अध्यक्षका लागि घनश्यामले पाए झलनाथबाट ‘ग्रीन सिग्नल’

नेपालभ्युज

अध्यक्षका लागि घनश्यामले पाए झलनाथबाट ‘ग्रीन सिग्नल’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बुधबार दिउँसो झलनाथ-निवास डल्लुमा भेटवार्ता भएको हो । उनीहरूबीच असार १६-२० काठमाडौंमा हुने पार्टीको दशौं महाधिवेशनका बारेमा छलफल भएको छ ।

स्रोतका अनुसार नेता खनालले महासचिव भुसाललाई नेतृत्व (अध्यक्ष) मा समर्थन गर्ने ‘ग्रीन सिग्नल’ दिएका छन् ।  नेपालभ्युजसँग स्रोतले भन्यो, “महासचिव कमरेडलाई सम्मानित नेताले समर्थन गर्न पनि सक्ने पाटोमा छलफल भयो ।”

भेटमा पार्टीका सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री नरेशकुमार शाहीसमेत थिए । उनले नेता खनाल र महासचिव भुसालबीच लामो छलफल भएको पुष्टि गरे । “उहाँहरूबीच लामो भेटवार्ता भयो । महाधिवेशनलाई केन्द्रित छलफल गर्नुभएको हो,” उनले भने ।

असार १६-२० काठमाडौंमा हुने एकीकृत समाजवादीको दशौं महाधिवेशनमा अध्यक्ष को बन्ने भन्ने विषयमा माथापच्ची नै जारी छ । वर्तमान अध्यक्ष माधवकुमार नेपाल दोहोरिने तयारीमा छन् । यस्तै सम्मानित नेता खनाल र महासचिव भुसाल पनि अध्यक्ष बन्ने ‘होड’मा छन् ।

यस्तो परिस्थितिमा अन्तिममा नेता खनालले महासचिव भुसाललाई समर्थन दिने आकलन गरिँदै आएको छ । ‘माधवकुमार नेपाललाई दोहोरिन नदिने’ अघोषित रणनीतिमा रहेका नेता खनालले ‘उथलपुथल’ नै हुनसक्ने बताउँदै आउका छन् ।

नेता खनाल र महासचिव भुसालबीच मिल्ती हुने बुझेरै अध्यक्ष नेपालले निर्वाचनमा नगइ सर्वसम्मतिमा जान चाहेका छन् । उनले पार्टी पदाधिकारीलाई त्यही ब्रिफिङ गर्दै आएका छन् । तर, खनाल-भुसाल भने आफूपक्षीय महाधिवेशन प्रतिनिधि (नेतृत्व निर्वाचनका मतदाता) को प्रतिनिधित्व राम्रै भएको ठहरका साथ आफूअनुकूल सर्वसम्मति नभए निर्वाचनमै जाने ‘मूड’मा छन् ।

महासचिव भुसालले यसअघि नै माधवकुमार नेपाल र झलनाथ खनाललाई अघिल्लो वरीयतामा राखेर आफू तेस्रो वरीयताका कार्यकारी अध्यक्ष बन्ने प्रस्ताव गरिसकेका छन् । यसमा दुवै नेताले सार्वजनिक प्रतिक्रिया त दिइसकेका छैनन् तर, नेता खनालले भने ‘ग्रीन सिग्नल’ दिएको स्रोतको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved