बर्खा सुरु भएलगतै बाढी पहिरो : लमजुङ र कास्कीमा तीन जनाको ज्यान गयो, तीन बेपत्ता

विराटनगर जलमग्न, कैलालीमा चट्याङ लागेर दुईको मृत्यु, पाँच घाइते

नेपालभ्युज

बर्खा सुरु भएलगतै बाढी पहिरो : लमजुङ र कास्कीमा तीन जनाको ज्यान गयो, तीन बेपत्ता
सांकेतिक स्केच

काठमाडौं । निरन्तरको वर्षाका कारण गएको पहिरोमा पुरिएर लमजुङ, कास्कीमा तीनजनाको ज्यान गएको छ भने तीनजना हराइरहेका छन् । केही परिवार विस्थापित भएका छन् ।

लमजुङको क्व्होलासोथर गाउँपालिका–३ मा पहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ । अन्य तीन जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

पहिरोमा परी बेपत्ता भएका ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । गएराति बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए । बेपत्ता हुनेहरूमा ३६ वर्षीया पञ्चकुमारी गुरुङ, उनकी पाँच वर्षीया छोरी नम्रता र सात वर्षीया इच्छा गुरुङ रहेका छन् ।

उता कास्कीमा भएको २ वटा घटनामा दुई बालबालिकाको ज्यान गएको छ ।

मादी गाउँपालिका– ५ चितेपानी घुम्तीमा गएराति २ बजेतिर घरपछाडिबाट ढिस्को खस्दा प्रकाश रानाभाटकी १३ वर्षीया छोरी आयुष्माको मृत्यु भएको हो । पोखरा महानगरपालिका २७, आरुपाटामा घरमाथि ढिस्को खस्दा हरि सुनारका ३ वर्षीय छोरा अनमोल सुनारको मृत्यु भएको छ ।

उता कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । बुधबार बिहान परेको चट्याङ लागेर धनगढी उपमहानगरपालिका र जोशीपुर गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विराटनगर जलमग्न

केहीदिन यता भएको भारी वर्षाका कारण कोशी प्रदेशको राजधानी विराटनगर जलमग्न भएको छ । महानगरपालिका भित्रका अधिकांश घर डुबानमा परेका छन् । बस्तीमा पानी पसेपछि सर्वसाधारण समस्यामा परेका छन् ।

महानगरपालिकाका १, २ र ८ नम्बर वडाका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । विराटनगरका पूर्वी र पश्चिम भेग सबै भन्दा बढी प्रभावित भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved