रास्वपा महामन्त्रीको ३२ पन्ने प्रतिवेदन- प्रचण्डसँग मिल्नुभन्दा बालेनसँग मिल्नु बेस

नेपालभ्युज

रास्वपा महामन्त्रीको ३२ पन्ने प्रतिवेदन- प्रचण्डसँग मिल्नुभन्दा बालेनसँग मिल्नु बेस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले ३२ पृष्ठ लामो प्रतिवेदन तयार पारेका छन् । दोस्रो उपनिर्वाचनपछि एक महिने यात्रामा निस्किएका महामन्त्री ढकालले ११ बुँदामा प्रतिवेदन तयार पारेका छन् ।

उनले प्रतिवेदन बुधबार साँझ ६ बजे पार्टी मुख्यालय, वनस्थली च:मतीमा पार्टी सभापति रवि लामिछानेलाई बुझाउँदैछन् ।

उनले प्रतिवदेनमा परम्परागत दल तथा नेतासँग मिल्नुभन्दा पार्टीविहीन युवा नेताहरूसँग मिल्नु पार्टीका लागि लाभप्रद हुने उल्लेख गरेका छन् ।

उनले प्रतिवदेनमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग मिल्नुभन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्दा पार्टीका लागि राम्रो हुने उल्लेख गरेका छन् ।

३९ जिल्लाका नेता/कार्यकर्ता तथा जनतासँग संवाद र समीक्षापछि उनले प्रतिवदेन तयार पारेका हुन् । “पार्टीका तर्फबाट विभिन्न जिल्लाहरूमा पुगेँ । त्यहाँका नेता/कार्यकर्ता तथा कतिपय ठाउँमा जनतासँग पनि संवाद गरेँ । त्यसका आधारमा प्रतिवेदन लेखेको हुँ,” महामन्त्री ढकालले नेपालभ्युजसँग भने ।

महामन्त्री ढकालले प्रतिवेदनमा अर्को आवधिक निर्वाचनअगावै बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललगायतसँग सहमति-सहकार्यमा रहनुपर्ने उल्लेख गरेका छन् ।

यस्तै पार्टी अब सही दिशामा अगाडि नबढे ‘विवेकशील साझा पार्टी’को नियतिबाट गुज्रिनुपर्ने हुनसक्ने उल्लेख गरेका छन् । विवेकशील साझा पार्टी अहिले अस्तित्वमा छ तर, जनतामाझ पुग्न सकिरहेको छैन ।

२०७४ को संसदीय निर्वाचनमा २ लाखभन्दा बढी मत पाएको विवेकशील साझा पार्टी २०७९ सम्म आउँदा एक हजारसमेत मत पाएको थिएन । महामन्त्री ढकालले यसैसँग तुलना गरेका हुन् ।

रास्वपाले यसपटक ११ लाखभन्दा बढी मत पाएको छ । महामन्त्री ढकालले पार्टीको यो जनमतलाई जोगाउन चुनौती रहेको उल्लेख गरेका छन् ।

२०८० वैशाख १० गते भएको उपनिर्वाचनमा दुई स्थानबाट जित निकालेको रास्वपा गत वैशाख १५ गते भएको दोस्रो उपनिर्वाचनमा नमज्जाले पछारिएको थियो । इलाम २ मा भएको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनेका मिलन लिम्बूले जम्माजम्मी ४ हजार मत मात्रै जोडेका थिए ।

उक्त नतिजाबाट तरङ्गित भएको रास्वपाले नेता/कार्यकर्तासँग संवाद तथा समीक्षा गर्न र प्रतिवेदन तयार पार्न महामन्त्रीलाई भनेको थियो । यसअनुरूप महामन्त्री ढकालले प्रतिवदेन तयार पारेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved