प्रतिनिधि सभाको बैठकमा जब मन्त्री तामाङले विधेयक टेबल गर्न भुले

नेपालभ्युज

प्रतिनिधि सभाको बैठकमा जब मन्त्री तामाङले विधेयक टेबल गर्न भुले

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिए ।

मन्त्री तामाङले रोस्ट्रममा पुगेर विधेयक (प्रतिवेदनसहित) छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । र सरासर आफ्नो कुर्सीतिर फर्किए ।

उनले विधेयकलाई टेबल गर्न छुटाएका थिए ।

मन्त्री तामाङ फर्किँदै गर्दा सभामुख देवराज घिमिरेले सहयोगका लागि बसेका संसद्‌का कर्मचारीहरूलाई सोधे, ‘दिनुपर्दैन केही ?’

सभामुखले ‘आन्तरिक छलफल/सुझाव लिएको’ भए पनि प्रतिनिधि सभाको बैठकको प्रत्यक्ष प्रशारणमा उनको चासो पनि सुनिएको थियो । उनले ‘त्यहीँ (रोस्ट्रममा) छ, ल्याउनुपर्ला’ भन्दै अघि बढ्ने सुरसार देखाउँछन् ।

तर फ्लोरमा सांसदहरूले केही चासो राखेको सुनिन्छ । सम्भवतः मन्त्रीले विधेयक टेबल गर्नुपर्ने उनीहरूको भनाइ थियो । त्यसैले सभामुखले कर्मचारीसँग सल्लाह गर्छन्, ‘भइहाल्छ, हामीले नै ल्याउँदा पनि हुन्छ होला । हामीले ल्याएर राख्दा हुन्छ ।’

अनि सांसदहरूतर्फ फर्केर जवाफ दिन्छन्, ‘अब हामी आफैं त्यसलाई यता ल्याउने सोचाइ बनायौँ ।’

सांसदहरूले त्यसो गर्न नमिल्ने सुझाव दिएकाले हुनसक्छ, सभामुखले भन्छन्, ‘होइन त्यसलाई विधि नै, … आज एकपल्ट भयो… हामी यता राखेर टेबल गर्छौँ । उहाँ (मन्त्री)ले टेबल गरेर बराबर मानौँ भन्ने हामीले सल्लाह गर्‍यौँ यहाँ ।’

सभामुखले विधेयकलाई ‘यता ल्याएर राख्न (टेबल गर्न)’ कर्मचारीलाई अह्राउँछन् ।

सांसदहरूले पुनः केही प्रश्न उठाएका सुनिन्छ । प्रत्यक्ष प्रशारणमा देखिएका मन्त्री तामाङ भने हाँस्छन् । उठौँ कि नउठौँको भावमा अल्झिन्छन् ।

त्यसपछि सभामुखले नै आग्रह गर्छन्, ‘ल मन्त्रीज्यू नै आएर त्यसलाई यहाँ टेबल गरिदिनुस् ।’

अनि मन्त्री तामाङ पुनः रोस्ट्रममा पुग्छन् र विधेयक त्यहाँबाट उठाएर टेबल गर्छन् र प्रक्रिया अगाडि बढ्छ ।

विधेयकमाथिको छलफल अगाडि बढ्छ । छलफलपछि मन्त्री तामाङले जवाफ पनि दिन्छन् ।

राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयकमाथि बिहीबार प्रतिनिधि सभाको बिहीबारको बैठकबाट अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved