नोटबन्दी घोषणा गरेर गर्ने कुरा होइन : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

नोटबन्दी घोषणा गरेर गर्ने कुरा होइन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नोटबन्दी बारे अन्तिम निष्कर्षमा नपुगेको बताएका छन् । उनले नोटबन्दी गर्नुपर्‍यो भने पनि घोषणा गरेर गर्ने कुरा नभएको बताए ।

प्रधानमन्त्री सभाको मंगलबारको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘नोटबन्दी सम्बन्धी पनि माननीय सदस्यहरूले राख्नुभएको छ । यो विषयको संवेदनशीलता हामी सबैले महसुस गरेकै छौँ । गर्नु नै पर्‍यो भने पनि घोषणा गरेर गर्ने कुरा होइन । अहिले सरकार अन्तिम निष्कर्षमा पुगिसकेको पनि छैन ।’

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सांसद तेजुलाल चौधरीले मंगलबार आफ्नो प्रश्नमार्फत् यस विषयमा जिज्ञासा राखेका थिए । उनले देशमा व्यापक रुपमा भ्रष्टाचार भइरहेको, देश मन्दी अवस्थामा रहेको र आर्थिक कारोबार नभइरहेको भन्दै नोटबन्दी गर्न सकिन्छ कि सकिँदैन भनेर प्रश्न गरेका थिए ।

‘नोटबन्दी गर्न सकिन्छ कि सकिँदैन ? ५०० र १००० रुपैयाँको नोटलाई नोटबन्दी गर्न सकिन्छ कि सकिँदैन ?’, उनले सोधेका थिए ।

यसअघि मन्त्रालयगत छलफलमा पनि ५०० र १००० को प्रतिबन्ध लगाउनुपर्ने विषय उठेको थियो ।

प्रतिनिधि सभाको असार ५ गतेको बैठकमा कांग्रेस उपसभापति समेत रहेका सांसद धनराज गुरुङले ५०० र १००० को नोट ‘क्विट’ गरिनुपर्ने तर्क राखेका थिए । आर्थिक सुशासनका लागि पनि त्यसो गर्नुपर्ने उनको तर्क थियो ।

‘यदि ५०० र १००० को नोट ‘क्विट’ गर्‍यौँ भने ८० प्रतिशत गैरकानुनी कारोबार रोकिन्छ । ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ । र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ । यसरी जाने हो नि त । अनि सिरानीमुनि भएको पैसा, खाटमुनि भएको पैसा, जमिनमुनि भएका पैसा, पानीमुनि भएको पैसा जम्मै बाहिर आउँछ । त्यसपछि हामी पैसा छैन भन्ने ठाउँबाट पैसा छ भन्ने ठाउँमा पुग्छौँ’, गुरुङले भनेका थिए ।

विस्तृतमा पढ्नुहोस्- ५०० र १००० को नोट प्रतिबन्धको प्रस्ताव : भारतीय अनुभव बेवास्ता गर्दै बजिरहेको ‘बेमौसमको बाजा’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved