दक्षिण अफ्रिका पहिलो विश्वकप फाइनलमा, टी–२० आँकडामा आएको उतारचढाव

नेपालभ्युज

दक्षिण अफ्रिका पहिलो विश्वकप फाइनलमा, टी–२० आँकडामा आएको उतारचढाव

काठमाडौं। टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५६ रनमा प्याक गर्‍यो । बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले ५७ रनको लक्ष्य ८.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । यससँगै दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले पराजित गर्‍यो ।

खेल रोमाञ्चक त भयो नै, खेलको आँकडा थप रोमाञ्चक बन्यो । अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको खेलले धेरै आँकडामा उतारचढाव ल्याएको छ ।

एकदिवसीय होस् वा टी–२० फर्म्याटको विश्वकप, दक्षिण अफ्रिका फाइनलमा पुगेको यो नै पहलो पटक हो । यसअघि दक्षिण अफ्रिका सन् १९९८ मा भएको आईसीसी प्रतियोगिता ‘द नकआउट ट्रफी’को फाइनल पुगेको थियो र उक्त फाइनल दक्षिण अफ्रिकाले जितेको थियो ।

टी–२० विश्वकपमा कुनै पनि टोलीले लगातार ८ खेलमा जित हासिल गरेको यो नै पहिलो पटक हो । विश्वकपमा ८ खेलसम्म अपराजित यात्रा तय गर्न पनि दक्षिण अफ्रिका सफल भएको छ । यसअघि, सन् २०२२ को विश्वकपमा अष्ट्रेलियाले अन्तिम ३ खेल जितेको थियो भने सन् २०२४ मा पनि लगातार ५ खेलमा जित हासिल गरेको थियो । यसअघि सन् २००९ र सन् २०२१ मा दक्षिण अफ्रिकाले नै उत्कृष्ट प्रदर्शन गर्दै लगातार ७ खेलमा जित हासिल गरेको थियो।

यता अफगानिस्तानले भने टी–२० मा सबैभन्दा कम रन बनायो । सन् २०१४ मा टी–२० विश्व कपमा बंगलादेशविरुद्ध अफगानिस्तानले ७२ रन बनाएको थियो । जुन अफगानिस्तानको सबैभन्दा कम स्कोर थियो ।

यस्तै, अन्तर्राष्ट्रिय टी–२० मा दक्षिण अफ्रिकाविरुद्ध कुनै पनि टोलीले बनाएको यो सबैभन्दा कम स्कोर पनि बन्यो । जारी विश्वकपमा न्यूयोर्कमा भएको खेलमा दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाले बनाएको ७७ रनको लक्ष्य सबैभन्दा कम स्कोर थियो ।

अब दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तान ५६ रनमा अलआउट भएको आँकडा नै विश्वकपको नकआउट चरणमा बनेको सबैभन्दा कम स्कोर बनेको छ । यसअघि, सन् २००९ मा भएको सेमिफाइनलमा वेस्टइन्डिजले बनाएको १०१ रनको लक्ष्य सबैभन्दा कम स्कोर थियो । सन् २०१२ को विश्वकप फाइनलमा लक्ष्य पछ्याउने क्रममा पनि वेस्ट इन्डिजविरुद्ध श्रीलंकाले मात्र १०१ रन बनाएको थियो ।

यस्तै, बिहीबारको खेलमा दक्षिण अफ्रिकाले ६७ बल बाँकी रहँदै अफगानिस्तानलाई हरायो । अन्तर्राष्ट्रिय टी–२० मा दक्षिण अफ्रिकाले अत्यधिक बलको बाँकी रहँदा जितेको यो सबैभन्दा ठूलो जित पनि हो । यसअघि सन् २००७ मा पाकिस्तानविरुद्ध १३० रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ५१ रन बाँकी रहँदा नै लक्ष्य पूरा गर्न सफल भएको थियो ।

अफगानिस्तानका फजलहक फारुकीले जारी विश्वकपमा १७ विकेट लिए । कुनै पनि बलरले एकै संस्करणमा लिएको यो सबैभन्दा धेरै विकेट पनि हो । जसमध्ये १० विकेट फारुकीले पावर प्लेमा लिएका थिए । सन् २०२१ को विश्वकपमा वानिन्दु हसरंगाले १६ विकेट लिएका थिए ।

यस्तै, अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाले लगातार ५ खेलमा जित हासिल गरेको हो । यसअघि दुवै टोली विश्वकपमा नै आमने सामने भएका थिए । जसमध्ये अफगानिस्तान र दक्षिण अफ्रिकाले सन् २०१० र २०१६ को विश्वकप तथा सन् २०१९ र सन् २०२३ को एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved