स्थापनाको दुई वर्षसम्म क-कसले त्यागे रास्वपा ? किन त्यागे ?

'बाहिर गरिएको हल्लाजस्तो छैन रास्वपा'

पार्टी छाड्नेहरूले लगाएको आरोपजस्तो पार्टीभित्र असन्तुलन, नेतृत्वमा आलोचनाको असहिष्णुता, आन्तरिक लोकतन्त्रको सङ्कट केही नभएको जिकिर सहमहामन्त्री विपिनकुमार आचार्यको छ ।

स्थापनाको दुई वर्षसम्म क-कसले त्यागे रास्वपा ? किन त्यागे ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार दिनअघि अर्थात् असार ७ गते मात्रै आफ्नो दोस्रो स्थापना दिवस मनायो । त्यस अवसरमा संक्षिप्त समीक्षा गर्दै पार्टी सभापति रवि लामिछानेले भने— मन्त्रालय छिरे पनि धरातल भुलेका छैनौँ । भएका भूल सुधार गर्दै अगाडि बढ्छौँ ।

त्यसो त रास्वपा अहिले सत्ता साझेदार दल पनि हो, सभापति लामिछानेसहित डोलप्रसाद अर्याल (श्रम), सुमना श्रेष्ठ (शिक्षा) र विराजभक्त श्रेष्ठ (खेलकुद) मन्त्री छन् । लामिछाने उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा छन् ।

लामिछानेलाई पार्टी सरकारमा गएकाले जनतामाझ आलोचित हुनुपरेको ख्याल राम्रै हुनुपर्छ, त्यसैले उनले ‘मन्त्रालय छिरे पनि…’ भन्ने वाक्यांशसहित बोले ।

हुनु पनि पुराना दलहरूलाई ‘गाली गर्दै’ उदाएका लामिछानेको सरकारमा उनै पुराना दल र त्यसका नेताहरूसँग दैनिक उठबस हुन्छ । उही सरकार (प्रचण्ड सरकार) मा दुईपटक सहभागी भएको रास्वपा यहाँसम्म आइपुग्दा राजदूतमा समेत भागबन्डा खोज्ने तहमा पुगेको छ । यो दुई वर्षअगाडिको रास्वपाको प्रतिबद्धता र प्रवृत्तिसँग ठ्याक्कै मेल खाँदैन । यसरी हेर्दा रास्वपा र त्यसका सभापति रवि लामिछानेमाथिको आलोचना स्वाभाविक लाग्छ ।

सरकार र पार्टीभित्रै पनि लामिछानेका प्रशस्तै मात्रामा आलोचना हुने गरेको छ । सरकारमा पुराना दलहरूसँग घाँटी जोडिरहेको, पुरानाभन्दा फरक बन्न नसकेको लगायतको आलोचना हुने गरेको छ भने पार्टीभित्र मनोमानी गरेको, आन्तरिक लोकतन्त्र कायम नराखेको लगायतका आरोपहरू लाग्छन् ।

यिनै आरोपहरू लगाउँदै धेरै नेताहरूले पार्टी परित्यागसमेत गरिसकेका छन् । बुधबार (आज) मात्रै प्युठान जिल्ला सभापति सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् । पार्टी परित्यागको कारण भने उनले व्यक्तिगत भनेका छन् ।

नेपालभ्युजसँग उनले भने, “मेरो आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएँ । थप भन्नु केही छैन ।”

पार्टी सरकारमा गएपछि आफूसँग जिल्लाको जनअपेक्षा बढेको तर, आफूले केही गर्न नसकेको उनी बताउँछन् । “हाम्रो पार्टी सरकारमा गयो । त्यसपछि स्वाभाविक रूपमा जनअपेक्षा बढ्यो, मलाई विभिन्न प्रश्नहरू सोध्न थालियो । तर, मेरो क्षमताले त्यहाँसम्म कहाँ भ्याउँथ्यो र ! यसपछि राजीनामा दिएँ ।”

भन्दा उनले व्यक्तिगत कारण भने पनि नेतृत्वप्रति उनको असन्तुष्टि रहेको बताइन्छ । उनलाई चिन्ने रास्वपा प्युठानका एक नेताले भने, “कारण त ठ्याक्कै मलाई पनि थाहा छैन । तर, उहाँ केही महिनायता पार्टी नेतृत्वसँग त्यति सन्तुष्ट हुनुहुन्नथ्यो कि !”

उसो त सुवेदी पार्टी छाड्ने पहिलो नेता भने होइनन् । गठन भएको दुई वर्षसम्म आउँदा केन्द्रीय सदस्यदेखि वडा सदस्यसम्मले पार्टी त्यागेका छन् ।

यसअघि केन्द्रीय सदस्य गीता रेग्मीले पार्टी परित्याग गरेकी थिइन् । पार्टीको विचार र पार्टी नेतृत्वको गतिविधिप्रति असहमति जनाउँदै रेग्मी २०७९ भदौ ७ गते राजीनामा दिएकी हुन् । रेग्मीको स्थानमा अहिले चितवनकी सविता विक सदस्य मनोनीत भएकी छन् ।

यसैगरी २०८० वैशाख १० को पहिलो उपनिर्वाचनभन्दा अघि रास्वपा प्रवेश गरेका सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले पनि रास्वपा त्यागे । रास्वपाले भिडाउन खोजेको केन्द्रीय सदस्यको ‘बिल्ला’बाट भागिरहेका उनले स्वार्थ बाझिनेगरी रास्वपाले गृह मन्त्रालयको जिम्मेवारी लिन नहुने अडान लिएका थिए ।

तर, त्यसबीच पार्टी सभापति रवि लामिछाने गृहमन्त्री बनिसकेका थिए । त्यसपछि पार्टीले उनलाई पार्टी र नेतृत्वप्रति इङ्गित भएर अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोध्यो । यसपश्चात् उनले ‘पार्टीको नीति तथा सिद्धान्त आफ्नो प्राथमिकतासँग नमिलेको’ भन्दै पार्टीबाट राजीनामा दिए । उनले २०७९ चैत्र १८ स्वर्णिम वाग्लेसँगै पार्टी प्रवेश गरेका थिए ।

२०७९ कात्तिक १६ गते रास्वपा कोशी प्रदेशका प्रदेश, जिल्ला र नगरका नेताहरूले पनि पार्टी त्यागेका थिए ।

पार्टी परित्याग गर्नेहरूमा प्रदेश समिति सदस्य तथा कोशी निर्वाचन परिचालन समिति सभापति सञ्जीव भट्टराई, सुनसरी जिल्ला सचिव तथा कोशी निर्वाचन परिचालन समिति उपसभापति प्रेमप्रसाद तिमिल्सिना, धरान उपमहानगर सभापति राम कार्की, धरानका उपसभापति रिचन राई र प्रदेश समिति सदस्य शिल्पा भट्टराईसहित अन्य कार्यकर्ताहरू थिए ।

उनीहरूले पार्टी सञ्चालनको अवस्था, आलोचनाप्रति असहिष्णु नेतृत्व, आर्थिक अपचलन, पार्टी सभापतिप्रति लागेका अनैतिक आचरण, अपारदर्शी आर्थिक गतिविधि, विगतमा लागेको आत्महत्या दुरुत्साहन मुद्दाजस्ता आरोपहरू सही त थिएनन् ? भन्ने आशङ्कासहित राजीनामा बुझाएका थिए ।

यसपछि पार्टी सभापति रवि लामिछाने निर्वाचित जिल्ला चितवनका सभापति धर्मेन्द्र सापकोटाले पनि पार्टी छाडेका थिए । पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएको, रास्वपाभित्र ‘राणाशासन’ जीवित भएको आरोप लगाउँदै उनले २०७९ माघ १८ गते पार्टी परित्याग गरेका थिए ।

त्यसअघि २०८० माघ १ गते बर्दिया जिल्लाका २१ जना नेता/कार्यकर्ताले पार्टी परित्याग गरेका थिए । पार्टी-पङ्क्तिमा पदीय ध्वाँस, हैकमवादी चरित्र, धम्कीपूर्ण व्यवहार र गुट-उपगुट मौलाएको उनीहरूले पार्टी परित्याग गरेका थिए ।

जिल्लाको गुलरिया नगर समिति सदस्य उमेश यादव, सोही नगरपालिकाका वडासभापति तथा सदस्यहरूसमेत थिए ।

किन त्याग्दैछन् नेताले पार्टी ?

रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य पार्टी छाड्नेहरूले व्यक्तिगत कारणले पार्टी छाडेको जिकिर गर्छन् ।

“उहाँहरूले व्यक्तिगत कारणले पार्टी छाड्नुभएको हो,” उनले नेपालभ्युजसँग भने, “पद छाड्नै नमान्नेहरूको भीडमा स्वत:स्फूर्त रूपमा पद छाड्नु, मेरो क्षमताले भ्याएन भन्नु त राम्रो हो नि । त्यो त अहिलेको हाम्रो व्यवस्थाको ‘बिउटी’ हो नि ।”

पार्टी समाजकै व्यक्तिहरू जोडिएर बनेको सङ्गठन भएको उल्लेख गर्दै उनले पार्टीमा मान्छे जोडिने र छुट्टिने अति-सामान्य प्रक्रिया भएको उनले बताए । “दुई/चारजना जाँदैमा र आउँदैमा एब्नर्मल तरिकाले ट्रिट गर्न खोजियो भने त्यो राम्रो होइन । यदि त्यो प्रक्रिया रेगुलर भयो भने त्यसपछि चाहिँ ख्याल गर्नुपर्छ होला,” उनले भने ।

पार्टी छाड्नेहरूले लगाएको आरोपजस्तो पार्टीभित्र असन्तुलन, नेतृत्वमा आलोचनाको असहिष्णुता, आन्तरिक लोकतन्त्रको सङ्कट केही नभएको जिकिर सहमहामन्त्री आचार्यको छ ।

यसमा केन्द्रीय सदस्य कुसुम महर्जन पनि सहमति छ । भन्छिन्, “पार्टी नयाँ छ । कतिपय कुराहरू मिलेको छैन । नमिलेको कुराहरूलाई मिलाउँदै जाँदा कतिपय बिग्रेजस्तो, कतिपय भत्किएजस्तो देखिन्छ । त्यो स्वाभाविक हो । तर, बाहिर भनिएजस्तो पार्टीभित्र आन्तरिक लोकतन्त्र नै समाप्त भएको, सभापतिले मनोमानी गरेको होइन ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved