कति सम्भव छ बालेन-रविको सहकार्य ?

विश्लेषकको अनुमान छ कि मेयर बालेन्द्र शाहले २०८४ को आम चुनावमा भाग लिनेगरी नयाँ राजनीतिक दल गठन गरे रास्वपा मतदाताले रवि लामिछानेलाई छोडेर नयाँ विकल्प रोज्न सक्नेछन् । रास्वपा नै विभाजित भएर एक समूह बालेन शाहको पार्टीतिर लाग्ने सम्भावना बढ्ने छ ।

कति सम्भव छ बालेन-रविको सहकार्य ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालको ‘समीक्षा-प्रतिवेदन’ अहिले विशेष चर्चामा छ ।

प्रतिवेदनको एक अंशले भन्छ— पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भन्दा काठमाडौंका मेयर बालेन्द्र शाह र धनगढीका मेयर गोपी हमालसँग सहकार्य गर्नु राम्रो हुन्छ ।

यसको सङ्केत प्रष्ट छ— रास्वपाले पुराना शक्तिसँग हैन, उदाउँदा ‘नयाँ राजनीतिक सितारा’हरूसँग सहकार्य गर्नु उचित हुन्छ।

गत आम निर्वाचनमा रास्वपालाई स्थानीय निर्वाचन जित्ने यस्ता थुप्रै स्वतन्त्र मेयर र वडाध्यक्षले निर्माण गरेको जनमत उपयोगी भएको थियो । स्थानीय चुनावका ‘स्वतन्त्र उम्मेदवार’ र ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बीचको भेद मतदाताले राम्रो खुट्याइसकेका थिएनन् । धेरैको आँखामा यी दुवै एकै थिए ।

काठमाडौंमा मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक तथा मतदाता एकै हुन् वा फरक ? अहिलेसम्म धेरैको बुझाइ र विश्लेषण के छ भने यो एउटै जनाधार हो । तर, अब स्थिति त्यस्तो छैन । रास्वपा र स्वतन्त्र रूपमा विजयी स्थानीय निकायका जनप्रतिनिधिबीचको राजनीतिक मतभेद प्रष्ट हुँदै गएको छ ।

धरानका मेयर हर्क साम्पाङ र रास्वपाबीच त खुला जुहारी नै चलिरहेको छ । मेयर साम्पाङले अध्यक्ष रवि लामिछाने र रास्वपा पार्टीको खुलेर आलोचना गर्ने गरेका छन् ।

इलाम २ को उपनिर्वाचनमा मेयर साम्पाङले पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई समर्थन गरे । उनी थेगिमको पक्षमा भोट माग्न इलामका गाउँगाउँ पुगे ।

मेयर साम्पाङले समर्थन गरेका उम्मेदवार थेगिमले ११ हजार ४५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बू ५ हजार ५० मा सीमित भए । पूर्वमा रास्वपा र रवि लामिछानेको भन्दा हर्क सम्पाङको लोकप्रियता बढी देखियो ।

गत आम निर्वाचनमा धरान उपमहानरपालिकासमेत पर्ने सुनसरी १ मा रास्वपा उम्मेदवार गोमा तामाङ १६ हजार ६०६ मत प्राप्त गरी दोस्रो स्थानमा थिइन् । यो मतमा हर्क साम्पाङ समर्थकको पनि उल्लेखनीय हिस्सा रहेको अनुमान गरिन्छ । तर, अहिले त्यहाँ मेयर साम्पाङ र रास्वपाको राजनीतिक सम्बन्ध राम्रो छैन मात्र हैन, तिक्ततापूर्ण हुँदै गएको छ ।

धनगढीका गोपी हमाल स्वतन्त्र मेयर बन्नुअघि विवेकशील साझा पार्टीमा थिए । त्यसो त ‘विवेकशील साझा’ का थुप्रै कार्यकर्ता अहिले रास्वपामा छन् । तर, हमाल भने रवीन्द्र मिश्रको राजनीतिक लाइनप्रति रुझान राख्थे । उनी रास्वपाको पक्षमा कहिल्यै खुल्ने गरेका छैनन् ।

धनगढी उपमहानगरपालिका समावेश भएको कैलाली ५ मा रास्वपाले सीमित मत पाएको थियो । रास्वपाका ईश्वरी विष्ट ३ हजार ४०५ मत पाएर पाँचौँ स्थानमा थिए । यसबाट पनि प्रष्ट हुन्छ कि हमाल समर्थकको सहानुभूति रास्वपाप्रति त्यतिखेरदेखि नै थिएन ।

काठमाडौंका मेयर बालेन र रास्वपाबीच भने एकप्रकारको अघोषित तालमेलजस्तो देखिएको थियो । स्थानीय निर्वाचनमा बालेन शाहले पाएको मत आम निर्वाचनमा रास्वपाले पाएको थियो । तर, सम्बद्ध स्रोतका अनुसार अहिले मेयर बालेन्द्र शाह रास्वपाको पक्षमा छैनन् । उनले २०८४ सम्ममा नयाँ-पुराना सबैलाई सिध्याउने सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् ।

इलाम २ को उपनिर्वाचनअघि रास्वपा सभापति रवि लामिछाने आफ्ना उम्मेदवार मिलन लिम्बूका लागि ‘नैतिक समर्थन’ माग्न बालेनकहाँ गएका थिए । तर, बालेनले मिलन लिम्बूलाई समर्थन गर्न अस्वीकार गरे । बालेननिकट सामाजिक सञ्जालका प्रयोगकर्ताहरू पनि मिलन लिम्बूको पक्षमा लागेनन् ।

गत आम निर्वाचनमा बालेननिकट सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले रास्वपाको पक्षमा जनमत सृजना गर्ने प्रयत्न गरेका थिए । ‘नो नट अगेन’ अभियान त्यसैको उपज थियो ।

अहिले बालेन र रास्वपाबीचको दूरी बढेको छ । रवि लामिछानेको दुई-दुईपटकको ‘सत्तारोहण र नैतिक सङ्कट’ बालेन शाहलाई मन परेको छैन । बालेन र रास्वपाबीच सहकार्यको सम्भावना निकै कमजोर छ ।

तर, बालेन शाहले २०८४ को आम निर्वाचनअअघि नयाँ राजनीतिक दल बनाउँछन् कि फेरि एकपटक काठमाडौंको मेयर पदमै उम्मेदवारी दिन्छन् ? यो प्रश्न भने अनुत्तरित छ । बालेननिकट स्रोतहरू भन्छन् कि नयाँ पार्टी बनाउने सम्भावना नै अधिक छ । त्यसका लागि देश विदेशमा रहेका बालेन निकटको एउटा टिमले काम गरिरहेको छ ।

बालेनले भने आफ्ना समर्थकलाई केही समय पर्खिन भन्ने गरेका छन् । उनले फेरि एकपटक मेयर पदमै उम्मेदवारी दिए भने रास्वपाले के गर्ने छ ? आगामी स्थानीय चुनावमा रास्वपाले उम्मेदवारी दिन्छ कि दिँदैन ? यस प्रश्नमा भने स्वयम् रास्वपा अनिर्णित छ । स्थानीय र प्रदेश तहको निर्वाचन कसरी सामना गर्ने भन्नेबारे रास्वपा कुनै टुङ्गोमा पुग्न सकेको छैन ।

महामन्त्री ढकालले भने प्रदेश खारेजीको पक्षमा पार्टी उभिने घोषण गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । विश्लेषकको अनुमान छ कि मेयर बालेन्द्र शाहले २०८४ को आम चुनावमा भाग लिनेगरी नयाँ राजनीतिक दल गठन गरे रास्वपा मतदाताले रवि लामिछानेलाई छोडेर नयाँ विकल्प रोज्न सक्नेछन् ।

रास्वपा नै विभाजित भएर एक समूह बालेन शाहको पार्टीतिर लाग्ने सम्भावना बढ्ने छ । तसर्थ, रास्वपा महामन्त्री ढकालले औल्याएजस्तो बालेन-रवि सहकार्य त्यति सहज छैन । अर्को कुरा, महामन्त्री ढकालको प्रतिवेदनकै कारण रवि लामिछाने सरकार छोड्न राजी होलान् भन्न सकिन्न ।

दोहोरो पार्सपोर्ट र सहकारी ठगीसम्बन्धी मुद्दा कुनै टुङ्गोमा नपुगुन्जेल रवि सरकारबाट फिर्ता नहुने धेरैको अनुमान छ । यस कारणले पनि बालेन शाह-रवि लामिछाने सहकार्य असम्भव हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved