अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

नेपालभ्युज

अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

जनकपुर । जनकपुरधाममा आजबाट ‘अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल’ सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फेस्टिभलको उद्घाटन गरे ।

मुख्यमन्त्री सिंहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा ‘फिल्म फेस्टिभल’ले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले मैथिली भाषामा राम्रा चलचित्र निर्माण हुनु गौरवको विषय भएको बताए ।

वरिष्ठ कलाकार नीर शाहले मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले विविधता बीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई बलियो बनाउने विचार व्यक्त गरे ।

‘फेस्टिभल’को औपचारिक उद्घाटन कार्यक्रमको अध्यक्षता लोक सञ्चारका अध्यक्ष रमेश रञ्जन झाले गरेका थिए । कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख किशोरी साह, गायक सुनिल मल्लिक, अभियानी विभा झालगायतका वक्ताहरुले मैथिली भाषाको अन्तर्राष्ट्रिय ‘फिल्म फेस्टिभल’ले भाषा, संस्कृति तथा कलाको संरक्षणमा मद्दत पुग्ने बताए ।

‘फेस्टिभल’मा मिथिलाञ्चल क्षेत्रका प्रसिद्ध कलाकार, लेखक, गायक तथा निर्देशक सहभागी छन् । दुई दिनसम्म चल्ने ‘फिल्म फेस्टिभल’ सङ्घीयता कार्यान्वयन भएपछि पहिलो पटक आयोजना गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चारको संयुक्त आयोजनामा जनकपुरधामको गिरिजा चलचित्र मन्दिरमा सुरु भएको ‘फेस्टिभल’मा ललका पाग, लोटस ब्लुम्स, समानान्तर गरेर तीन वटा फिचर फिल्मको प्रदर्शन हुने कार्यक्रम छ ।

यसैगरी वृत्तचित्र गुमकी र विद्यापत तथा लघु फिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुने आयोजक लोकसञ्चार संस्थाका अध्यक्ष रमेश रञ्जन झाले जानकारी दिए । अन्तर्राष्ट्रिय मैथिली ‘फिल्म फेस्टिभल’को क्रममा मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमालगायतका विषयमा विमर्श गरिने आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved