहरूले त्यसो गरेका हुन् ।

यो क्रम स्थानीय सरकारसम्मै पुगेको छ ।  रुकुमपूर्वीको भूमे गाउँपालिकाकी उपाध्यक्ष सविना बुढा आफैँले बजेट च्यातेकी छन् ।

सोमबार बजेट पेस गर्नको लागि गाउँसभा बैठक बसेको थियो । सभा सञ्चालक थिए, पालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ । उनले सभा अघि बढाउँदै भने, “यसै पालिकाकी उपाध्यक्षज्यूलाई आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्न अनुमति दिन्छु ।”

उपाध्यक्ष बजेटको झोला लिएर पोडियममा पुगिन् । बजेटको झोला रिबनले बेरिएको थियो । पोडियममा कैँची राखिएको थियो । उपाध्यक्षले कैँचीले रिबन काटेपछि सबैले ताली बजाए । त्यसपछि बजेट पढ्न सुरु गर्नुपर्ने उनले च्यात्न पो थालिन् ! उनको यो हर्कतले सबै अचम्मित भए । उनले झोला त च्यातिहालिन् ।

बजेट पढ्न गएकी उपाध्यक्ष आफैँले बजेटको झोला च्यातेपछि अध्यक्षले ‘मर्यादित र संयमित हुनुहोस्’ भन्दै आग्रह गरे । अगाडि सभाहलमा बसेका वडाध्यक्ष तथा सदस्यहरूले पनि सम्झाए— उपाध्यक्षज्यू तपाईं गल्ती गर्दै हुनुहन्छ । बजेट नच्यात्नुहोस्, नच्यात्नुहोस् ।

जतिबेला उनी झोला च्यातिसकेर बजेटपुस्तिका च्यात्ने सुरसारमा थिइन् ।

वडाध्यक्ष तथा सदस्यहरूसँगै सरोकारवालाहरूले गरेको आग्रहपछि बल्ल उनी रोकिइन्, बजेट पुस्तिका नै भने उनले च्यातिनन् ।

सबैको दबाबपछि उनले भनिन्, “म जनताको अगाडि उभिएर मेरो काम कर्तव्य अधिकारलाई प्रयोग गरेर बजेट मात्र पढ्दैछु । तर, यो भित्र जति कार्यक्रम छ, त्यो कुनै लायकको छैन । तर, जनताको अगाडि मैले बजेट ल्याउने व्यवस्था भएकाले मात्र बाध्यताले पढदैछु ।”

उनी त्यतिमा मात्र रोकिइनन्, पालिकाका कर्मचारीलाई समेत छुद्र गाली गर्न थालिन् । “यो एक/दुईजना झोले कर्मचारीको लह-लहैमा लागेर बजेट आएको छ ।” उनले यसो भन्नुको मतलब पालिका अध्यक्षलाई कर्मचारीले साथ दिएका थिए । आफ्नो पक्षमा नआएको गुनासो उनको थियो ।

किन त्यसो गरिन्, के थियो असहमति ?

प्रमुख र उपप्रमुखबीचको टकराव, बहुमत-अल्पमतको सङ्घर्ष र वडाध्यक्षहरूको अवरोधका कारण कतिपय पालिकामा विवाद भएको छ । तर, यस तहको विवाद भने भूमे गाउँपालिकामा मात्र देखियो ।

उपाध्यक्ष बुढा र अध्यक्ष श्रेष्ठ एकै पार्टीका हुन् । दुवै माओवादीबाट निर्वाचित भए पनि दुवैबीच बोलचालसमेत राम्रो छैन । बजेट बनाउँदा उपाध्यक्षको कार्यक्षेत्रमा पर्ने योजनाहरूमा धेरै बजेट पारिएको उनको असन्तुष्टि रहेको बताइन्छ ।

“बजेटमा आफ्नो हालीमुहाली चल्ने ठाउँमा थोरै बजेट आयो भन्ने उहाँको असन्तुष्टि हो । बजेट पुस्तिका नै च्यातेर बबाल गर्छु भनेर जानुभएको थियो, धन्न झोला मात्र च्यात्नुभयो,” जानकारहरू भन्छन् ।

अन्तर्सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले १० असारमा स्थानीय तहले बजेट ल्याउनुपर्छ । ऐनअनुसार गाउँ तथा नगर सभामा ‘गाउँ तथा नगर कार्यपालिकाले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्ने जिम्मेवारी पालिका उपाध्यक्षको हुने तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved