लमजुङको क्व्होलासोथारमा पहिरो : बेपत्ता चारै जना मृत भेटिए

नेपालभ्युज

लमजुङको क्व्होलासोथारमा पहिरो :  बेपत्ता चारै जना मृत भेटिए
सांकेतिक स्केच

लमजुङ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएर ६७ वर्षीय रूद्रमान गुरूङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरूङ, नातिनी ४ वर्षीया नम्रता गुरूङ र ८ वर्षीया इच्छा गुरूङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए ।

प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् ।

यस्तै, उता कास्कीमा भएको २ वटा घटनामा दुई बालबालिकाको ज्यान गएको छ ।

मादी गाउँपालिका– ५ चितेपानी घुम्तीमा गएराति २ बजेतिर घरपछाडिबाट ढिस्को खस्दा प्रकाश रानाभाटकी १३ वर्षीया छोरी आयुष्माको मृत्यु भएको हो । पोखरा महानगरपालिका २७, आरूपाटामा घरमाथि ढिस्को खस्दा हरि सुनारका ३ वर्षीय छोरा अनमोल सुनारको मृत्यु भएको छ ।

उता कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । बुधबार बिहान परेको चट्याङ लागेर धनगढी उपमहानगरपालिका र जोशीपुर गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved