कसरी निर्धारण हुन्छ विदेशी मुद्राको विनिमय दर ? 

नेपालभ्युज

कसरी निर्धारण हुन्छ विदेशी मुद्राको विनिमय दर ? 

काठमाडौं । बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ७७ पैसा रहेको छ । हिजो मंगलबार एक पाउन्डको खरिद दर  १६८ रुपैयाँ ७१ पैसा थियो । त्यस्तै, दर १६९ रुपैयाँ ४७ पैसा थियो । मंगलबारभन्दा बुधबार बेलायती पाउन्ड थप बलियो र नेपाली रुपैयाँ थप कमजोर बनेको देखिन्छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा थियो । त्यस्तै, बिक्री दर १३३ रुपैयाँ ८४ पैसा थियो ।

उल्लेखित दुई देशको मुद्राको सटही र बिक्री दर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार तय भएका हुन् । उसले हरेक दिन विदेशी मुद्राको सटही दर (विनिमय दर) सार्वजनिक गरिरहेको हुन्छ । जसअनुसार उपभोक्ताहरूले आफूसँग भएको मुद्रा ‘एक्सचेन्ज’ गर्ने गर्छन् ।

तर यसरी दैनिक जसो विदेशी मुद्राको मूल्य कसरी तय हुन्छ त ?

राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको सटही दर नेपाल राष्ट्र बैंकले आफ्नो प्रयोजनको लागि निर्धारण गर्दछ । बैंक तथा वित्तीय संस्थाहरूले त्यसमा केही वैधानिक ‘मार्जिन’ राखेर आफ्नो विदेशी मुद्राहरूको सटही दर निर्धारण गर्दछन् ।

भारतीय र नेपाली मुद्राको सटही दर स्थिर छ । त्यसैले भारतीय मुद्राबाहेक अन्यको हकमा चाहिँ मूल्य तलमाथि भइरहन्छ ।

केन्द्रीय बैंकले विदेशी मुद्राहरूको विनिमय दरको मूल्य भारतीय मुद्रा र अमेरिकी डलरलाई तुलना गरेर निर्धारण गर्ने नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापक विभागका निर्देशक निश्चल अधिकारी बताउँछन् ।

उनका अनुसार जुनसुकै बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट विदेशी मुद्रा सटहीका लागि लाइसेन्स लिएर काम गर्न पाउनेछन् ।

उनी भन्छन्, ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रका लागि मुद्रा सटही गर्न पाउने एउटा नीति बनाएको छ । उदाहरणका लागि– अमेरिकी डलरमा ६० पैसा मात्र थपघट गर्न सकिन्छ । त्यही अनुसार बैंक तथा वित्तीय संस्थाले प्रिमियम राखेर विदेशी मुद्रा सटही गर्नेछन् ।’

प्रायः नेपालमा अमेरिकी डलर, यूरो, पाउण्ड, रियाल र दिनारहरुको सटही बढी हुने गर्छ । बैंकले सार्वजनिक गरेको विनिमय दर एक निश्चित मितिका लागि मात्र रहन्छ । विदेशी मुद्राका विनिमय दरहरू एक दिन, एक हप्ता वा एक महिनामा परिवर्तन हुने गर्दछन् ।

सन् १९३० भन्दा पहिले, सुनलाई विनिमयको मानक मानिन्थ्यो । विनिमय दरको निर्धारण सुनबाटै सुरु भएको बताइएको छ ।

किन घटबढ हुन्छ विदेशी मुद्राको विनिमय दर ? 

विनिमय दर दुई तरिकामा निर्धारण गर्न सकिन्छ : बजार वा गैर–बजार ।

पहिलो अवस्थामा, मुद्रा विनिमय दर बजारको आधारमा बनाइन्छ । जुन मुद्राको आपूर्ति र मागमा निर्भर रहन्छ । दोस्रो अवस्थामा, राज्यद्वारा निर्धारण गरिएको हुन्छ ।

विदेशी मुद्राको विनिमय दर घटबढ भएर सार्वजनिक हुनुमा केही कारणहरू छन् । जुन निम्नानुसार छन्-

ब्याजदर : बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घटबढ भइरहने हुँदा त्यसले पनि विनिमय दरमा पनि प्रभाव पार्छ ।

बजेट घाटा : बजेट घाटाले विनिमय दरमा मुख्य प्रभाव पारेको हुन्छ । सरकारले आफूसँग भएकोभन्दा बढी पैसा खर्च गर्ने परिपाटीले बजेट घाटामा जान्छ । जसको कारण विनिमय दर हेरफेर हुन्छ ।

राजनीतिक स्थिरता : राजनीतिक अस्थिरताको समयमा सरकारहरू हेरफेर हुने सम्भावना रहन्छ । साथै, एउटा सरकारले ल्याएका नीतिहरू अर्को सरकारले परिवर्तन गर्ने सम्भावना पनि बढ्छ । त्यसै क्रममा एउटा सरकार रहँदा ल्याएको विनिमय दर सम्बन्धी नीति अर्को सरकारले परिवर्तन गरिदिने सम्भावना रहन्छ । जसको कारण मुद्रा विनिमयमा गिरावट तथा वृद्धि हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved