आइटी क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छ : अर्थमन्त्री पुन 

नेपालभ्युज

आइटी क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छ : अर्थमन्त्री पुन 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि (आइटी) क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् ।

माओवादी केन्द्र सम्बद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले दुई उदयमान छिमेकी भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र आइटी भएको बताएका हुन् ।

आइटीमा प्रचुर सम्भावना देखेरै आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले आइटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उनको भनाई छ । भू–परिवेष्ठित अवस्थितिमा रहेको नेपालले सामुद्रिक पहुँच प्रयोग गरेर विश्व बजारमा आफ्ना उत्पादन लैजान चुनौतीपूर्ण रहेको चर्चा गर्दै उनले आइटी उपयुक्त विकल्प भएको उल्लेख गरे ।

गत आर्थिक वर्षमा ६७ अर्बको आइटी सेवा निर्यात भएको र चालु आर्थिक वर्षमा उक्त रकम १ खर्ब नाघ्ने उनको भनाइ थियो ।

‘हामीले आफ्नो मौलिकता, अवस्थिति, उत्पादन शक्ति र उत्पादन सम्बन्ध आदिलाई सही ढंगले पहिचान गरेर विकासका मोडल निर्माण गर्नुपर्छ’, उनले भने ‘विशाल जनसंख्या र भूगोल भएको भारत र चीनकोबीचमा भएकाले कुन क्षेत्रमा प्रतिस्पधत्र्रा गर्न सक्छौँ त्यो हेर्नुपर्नेछ ।’

प्रतिस्पर्धी बजार देखेरै आफूले बजेटमा आइटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको मन्त्री पुनले बताए ।

‘विगत केही वर्षको तथ्याङ्क हेर्दा आइटी, पर्यटन, जलविद्युत, कृषि र सिमेन्टजस्ता खानीजन्य उद्योगमा प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने देखिएको छ’, उनले भने, ‘हामी यी क्षेत्र मामार्फत रोजगारी सिर्जना गर्न र तीव्र आर्थिक विकास गर्न सक्छौँ । त्यसैले ती क्षेत्रलाई बजेटमार्फत सरकारले प्राथमिकतामा राखेको छ ।’

मन्त्री पुनले श्रीलङ्काको बाटोमा अग्रसर रहेको मानिसहरूको अनुमान विपरीत सरकारका नीतिहरूका कारण अर्थतन्त्र क्रमशः लयमा फर्किएको उल्लेख गरे । गत वर्ष १.९ प्रतिशतको आर्थिक वृद्धि भएकामा चालु आर्थिक वर्ष ४ र आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved