नैबको ‘नाटक’ले अफगानिस्तान सेमिफाइनलमा पुगेको हो ?

नेपालभ्युज

नैबको ‘नाटक’ले अफगानिस्तान सेमिफाइनलमा पुगेको हो ?

काठमाडौं । आईसीसी टी-२० विश्वकपको ‘सुपर-८’ को ‘समूह-१’ को अन्तिम खेलमा अफगानिस्तान र बंगलादेशबीचको खेल रोचक हुने अपेक्षा गरिएको थियो । जुन टोलीले जित हात पार्‍यो, त्यही टोली सेमिफाइनलमा जाने अवस्था थियो ।

मंगलबार बिहान वेस्ट इन्डिजको अर्नोस भेल स्टेडियममा भएको खेल सामान्य स्कोरमै रोकियो । अफगानिस्तान ११५ रनमै समेटियो । त्यसलाई बंगलादेशले सजिलै पछ्याउने अपेक्षा गरिएको थियो ।

तर, वर्षा र अफगान अलराउन्डर गुलबदिन नैबको ‘नाटक’को कारण खेल अफगानिस्तानको पोल्टामा पर्‍यो ।

खेलमा केही घटनाहरू प्रस्ट देखिए, जसमा अफगानिस्तानले जानाजानी गल्ती गरेको देखिन्छ । सत्य यो हो कि खेल वर्षाका कारण प्रभावित भएको थियो ।

उक्त खेल यदि वर्षाले पूरा गर्न नसकेको भए अफगान टोली डीआरएस नियममा पराजित हुनसक्थो ।

बंगलादेशको इनिङ्सको ११औं ओभर चलिरहेको बेलामा डगआउटबाट अफगानिस्तानका मुख्य प्रशिक्षक जोनाथन ट्रोटले आफ्ना खेलाडीलाई ढिलो बलिङ गर्न निर्देशन दिए ।

त्यति बेला पानी सिमसिम पर्न थालिसकेको थियो । त्यस समयमा अफगानिस्तान डीआरएस नियममा केही रनले मात्र अगाडि रहेको थियो ।

वर्षाले खेल रोकिएको अवस्थामा आफ्नो टोली डीआरएस नियममा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गर्नसक्ने उनको आकलन थियो ।

त्यतिबेला नुर अहमद बलिङ गर्न अगाडि बढिरहेका थिए । तर, विकेटकिपरसँगै बसेका गुल्बादिन नैब एक्कासी ढले । खुट्टा समात्दै उनी मैदानमा ढले ।

उनी ठूलो चोट लागेको जसरी मैदानमा मडारिन थाल्छन् । उनलाई पछि सहकर्मीले समातेर मैदानबाहिर लैजान्छन् ।

खेललाई सुस्त बनाउन उनले आफू घाइते भएको नाटक गरेको खेल प्रेमीहरूको आरोप छ । हेर्दा पनि त्यस्तै देखिन्छ ।

त्यसलाई कमेन्ट्री गर्नेहरूले पनि औल्याएका हुन्छन् । कमेन्ट्री गर्नेहरू नैब मैदानमा ढल्दा नाटक गरेको भन्दै हाँसेको प्रस्ट सुनिन्छ ।

सोही बेलामा अम्पायरले वर्षाको कारण खेल रोक्छन् । जुन समयमा अफगान टोली डीआरएसमा २ रनले अगाडि रहेको हुन्छ ।

अर्थात् वर्षाका कारण खेल पुनः सुरु हुन नसके अफगानिस्तानले खेल जित्ने पक्का भएको थियो ।

नैबको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले नाटक गरेको भनेर चर्को आलोचना भइरहेको छ । यसका लागि उनलाई ओस्कार अवार्ड दिनुपर्ने भन्दै फ्यानहरूले टिप्पणी गर्न थालेका छन् ।

जे होस्, खेलमा नैबको नाटक र ट्रोटको रणनीति भने सफल भएको पाइन्छ ।

पछि खेल पुन: सुरु भएर वर्षाले फेरि रोकिएको थियो । जसमा अफगानिस्तान ८ रनले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved